• २०८१ बैशाख १७ सोमबार

दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गर्न सांसदहरुको माग

kharibot

काठमाडौँ । सांसदहरुले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गरेका छन ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनिहरुले विगतका वर्ष झै यसवर्ष पनि दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा उपभोक्ता ठगिने गरेको, व्यापारीले कृतिम अभाव सिर्जना गरेर बजारमा उपभोग्य अभाव गराएकाले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न आग्रह गरे ।

सांसद प्रदीप पौडेलले चाडबाडका बेला सधैँजसो बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना हुने गरेको र कालोबजारी मौलाउने गरेको भन्दै यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही गरी उपभोग्य वस्तुसहज रुपमा उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रतिमा गौतमले दसैँ, तिहार, छठ नजिकिएको र यात्रुहरु गन्तव्यतर्फ लागिरहेको अवस्थामा महँगो भाडादर तिर्नु परेको, अखाद्य वस्तुको उपभोग बढेको, बजारमा महँगी बढेको र कृतिम अभाव सिर्जना गरेको भन्दै महँङ्गी नियन्त्रण गराउन जोड दिइन् ।

सांसद पदम गिरीले चाडपर्वको मुखमा चिनीको कृतिम अभाव सिर्जना गरिएको र बजारमा कालोबजारी बढेकाले  उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्न सरकार समक्ष माग गरे ।

सांसद प्रेमबहादुर महर्जनले दसैँ नजिकिँदै जाँदा महँगी र अभाव हटाउन तथा गन्तव्यमा पुग्ने यात्रुलाई सहज यातायातको व्यवस्था मिलाउन माग गरे ।

सांसद बलराम अधिकारीले चाडपर्वको मुखमा स्थानीय कर्मचारीको समस्या सम्बोधन गर्न, उपभोग्य वस्तुको सहज आपूर्ति मिलाउनका लागि पहल गर्न आग्रह गरे ।

सांसद ठाकुर गैरेले पाल्पाली जनताले स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारबारे आफूले सदनमा पटक–पटक कुरा उठउनाका साथै स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि जिल्लामा चिकित्सक अभाव रहेकामा कार्यान्वयनका लागि चासो नदिएको गुनासो गरे ।

उनले जिल्ला अस्पतालमा चिकित्सकका लागि अनेक पहल गर्दा बल्लबल्ल एक  चिकित्सक पुगे पनि हालै अन्यत्र सरुवा गराइएकाले यस्तो अवस्था किन सिर्जना गरियो भने ।

उनले वीर अस्पतालमा सयौँ स्वास्थ्यकर्मी निष्कासित भएको, बिरामीलाई शय्या अभाव भएको तथा चिकित्सकहरुले राजिनामा दिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद डोलप्रसाद अर्यालले संविधानको व्यवस्थाअनुसार गैर आवासीय नेपालीले अहिले पनि नागकिरता पाउन नसकेको र लामो समयपछि नियमावली राजपत्रमा प्रकाशित भएको एक महिनासम्म पनि नागरिकता दिने तयारी नगरिएकामा  सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद तारा लामातामाङले बझाङ्गी जनता अहिले पनि भूकम्पको त्रासमा रहेको अवस्थामा तिनलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन सरकार समक्ष माग गरे ।

यही असोज १६ गते बझाङमा छ दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसैगरी सुदूरपश्चिममा दुग्ध विकास संस्थानले असारदेखि असोज महिनासम्म दुग्ध किसानलाई भुक्तानी नदिँदा दसैँको मुखमा किसानले पैसा नपाएर चिन्तित बनेकाले तत्काल भुक्तानीका लागि पहल गर्न माग गरे ।

सांसद दीपक खड्काले सङ्खुवासभाको अरुण तेस्रो मार्गमा पर्ने झङ्कुटी दिदिङ सडकखण्डमा मुआब्जा नपाएर ४१ दिनदेखि सडक सङ्घर्षमा रहेको रहेकाले दसैँको मुखमा उनीहरुलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद दामोदर पौडेल बैरागीले इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थी र सबै नेपालीको उद्धारका लागि सरकार तदरुकताका साथ लाग्नुपर्नेमा जोड दिए।

सांसद दीपक गिरीले दाङको चार लेन सडक विशेष मर्मतका लागि ठेक्का बोलपत्र आह्वान भई असोज मसान्तसम्म काम सक्नुपर्ने भए पनि अहिलेसम्म काम नभएकाले छिटो बोलपत्र आह्वान गर्न माग गरीन् । सांसद दिपा शर्माले नेपाली नागरिक चाडपर्व मनाउन स्वदेश र्फकदा नेपाल र भारतका दुबै सीमा नाकामा विभिन्न समस्या भोग्नपरेकाले यसका लागि सहज परिस्थितिको मिलाउन र उपभोग्यवस्तुको कालोबजारी नियन्त्रण गर्न सरकार समक्ष माग गरे ।

सांसद दीपकबहादुर सिंहले आसन्न चाडपर्वका अवसरमा सम्पूर्ण स्वदेशी तथा विदेशमा रहेका नेपालीमा सुस्वास्थ्य एवं शान्ति र समृद्धिको हार्दिक शुभाकामना व्यक्त गरे । सांसद देवप्रसाद तिमल्सेनाले दुग्ध विकास संस्थानले दुग्ध किसानलाई लामो समयदेखि भुक्तानी नदिएर हैरानी दिएको भन्दै दसैँमा यथाशीघ्र किसानको भुक्तानी उपलब्ध गराउनसरकारको ध्यानाकर्षण गराए ।

सांसद धनबहादुर बुढाले डोल्पाको दुनैसँग केन्द्रीय सडक सञ्जालले जोडिएको छ वर्ष वितिसक्दा पनि सडकको स्तररोन्नति र कालोपत्र हुन नसकेकाले चाँडो काम सम्पन्न गराउन  माग गरे ।

त्यसैगरी सदरमुकाम दुनैदेखि चीनको सीमानसम्मको करिब एक सय दस किलोमिटर सडकखण्डको काम चाँडो सम्पन्न गराउन  पनि जोड दिए । सांसद डा धवल शमशेर जबराले किसानलाई रासायनिक मलको उद्योग खोल्ने विषय कहाँ पुग्योरुयसबारे  किसानलाई जानकारी गराउन  आग्रह गरे ।

उनले नेपालगञ्ज–नयाँदिल्ली सिधा हवाई उडानको थप प्रगतिबारे पनि सदनलाई जानकारी गराउन माग गरे । सांसद नागिना यादवले मधेश प्रदेशमा नेपाल विद्युत् प्राधिकरणले चालु आवको बजेटमा शतप्रतिशत विद्युतीकरण भएको जनाएको तर कृषि, उद्योग, कल कारखानामा विद्युत् आपूर्ति सहज नरहेकाले प्राधिकरणसँग जानकारी लिन ध्यानाकर्षण गरीन् ।

सांसद निशा डाँगीले देशमा विकास निर्माणकार्य भइरहँदा स्थानीयवासी बढी मर्कामा पर्ने गरेको र त्यसको उदाहरण अरुण तेस्रो जलविद्युत आयोजनाले मुआब्जा वितरणमा ढिलाइ गरेकाले स्थानीयवासीले  सङ्घर्ष गर्नुपरेको भन्दै उनीहरुको समस्या चाँडो समाधान गर्नसरकारको ध्यानाकर्षण गरीन् ।

सांसद पुष्पबहादुर शाहले सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रमा केही दिनदेखि विभिन्न मुलुकका विदेशी पर्यटक भ्रमणमा रहेको र त्यहाँ आवश्यक न्यूनतम पूर्वाधार नभएकाले सोको व्यवस्थापनका लागि बजेट विनियोजन गराउन आग्रह गरे ।

सांसद वासुदेव घिमिरेले लुम्बिनीको बुद्ध परिक्रमा पथको जीर्णोद्वारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद विनिता कठायतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा भ्रमणमा गएको भन्ने विषयबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयः सरकारको प्रसंशा

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले इजरायलमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा सरकारले गरेको पहलको प्रसंशा गर्दै उक्त कार्यका निम्ति धन्यवाद व्यक्त गरेका छन् । सांसद प्रकाशमान सिंहले इजरायलमा हमास समूहको आक्रममा परी निधन भएका नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरे ।

सरकारले अग्रसरता देखाइ परराष्ट्रमन्त्री पठाएर नेपालीलाई स्वदेश फर्काउने र मृतकको शव नेपाल ल्याउने कार्य सराहनीय रहेको भन्दै उनले सरकारलाई उक्त कार्यको लागि धन्यवाद दिए ।

सांसद सिंहले चाडबाडको समयमा दैनिक उपभोग्य वस्तु सहज र सहुलियतरुपमा उपलब्ध गराउन पनि माग गरे । सांसद देवेन्द्र पौडेलले इजरायलमा दुःखद घटनामा परी ज्यान गुमाएका नेपालीप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै  परिवारजनमा समवेदना प्रकट गरे ।

उनले विश्वविद्यालयको स्तरीकरण गरी नेपालमै पठनपाठन गर्न  विश्वास जगाउने र नेपालमै त्यसप्रकारका शिक्षा प्राप्त गर्न  सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद नारायणी शर्माले इजरायलमा भएको आक्रमणमा परी निधन भएका नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले गरेको तयारीप्रति धन्यवाद दिए ।

उनले चाडपर्वमा हुने उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दुर्गा राईले इजरायलमा भएको आक्रमणमा परी निधन भएका नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरीन् ।

उनले केही समयदेखि चिकित्सकमाथि कुटपीटका घटना आइरहेकाले यस्तो गतिविधि दीर्घकालीनरुपमा रोक्न कडा कानुन बनाउन सरकार समक्ष माग गरीन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै