• २०८१ असोज १ मंगलबार

रवि लामिछानेसँग कास्की प्रहरीले लियो बयान

kharibot

काठमाडौँ । पुर्व गृहमन्त्री एवम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । स्रोतका अनुसार पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन उजुरीमा कास्की प्रहरीले लामिछानेसँग गत साता बयान लिएको हो ।

संसदीय विशेष समितिले लामिछानेसँग नौ घण्टा बयान लिएपछि प्रहरीले सोधपुछ गरेको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर लामिछानेसहित रास्वपा सहमहामन्त्री विपीन आचार्य र नेपाल प्रहरीका पूर्वडिआइजी एवम गोर्खा मिडियाका तत्कालिन संचालक छविलाल जोशीसँग लिएको थियो । लामिछानेविरुद्ध २०८० माघ २२ गते कास्की प्रहरीमा परेको जाहेरीका आधारमा प्रहरीले उनीसँग बयान लिएको हो । सूर्यदर्शन सहकारीमा बचत रकम तत्कालीन अवस्थामा लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा पनि ऋण प्रवाह भएको पाइएपछि बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र २०७८ असार ९ मा पनि ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको देखिएको छ । त्यतिबेला पनि लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक थिए । २०७८ असार ३१ मा लामिछानेकै नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको पाइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा लामिछानेको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण एक करोड रूपैयाँको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४ लाख ७५ हजार र दोस्रो वर्षको ब्याज रु. १६ लाख १३ हजार ७३० समेत गरी एक करोड ३० लाख ८९ हजार रूपैयाँ २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी ऋण कायम गरिएको थियो। 

२०७८ असार ३१ मा सुप्रिम सहकारीबाट पुलेसो कर्जामार्फत लामिछानेका नाममा १ करोड रकम निकासा गरिएको पाइएको छ । लामिछानेले भने यी सबै विवरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै