• २०८१ बैशाख १७ सोमबार

धरानमा फस्टाउँदै सुकुटीको व्यापार

kharibot

धरान (सुनसरी)।  धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । 

मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् । पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ ।

निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन् । घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन् ।

फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताइन् ।

हरेक बिहानको ७ बजे उहाँ घरबाट निकेतन गल्ली आइसक्नुहुन्छ । सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ । बिहानदेखि बेलुका ८:३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । 

तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउनुहुन्छ अनि आफैँ सुकुटी बनाउछिन् ।

त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ ।आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उनले बताइन् ।

निकेतन गल्लीमा सुकुटी बेच्दैँ भेटिएकि उनले भनिन, “अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ । धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरु पनि धेरै आउँछन् ।”

तामाङले यसरी सुकुटीको व्यापार गर्न थाल्नुभएको सात वर्ष बितिसक्यो । यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उनले बताइन् । सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उनको अनुभव छ ।

मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताइन् । पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उनको भनाइ छ । उनले भनिन, “मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ । दुःख गरेको खेर जाँदैन ।”

ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताइन् । 

उनका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन् । 

धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्नुहुन्छ । उनका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी रु एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ । सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उनको भनाइ छ ।

सुकुटीको अचार प्रतिकेजी रु १२ सयदेखि १६ सयसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिइन् । सुकुटीसँगै अचार बिक्री गरेर दैनिक रु २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उनको भनाइ छ । सात वर्षदेखि सुकुटीको व्यापार गरिरहनुभएकी गिरीले भनिन, “मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ ।”

धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् ।

उनीहरुले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन् । सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन् । 

धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरुको कारोबारको स्तर कस्तो छ भन्ने यकीन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन् । 

धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन् । बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन् । 

सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भनिन, “एउटै पसलबाट रु २५/३० हजारको व्यापार हुन्छ । सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि ।” 

विगतका वर्षहरुको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ । व्यापारी गिरीले भनिन, “बजारमा सुकुटीको माग अलि खस्किए पनि अरु व्यवसाय जस्तो धेरै घटेको छैन । व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ ।”
 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै