• २०८१ बैशाख २५ मंगलबार

इजरायलबाट काठमाडौँ आइपुग्यो तीन नेपाली विद्यार्थीको शव

kharibot

तस्बीर: रासस

काठमाडौं । हमासको आक्रमणमा इजरायलमा मारिएका दश नेपाली विद्यार्थीमध्ये तीनजनाको शव आज काठमाडौं आइपुगेको छ ।

इजरायलबाट फ्लाई दुबईको उडान नम्बर एफजेड १२-१० विमानमार्फत दुबई हुँदै ती शव आइतबार बिहान काठमाडौँ ल्याइएको हो । इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू हिजो नेपाल पठाइएको थियो । पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्टको शव काठमाडौं आइपुगेको हो । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने बताइएको छ ।

शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिनेछ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शवलाई पुर्‍याउने व्यवस्था गरेको परराष्ट्र स्रोतले जनाएको छ ।

यहि अक्टोबर ७ मा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी हमासको आक्रमणपछि बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै अज्ञात नै रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै