• २०८१ बैशाख १७ सोमबार

सगरमाथा आरोहणका लागि हालसम्म ६३ आरोहीले लिए अनुमति

kharibot

काठमाडौँ। वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिए ।

हिमाल आरोहणको अनुमति बापत्  हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ ।

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् ।

विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै