काठमाडौँ । एशिया कप शुरु हुने दिन नजिकिदै गर्दा क्रिकेटप्रेमीहरुबीच नेपाली खेलाडीले पाकिस्तान र भारतजस्ता बलिया क्रिकेट खेल्ने देशविरुद्ध कस्तो प्रदर्शन गर्लान भन्ने कौतुहलता रहेको छ ।
नेपालले बुधबार एशिया कपको उद्घाटन खेलमा एकदिवसीय क्रिकेटको अहिलेको विश्वको नम्बर एक देश पाकिस्तानको उसकै घरेलु मैदानमा सामना गर्दैछ ।
नेपालका लागि यो खेल बहुप्रतिक्षित खेल रहेको छ । यो खेल नेपाली क्रिकेट इतिहासमा अहिलेसम्मकै ठुलो हुने छ । नेपालले यसअघि टेस्ट खेल्ने देश आयरल्याण्ड र वेस्टइण्डिजसँग विश्वकप क्वालिफायरमा खेलेर अनुभव बटुलिसकेको छ ।
अब पाकिस्तानविरुद्ध केहि नेपाली खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । यस सूचीमा सबैभन्दा पहिला अलराउण्डर गुलशान झा रहेका छन् ।
गुलशन झाले पछिल्लो समयमा नेपाली क्रिकेटमा शानदार योगदान दिइरहेका छन् । गुलशनले बल र ब्याटदुवैबाट योगदान दिएर नेपाली टिमको महत्वपूर्ण खेलाडीको सूचीमा आफुलाई उभ्याएका छन् । उनले विश्वकप क्वालिफायरमा वेस्टइन्डिजविरुद्ध ४२, आयरल्याण्डविरुद्ध अविजित ५७, एसीसी इमर्जिङ कपमा भारत ए विरुद्ध ३८ रन बनाएका थिए ।
अहिलेसम्म २२ एकदिवसीय खेल खेलिसकेका गुलशनले ४५२ रन बनाएका छन् । जसमा ३ अर्धशतक सामेल छन् । त्यस्तै बलिङतर्फ उनले २२ खेलका २१ इनिंगमा २१ विकेट नै लिएका छन् । पाकिस्तानविरुद्ध गुलशन नेपालका लागि महत्वपूर्ण साबित हुन सक्छन ।
त्यस्तै अर्को खेलाडी हुन् करण केसी । करण केसीले नेपालका लागि पछिल्ला १० खेलमा २२ विकेट लिएका छन् । नेपाली क्रिकेटको चर्चा गर्दा करण केसीको चर्चा नगरी त्यो चर्चा पुरा हुदैन । उनले विश्वकप क्वालिफायरमा आयरल्याण्डविरुद्ध ४ विकेट, युएईविरुद्ध ३ विकेट र अमेरिकाविरुद्ध ४ विकेट लिएका थिए । बलिङ मात्र होइन आवश्यक परेको बेला ब्याटबाट पनि नेपाली टिममा करणले योगदान गर्दै आएका छन् ।
करणले अहिलेसम्म ४५ एकदिवसीय खेलमा ७३ विकेट लिएका छन् । त्यस्तै ४६ खेलका ३१ इनिंगमा ब्याटिंग गरेर ३४९ रन बनाएका छन् । त्यसैले करणको भूमिका पाकिस्तानविरुद्ध महत्वपूर्ण हुने देखिन्छ ।
त्यसैगरी पाकिस्तानविरुद्ध राम्रो योगदान गर्न सक्ने अर्को खेलाडी हुन् दिपेन्द्र सिंह ऐरी । दिपेन्द्र हालै क्यानडामा सम्पन्न ग्लोबल टी-२० खेलेर आएका छन् र उनको टिमलाई ग्लोबल टी-२० को उपाधि जिताउन दिपेन्द्रले पनि महत्वपूर्ण भूमिका निभाएका थिए । क्यानडाको ग्लोबल टी-२० मा धेरै पाकिस्तानी खेलाडी खेलेकाले उनीहरुसँग खेलेको अनुभवले दिपेन्द्र नेपालको मिडल अर्डरमा पाकिस्तानविरुद्ध महत्वपूर्ण हुने देखिन्छ । दिपेन्द्रले नेपालका लागि ब्याट र बल दुवैबाट महत्वपूर्ण योगदान दिन सक्छन । साथै उनी नेपाली टिममा उत्कृष्ट फिल्डर पनि मानिन्छन् ।
दिपेन्द्रले अहिलेसम्म नेपालका लागि ५० एकदिवसीय खेल खेल्दै ८५७ रन बनाएका छन् । जसमा एक शतक र ३ अर्धशतक रहेका छन् । साथै उनले ५० खेलमा ३६ विकेट समेत लिएका छन् ।
त्यस्तै अर्को महत्वपूर्ण खेलाडी हुन् सन्दीप लामिछाने । सन्दीप अन्तत: एशिया कप खेल्न पाकिस्तान तर्फ लागेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाईजी लिगहरुमा धेरै पाकिस्तानी क्रिकेटरसँग खेलेका छन् । उनीहरुको खेल्ने तरिका सन्दीपले बुझेका हुनाले पनि उनले पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सक्छन । पाकिस्तानी टिमलाई दबाबमा राख्ने हैसियत राख्ने सन्दीपको प्रदर्सन नेपाली टिमका लागि निकै महत्वपूर्ण हुने छ । पाकिस्तानलाई चुनौती दिन सन्दीपले उत्कृष्ट प्रदर्शन गर्नैपर्ने दबाब पनि रहेको छ ।
सन्दीपले नेपालका लागि अहिलेसम्म ४९ एकदिवसीय खेल खेल्दै १११ विकेट लिएका छन् । उनको नाममा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने रेकर्ड समेत रहेको छ । पछिल्ला खेलहरुमा सन्दीपले बलबाट मात्र होइन ब्याटिंगमा पनि योगदान गरिरहेका छन् । उनले ४९ एकदिवसीय खेलका ३३ इनिंगमा ब्याटिंग गर्दै ३६७ रन समेत बनाएका छन् ।
हुन त क्रिकेट टिम खेल हो । तर कुनै पनि टिम खेलमा खेलाडीको व्यक्तिगत प्रदर्शनको अर्थ विशेष हुन्छ । नेपाली टिममा यी चार जना बाहेक कप्तान रोहित पौडेलको आत्मविश्वास, भीम सार्कीको जादुयी फिल्डिङ र ब्याटिंग, सोमपालको अलराउन्ड भूमिका, कुशल भुर्तेल र आसिफ सेखको ओपनिङ जोडी, ललित राजबंशीले दिने ब्रेकथ्रु विशेष नै छन् ।
खेलमा नतिजा जे पनि हुन सक्छ । नेपालले पाकिस्तान जस्तो बलियो टिमविरुद्ध जित नै हासिल गर्छ भनेर भन्न नसकिए पनि राम्रो क्रिकेट खेलेर कडा चुनौती दिने खेलाडी नेपाली टिममा रहेको भने सजिलै भन्न सकिछ ।
आगामी बुधबार नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ मा पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुने तालिका छ ।