अर्घाखाँची। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि तेस्रो शीतगङ्गा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।
शीतगङ्गा नगरपालिका वडा नं २ सीतापुरको गैरीखेतमा सुरु भएको महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले उदुघाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री राणाले पहाडीगाउँमा बढ्दो बसाइँसराइ रोक्न घरेलु उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् । गाउँमा बसेर उद्योग सञ्चालन गर्ने युवालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताए ।
नेपालको सबैभन्दा ठूलो शीतगङ्गाको प्रचार–प्रसार र उद्योग स्थापनामा नगरपालिकाले कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।उनले नगरले बनाउने योजनामा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए ।
शीतगङ्गा नगरपालिकालाई व्यावसायिक पर्यटकीय हिसाबले देश–विदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको शीतगङ्गा उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिन्तराज अधिकारीले बताए ।
नगरभित्र उत्पादित वस्तुको प्रवर्द्धन, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि महोत्सवले निकै राम्रो भूमिका खेल्ने नगरप्रमुख छविलाल पौडेलले बताए ।
उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जमशेर मियाँले उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण अहिलेको अवस्थामा नभएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
उनले तीनै तहका सरकारले उद्योग खोल्ने युवालाई सहयोग गर्नु अपरिहार्य भएको धारणा राखे ।
माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु दुई करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा नगरप्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानलगायतले मन्तव्य राखेका थिए ।