• २०८१ श्रावण १२ शनिबार

पानी अभावले उपचार सेवा नै प्रभावित

kharibot

पर्वत। पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा दैनिक उपभोग गर्ने पानीको अभावले उपचार सेवा प्रभावित बनेको छ । 

नियमित स्रोतवाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको हो ।

अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भएपनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ । आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए । 

अध्यक्ष गिरीका अनुसार अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएपछि खानेपानीको सङ्कट गहिरिँदै गएको हो । दैनिकजसो सातवटा श्ययामा मिर्गौलाका बिरामीको हेमोडायलायसिस हुदैँ आएको छ ।

हेमोडायलायसिस गर्न मात्र झण्डै १० हजार लिटर पानी दैनिक खर्च गर्नुपर्ने भए पनि पानीको अभावले समस्या सिर्जना हुँदै आएको छ । 

डायलायसिससँगै अन्तरङ्ग, बहिरङ्ग, दन्त उपचार सेवा, एक्सरे, सुत्केरी सेवा, शल्यक्रिया विभाग, बालबालिका विभागमा भर्ना भएका बिरामीको सरसफाइ तथा कार्यालय सहयोगी, स्वास्थ्यकर्मी र कर्मचारीको आवासलगायतका ठाउँमा दैनिक उपभोगका लागि पानीको अभाव देखिएको छ ।

पानी अभाव हुँदा निजी घरबाट सापट मागेरसमेत काम चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

सदरमुकाम कुश्माबजारमा खानेपानीको व्यवस्थापन गर्दै आएको शिवालय कुश्मा खानेपानी सरसफाइ उपभोक्ता समितिले समेत अहिले भइरहेको परिमाणभन्दा थप पानी उपलब्ध गराउन नसक्ने भएपछि स्रोतको खोजी गर्न थालिएको छ । 

शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, प्रमुख जिल्ला अधिकारी प्रेम आचार्य, अस्पताल व्यवस्थापन समितिलगायतको सहकार्यमा नयाँ स्रोतको खोजी भएको अध्यक्ष गिरीले जानकारी दिए । 

कुश्मा नगरपालिका वडा नं ४ स्थित कालीगण्डकी नदीको किनारमा रहेको गोपाङ्गघाटको मूलबाट लिफ्टिङ गरेर पानी ल्याउने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ । 

केही दिन पहिला अस्पतालमा सञ्चालित हेमोडायलायसिस सेवाको शुभारम्भ गर्न आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालमा खानेपानीको अभाव समाधान गर्न तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

लगत्तै प्रदेशको सामाजिक सुरक्षा तथा स्वास्थ्य मन्त्रालयबाट रु ५० लाख  विनियोजन भएपछि वैकिल्पक स्रोतबाट पानी ल्याएर समस्याको समाधान गर्न थालिएको अध्यक्ष गिरीले जानकारी दिए ।

उनका अनुसार प्रतिसेकेण्ड तीन लिटर पानी तान्नेगरी लिफ्टिङ गरिने भएको छ । उक्त योजना तत्काल सुरु गर्ने र अबको दुई महिनाभित्र पानीको समस्या समाधान गरिने अस्पतालका अध्यक्ष गिरीले बताए । 

पन्ध्र श्ययाको अस्पतालबाट ५० श्ययामा स्तरोन्नति भइरहेको अस्पतालमा अहिले ६३ वटा श्ययामा राखेर बिरामीको उपचार भइरहेको छ । 

पछिल्लो समय अस्पतालले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिसलगायत अन्य सामान्य प्रकृतिका शल्यक्रिया सेवासमेत सञ्चालन गरेको छ ।

अस्पतालमा उपचार सेवा थप भएसँगै खानेपानीको समस्या समेत टड्कारो बनेका बेला प्रदेश सरकारले बजेट विनियोजन गरेपछि वैकल्पिक स्रोतबाट पानी ल्याउन लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार केही महिनापछि पानीको समस्या समाधान हुने र जतिसुकै सङ्ख्यामा बिरामी आए पनि सेवा प्रवाहमा सहज हुने बताए ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै