• २०८१ बैशाख १६ आइतबार

विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा

kharibot

काठमाडौं । साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ पाठकमा समर्पित गर्दै बजारमा आइपुगेको छ ।

कथासङ्ग्रहमा जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा सङ्ग्रहित छन् । भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । उनका अनुसार यी कथा काल्पनिक र बनाबटी यथार्थमाथि नभएर तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित छन् ।

नेपाली युद्धसाहित्यमाथि वहस गर्दै आएका भण्डारीले युद्धसाहित्य मात्र नभएर युद्धपछिको साहित्यमा पनि काम गर्दै आएका छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युुद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा रहने छन् ।  

साहित्य पार्टीको घोषणापत्र हुन सक्दैन भन्छन् विष्णुु भण्डारी । तर पनि उनका अहिलेसम्म प्रकाशित सबैजसो कृतिमा राजनीतिक विषय र सामाजिक मुद्दालाई नै प्रमुखताका साथ उठाउँदै आएको पाइन्छ । राजनीतिक विषय र मुद्दालाई विषयवस्तुु बनाएर साहित्य लेखे पनि उनको लेखनमा असङ्गत राजनीति र भ्रष्ट राजनीतिज्ञमाथि तीब्र आक्रोश भेटिन्छ ।

समाजमा मौलाउँदै गएको मूल्यहीनताका साथै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृति र विसङ्गतिको खरो आलोचना उनको लेखनको प्रमुख पक्ष हो । ‘अलगधार’ उनको लेखनको रोडम्याप हो ।  

चालिसको दसकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दसकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका कवितासङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी १२ वटा कृति प्रकाशित भैसकेका छन् । ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका अत्यधिक रुचाइएका उपन्यास कृति हुन् । केही महिना पहिले उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान प्रकाशित भएको थियो ।

कथासङ्ग्रह ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो । सुन्दर कलेवरसहित १९२ पृष्ठ रहेको कृतिको मूल्य रू. ३५० राखिएको छ । औपचारिक विमोचन कार्यक्रम नगरी सार्वजनिक गरिएको ‘अरुन्धतीको मृत्यु’ आजबाटै बजारमा उपलब्ध हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै