• २०८१ असोज १८ शुक्रबार

महाशिलाका निजी विद्यालय विस्थापित !

kharibot

फाइल फोटो

पर्वत । सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गएपछि पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित भएका छन् । निजी विद्यालय नहुने जिल्लाका सात गाउँपालिकामध्ये एकमात्र महाशिला हो । अन्य ६ पालिकामा भने निजी विद्यालय सञ्चालन भइरहेका छन् । 

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै सामुदायिक विद्यालयको गुणस्तर सुधार भएसँगै गरिएको सुधारले गाउँपालिकाका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन् । 

हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाको नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका लामो समयसम्म विद्यालयमा नटिक्ने भएपछि गाउँपालिकाले सामुदायिक विद्यालयबाट नै निजी विद्यालय सरहको शिक्षा दिन थालेको थियो । 

सुरुवातमा कक्षा १ देखि ३ सम्म पालिका आफैले दिवा खाजा कार्यक्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको टिकाउ दर बढ्यो । पछि सरकारले कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । 

अहिले नर्सरीदेखि १० कक्षासम्म नै सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन भइरहेको छ । उनले भने, “निजी विद्यालय नहुने जिल्लाभरमा हाम्रो पालिका मात्रै हो ।” 

गाउँपालिकाले अंग्रेजी भाषाप्रतिको मोह अन्त्य गर्न सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको छ । बोर्डिङ स्कुलले दिने शिक्षा सामुदायिक विद्यालयबाटै दिन थालिएको अध्यक्ष भुसालको भनाइ थियो । त्यसका लागि विद्यालयमा रहेका नयाँ तथा पुराना शिक्षकलाई समेत आवश्यक तालिम दिएर मासिकरुपमा उपलव्धि मापन परीक्षासमेत लिने गरिएको छ । 

शिक्षक आफैले प्रश्नपत्र तयार गर्दा नतिजा राम्रो नआउने भएकाले बाहिरबाट विषय विज्ञ बोलाएर प्रश्नपत्र तयार गर्ने र शिक्षकको नभइ कर्मचारीको रोहवरमा परीक्षा लिने तथा नतिजा विश्लेषण गर्ने गरिएको उनले बताए । गाउँपालिकाले तीनवटा विद्यालयलाई आवासीय विद्यालयको रुपमासमेत सञ्चालन गरेको छ । 

वडा नं १ मा रहेको गोल्र्याङधाम आधारभूत माध्यमिक विद्यालय, वडा नंं ४ पाखापानीमा रहेको स्वधर्म मावि र वडा नं ५ लङ्खुदेउरालीमा रहेको महेन्द्रज्योति माविलाई पूर्ण तथा आंशिकरुपमा आवासीय विद्यालय सञ्चालन गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यार्थीलाई विद्यालयमै राख्ने र पढाइसँगै अतिरिक्त क्रियाकलाप सिकाउने गरिएको छ । 

यस वर्षदेखि आवासीय विद्यालय थप गर्ने योजनासमेत पालिकाले बनाएको छ । आवासीय विद्यालयमा परिचालन हुने शिक्षकलाई गाउँपालिकाले तलबको थप ३५ प्रतिशत रकम उपलव्ध गराउँदै आएको छ । त्यसैगरी एक शिक्षक एक ल्यापटप र एक कक्षा एक प्रोजेक्टर कार्यक्रम लागु गरेर प्रविधिमैत्री शिक्षा समेत दिन थालिएको अध्यक्ष भुसालले बताए । 

गाउँपालिकाका सबै शिक्षक कम्प्युटरमा पोख्त बनिसकेका छन् । महाशिलाले कृषि, पशु, स्वास्थ्यसम्बन्धी अध्ययन गर्नेलाई वार्षिक रु एक लाखका दरले चार वर्षसम्म अनुदान दिँदै आएको छ भने विज्ञा

न र गणित पढाउने शिक्षकको अभाव भएपछि गाउँपालिकाभित्रबाट उच्च शिक्षामा विज्ञान र गणित तथा नर्सिङ पढ्ने विद्यार्थीलाई वार्षिक ५० हजारका दरले चार वर्षसम्म सहयोग गर्ने कार्यक्रम समेत लागू गरेको छ । उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको छ ।

पालिकाभित्रकै सामुदायिक विद्यालयमा गुणस्तर सुधार भएपछि बालबच्चा पढाउनकै लागि बजार झर्ने क्रम रोकिएको गाउँपालिकाका पूर्वप्रवक्ता जीवन विक्रम उच्चैले बताए । आफैले सञ्चालन गरेको लुङ्खुदेउराली आवासीय बोर्डिङ स्कुललगायत अन्य वडामा रहेका गरी चार वटा निजी विद्यालय बन्द भएको उनले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै