• २०८१ बैशाख १८ मंगलबार

पुष्प व्यवसायमा भविष्य खोज्दै युवा

kharibot

काठमाडौं। बेलायतबाट उच्च शिक्षा लिइ स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय सम्हाल्नुभएको छ । हजुरआमा राधिका खड्का पुष्प व्यवसायमा लागेको ४० वर्ष भयो ।

यसैमा रमेकी हजुरआमाको व्यवसायिक खुसी देखेरै निर्मल पनि यही व्यवसायमा लागेका हुन् ।

निर्मल भन्छन्, “सानैदेखि हजुरआमा र मामाले नर्सरी व्यवसाय गरेको देखेर यसलाई नजिकबाट बुझ्ने मौका पाएको थिएँ । मलाई पनि राम्रै लाग्यो । बेलायतमा पढेर फर्किएपछि म पनि यसैमा लागेको छु । अहिले त हजुरआमालाई सघाउँदै छु, खुसी छु । मलाई लाग्छ भोलिको मेरो पेसा यही हो ।”

पछिल्लो समय पुष्प व्यवसायमा युवाहरुको आकर्षण बढेको देखिएको छ । निर्मल जस्तै अन्य धेरै युवा यो व्यवसायमा लागेका छन् । गत शुक्रबारदेखि भृकुटीमण्डपमा शुरु भएको नर्सरी प्रदर्शनीमा देखिएका यस्ता धेरै युवा छन् । जसले यो व्यवसायलाई भोलिको पेसा बनाएका छन् । 

“पहिला त नर्सरी व्यवसाय गरेर परिवार पाल्न सकिएला भन्ने लागेको थिएन”, ४० वर्षदेखि नर्सरी गर्दै आएकी निर्मलकी हजुरआमा राधिका भन्छिन्, “निरन्तरको मिहेनतसँगै यो व्यवसाय फस्टाउँदै जान थाल्यो । अहिले यसैमार्फत आत्मनिर्भर भएकी छु, सन्तुष्ट छु ।”

स्वदेशमा केही भविष्य छैन, अब विदेश पलायन हुनुको विकल्प छैन भनेर हतोत्साहित हुने युवालाई स्वदेशमा पनि मिहेनत गर्न सकेमा राम्रो भविष्य छ भन्ने पाठ सिकाउने राधिकाको सफलताको कथा पछ्याउँदै हुनुहुन्छ नाती निर्मल । “सबैको सपना विदेश जाने र उतै बस्ने भन्ने हुन्छ”, निर्मलले भने, “मैले त विदेश पढेँ तर स्वदेशमा नै आफूलाई थाहा भएको व्यवसाय गर्न रुचि राखेर फर्किएको हुँ, मिहेनत गर्न सके स्वदेशमा आम्दानी र सन्तुष्टि दुवै छ ।”

अहिले उनले ‘आइ एम अ गार्डेनर’ भन्दै यस व्यवसाय विस्तारको अभियानमा हुनुहुन्छ । हाल उनको नर्सरीमा ४५ जनाले रोजगारी पाएका छन् । उहाँले अनलाइनबाट पनि विरुवा बिक्री वितरण गर्दै आएका छन् ।

हाल ज्ञानेश्वर, लबिममल ललितपुर, मल्किाटारमा व्यवसाय गरिरहनुभएका उहाँले उपत्यका बाहिर पनि विरुवाहरु बिक्री गर्ने गरेका छन् । 

थापा जस्तै स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने अर्को गतिलो उदाहरण हुनुहुन्छ ललितपुरस्थित भैंसीपाटीका दीपेन्द्र तुलाधार । दीपेन्द्र पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्थे । कोरोना भाइरसको महामारीसँगै आर्थिक स्थिति ह्रासोन्मुख भयो । नेपालमा पनि बन्दाबन्दीसँगै कैयौँ उद्योग धरासायी बन्न थाले । विज्ञापन बजार पनि अस्तव्यवस्त हुन थाल्यो । 

उनका भाइहरु विदेश तिरै छन् । विज्ञापन एजेन्सी चल्न छोडेपछि उनलाई पनि अब विदेश नै जानुपर्छ भनेर आफन्त र साथीभाइले सुझाव दिन थाले । तर उनलाई लाग्यो विदेशमा पनि सजिलो कहाँ छ र ? स्वदेशमै विभिन्न विकल्प खोज्ने क्रममा उनले नर्सरी व्यवसाय रोजे । उनि भनछन, “अहिले त राम्रै कमाइ भएको छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै