काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मछिन्द्र क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले मनाङलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १५ मिनेटमा नै अग्रता लिएको मनाङले खेलको अन्तिम ८०औं मिनेटपछि तीन गोल खाएपछि खेल हारेको थियो ।
मछिन्द्रको जितमा अफीज ओलावालेले दुई गोल गरेका थिए भने बिमल घर्ति मगरले एक गोल गरेका थिए । त्यस्तै मनाङका लागि एक गोल विजय श्रेष्ठले गरेका थिए ।
यो जितपछि यस सिजनको उप विजेता बनेको मछिन्द्रको २६ खेलमा ४५ अंक भएको छ । त्यस्तै मनाङ मर्स्याङ्दी क्लबको भने २६ खेलमा ३२ अंक छ र यस सिजनमा आठौँ स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।