• २०८१ बैशाख १८ मंगलबार

पर्यटन राजधानी आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा जोड

kharibot

गण्डकी। पर्यटन राजधानी घोषणासँगै यसलाई पोखरामा मात्रै सीमित नगरी यसको दायरा फराकिलो बनाउनुपर्ने पर्यटन क्षेत्र सम्बद्ध विज्ञहरू बताउँछन् । पर्यटन राजधानी पोखरा आसपासका पर्यटकीय गन्तव्यलाई समेट्न पर्यटन सम्बद्ध सङ्घसंस्थाले विभिन्न कार्यक्रम अघि सारेका छन् । 

यसैको प्रयासस्वरुप नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रवर्द्धनमा हालै गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए।

“पर्यटन राजधानी पोखरालाई सीमित दायरामा मात्रै नराखी आसपासका पर्यटकीय गन्तव्यलाई समेत समेट्नु जरुरी छ”, उनले भने, “त्यसैको प्रयासस्वरुप हामीले पोखराबाट गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रम सुरु गरी बागलुङ हुँदै कालीगण्डकी करिडोर भएर नवलपुरसम्मको यात्रा सम्पन्न गरेका हौँ ।”

यात्रका क्रममा बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जैमिनी धामको अवलोकनसँगै जैमिनी नगरपालिकाको स्थानीय समन्वयमा त्यहाँका जनप्रतिनिधि एवं सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गरिएको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी दिइन् ।

उनका अनुसार पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसम्बद्ध टोलीले नवलपुरको गजेन्द्र मोक्षधाम, वाल्मिकी आश्रम, पिप्रहर सामुदायिक होमस्टेलगायतका स्थानमा पुगी त्यहाँका स्थानीयवासी, पर्यटन व्यवसायी एवं सरोकारवालासँग छलफल एवं अन्तरक्रीया गरेको छ ।

टोलीले फर्कने क्रममा पर्यटन राजधानीबाट नवलपुर जोड्ने दलदले–डेढगाउँ–भिमाद–पोखरा सडकको समेत स्थलगत अवलोकन गरेको छ ।

पोखरा आसपासकै पर्यटकीय गन्तव्यको प्रवर्द्धनको प्रयासस्वरुप गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले हालै पोखरा महानगरपालिका–३१ मा पर्ने धार्मिक एवं ऐतिहासिकस्थल ठूलाकोट र मादी गाउँपालिका वडा नं ५ स्थित ठूलास्वाँरामा गाउँ पर्यटन प्रवर्द्धनका कार्यक्रम सम्पन्न गरेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिइन् । 

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले हालै नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुबारीमा गाउँ पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायको सहभागिता विषयक अन्तक्र्रिया सम्पन्न गरेको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिइन् ।

पोखरामा क्रियाशील अन्य पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि पर्यटन राजधानी घोषणा भएपछि आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै