• २०८१ असोज १४ सोमबार

विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुग्यो- गृहमन्त्री लेखक

kharibot

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्बारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन् । 

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए । 

‘विपद न्युनीकरण र विपद्को व्यवस्थापनमा दुई वटा चरण हुन्छ । एउटा विपद् पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो । त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ,’ गृहमन्त्री लेखकले भने, ‘अर्को विपदको प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन । सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्युनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’ 

गृहमन्त्री लेखकले सरकारले आज चार वटा कुरामा जोड दिएर जाने बताए । ‘पहिलो खोजी उद्धारको विषय हो । हामीले मानिसहरुको खोजी गर्नुछ । दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नुछ । सँगसँगै राहत पनि अगाडि बढाउनु छ । घाइतेहरुको उपचार गर्नु छ । राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्ने छ । सरकार तत्काल यी चार कुरामा ध्यान दिएर अगाडि बढ्छ,’ उनले भने ।

बाढी र पहिरोबाट १४८ को मुत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले बताए । ३ हजार ३ सय ३६ जनाको सकुसल उद्धार गरिएको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलले सक्दोसम्म उद्धार राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रुपमा काम गरिरहेको उनले बताए । 

‘उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । चाँडो उद्धार गर्नुपर्नेको उद्धार भइरहेको छ,’ उनले भने, ‘बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धिहरुलाई प्राथमिकता दिएर उद्धार गर्न निर्देशन गरिएको छ । हरेक जिल्लादेखि केन्द्रसम्म उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको छ ।’

डुवानमा परेका उपत्यका लगायत देशका सम्पूर्ण स्थानमा खाद्यान, खानेपानी, अस्थायी बसोबास, प्राथमिक स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन गरिएको गृहमन्त्री लेखकले बताए । नख्खु खोलामा केही मानिसका उद्धारबारे उठेको प्रश्नमा पनि गृहमन्त्री लेखकले प्रस्ट पार्नु भएको छ । ‘नख्खु खोलामा प्रहरी पुग्दै नपुगेको होइन । सेनाको हेलिकप्टर पनि त्यहाँ पुर्याउने कोसिस भएको हो । भिजिविलिटीका कारण सेनाको हेलिकप्टर जान सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन् । उद्धार गर्न गएका सशस्त्र प्रहरी बग्दा पौडेर उद्धार भएको छ । नख्खु खोलाको घटनामा उद्धार गर्न खोज्दा खोज्दै घटना भएका हो,’ उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै