• २०८१ पौष ६ शनिबार

साहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरण- जीबी राईसहित १७ जनाविरुद्ध मुद्धा दायर

kharibot

चितवन । गीतेन्द्रबाबु राई (जीबी) विरुद्ध जिल्ला अदालतल चितवनमा पनि सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा उनीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

फरार रहेका राई लाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी भइसकेको छ । उनी मलेसियामा रहेको आशंका व्यक्त गरिएपनि अहिलेसम्म उनलाई नेपाल फर्काउन प्रहरीले सकेको छैन ।

राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष राईसहित, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर रहेका छन् ।

४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो । प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

सहकारी सम्बन्धी विशेष संसदीय छानबिन समितिले विभिन्न सहकारी ठगीमा जीबीको संलग्नता रहेको निष्कर्ष निकाल्दै उनलाई कारबाहीको सिफारिस गरेको थियो । त्यसैगरी गोरखा मिडियामा गएको रकमका हकमा भने अनुसन्धान गर्न बाँकी नै रहेकाले पूरक अभियोजन लैजाने बाटो खुला राखिएको छ ।

अभियोग पत्रमा साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आएकोले सो विषयमा पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै