• २०८१ कार्तिक ५ सोमबार

भारतमा विमानमा बमको धम्कीबाट दुई सय करोडभन्दा बढीको नोक्सानी !

kharibot

काठमाडौँ । भारतमा यात्रुवाहक विमानमा बमको धम्की आउने क्रम जारी रहेको छ ।

आइतबार २५ भन्दा बढी उडानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको भरातीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार इन्डिगो, विस्तारा र एयर इन्डियाका ६–६ विमानलाई बमको धम्कीपछि अवतरण गराइएको थियो ।

त्यसअघि शनिबार मात्र ३० भन्दा बढी विमानलाई धम्की आएको थियो । जसका कारण सयौं यात्रु घण्टौं सास्तीमा परेका थिए ।

पछिल्लो एक हप्तामा ९० भन्दा बढी विमानमा बमको धम्की आएको छ । पछि यी सबै झुटा साबित भएका छन् । यी धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँ भारुसम्मको नोक्सान भइसकेको छ ।

गृह मन्त्रालयले यस सम्बन्धमा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन सुरक्षा ब्यूरोसँग विस्तृत प्रतिवेदन मागेको बताइएको छ । 

त्यस्तै केन्द्र सरकारले नागरिक उडड्यन प्रमुखलाई पदबाट हटाएको छ । यद्यपी प्राधिकरणले भारतको आकाश पूर्ण रुपमा सुरक्षित रहेको बताएको छ ।
शनिबार पनि ३० भन्दा बढी विमानमा बमको धम्की आए पनि सबैको विवरण भने खुलाइएको छैन ।

जहाजमा बम रहेको सूचना पाएपछि उडानलाई निर्धारित विमानस्थलको सट्टा नजिकैको विमानस्थलमा अवतरण गराइएको थियो । यसबाट इन्धन बढी खपत हुने मात्र होइन, विमानको रि-चेकिङ, यात्रुलाई होटलमा राख्ने र गन्तव्यमा पुर्‍याउने व्यवस्था मिलाउनुपर्ने भएपछि खर्च बढेको छ ।

यो साता विस्तारा, एयर इन्डिया, इन्डिगो, अकासा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ७० भन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई धम्की आएको छ। धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँसम्मको नोक्सान भइसकेको छ ।

शुक्रबार अबेर राति एयर इन्डिया एक्सप्रेस र विस्तारा एयरलाइन्सको एक–एक उडानमा बमको धम्की दिइएको थियो । त्यसमध्ये दिल्लीबाट लन्डन जाने विस्ताराको फ्लाइटलाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको थियो । त्यस्तै १८९ यात्रु लिएर दुबईबाट जयपुर आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडानलाई जयपुरमा आपतकालीन अवतरण गरिएको थियो । अनुसन्धानका क्रममा दुवै विमानमा शंकास्पद केही भेटिएन ।

विमानमा बम राखेको झुटो समाचार फैलाएको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी एक नाबालिगलाई हिरासतमा लिएको छ । उनले १४ अक्टोबरमा इन्डिगोको विमानमा बम राख्ने धम्की दिएका थिए ।

लगातारको धम्कीका बीच दिल्ली प्रहरीले ६ वटा एफआईआर दर्ता गरेको छ । अर्कोतर्फ सरकारले विमानमा बम रहेको भनी झुटो दाबी गर्ने १० सामाजिक सञ्जाल अकाउन्ट ब्लक गरेको छ ।

उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीलाई धम्कीपूर्ण सन्देश पठाएको सम्बन्धमा संसदीय समितिलाई जवाफ दिएको थियो । आरोपितहरुको पहिचान भई कारबाही भइरहेको मन्त्रालयले जनाएको छ । यस्ता धेरै घटनामा थप जानकारी सङ्कलन र कारबाही भइरहेको पनि बताए ।

मिडिया रिपोर्टका अनुसार, सबै साइबर एकाइहरूलाई धम्कीपूर्ण सोशल मिडिया खाताहरू ट्र्याक गर्न निर्देशन दिइएको छ। तीमध्ये धेरैजसो खाताहरू भारत बाहिरबाट सञ्चालन भइरहेका बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै