• २०८१ बैशाख १७ सोमबार

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि, भारत र अष्ट्रेलिया भिड्दै

kharibot

काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजदेखि भारत र अष्ट्रेलियाबीच हुँदैछ । लण्डनको ओभल मैदानमा हुने फाइनल जित्ने टोली आईसीसीका सबै प्रतियोगिताको ट्रफी जित्ने पहिलो टोली पनि बन्नेछ ।

यो खेल आज नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुने छ ।  

विश्व टेस्ट च्याम्पियनसिप २०१९ बाट सुरु भएको थियो । पहिलो फाइनल २०२१ मा भारत र न्युजिल्यान्डबीच इङ्ल्यान्डमा भएको थियो । उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०२१ देखि सुरु हुने दोस्रो च्याम्पियनसिपमा भारत र अष्ट्रेलिया तालिकाको शीर्ष दुई टोली बनेका छन् । त्यसैले उनीहरुबीच दोस्रो फाइनल खेल हुँदैछ ।

विश्व टेस्ट च्याम्पियन्सिपको पहिलो फाइनल पनि इंग्ल्याण्डमा भएको थियो भने २०२५ को फाइनल पनि इंग्ल्याण्डमा नै हुनेछ । सन् २०२१ मा साउथह्याम्पटनमा च्याम्पियनसिपका लागि भारत र न्युजिल्याण्ड भिडिएका थिए । त्यसैगरी, २०२५ मा च्याम्पियनसिपको तेस्रो फाइनल लण्डनको लर्ड्स मैदानमा खेलिनेछ ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हरेक पटक डब्ल्यूटीसी फाइनल किन इंग्ल्याण्डमा आयोजना गर्दै आएको छ भन्ने प्रश्न उठ्छ । आइसीसीले विश्व क्रिकेटका दर्शकका लागि उपयुक्त समय मिल्ने, टेस्ट क्रिकेट हेर्ने दर्शक बढी इङल्याण्डमै हुनु तथा  यहाँको मौसमका कारण पनि टेस्टका ठुला प्रतियोगिता इङल्याण्डमा गरिरहेको बुझिएको छ ।

विश्व टेस्ट च्याम्पियन्सिप ड्र वा टाई भएमा भारत र अस्ट्रेलियालाई संयुक्त रुपमा विजेता घोषित गरिने छ । विश्व टेस्ट च्याम्पियन्सिपको फाइनल खेलमा एक दिन रिजर्भ डे को रुपमा राखिएको छ । यदि खेलको पाँच दिनमा कुनै पनि पुरै एक दिन खेल हुन नसक्ने अवस्था आएमा रिजर्भ डेको प्रयोग गरिने छ । विश्व टेस्ट च्याम्पियन्सिप हुने यी पाँच दिनमध्ये शुरुका तीन दिन र पाँचौं दिन मौसम सफा रहने र चौथो दिन वर्षा हुनसक्ने अनुमान गरिएको छ । 

फाइनल खेलका लागि अस्ट्रेलियाका तिब्रगतिका बलर जोश हजेलवूड खेलबाट बाहिर भएका छन् । उनको स्थानमा माइकल नेसरलाई टिममा समावेश गरिएको छ । 

त्यस्तै भारतीय टिममा जसप्रित बुमराह, ऋषव पन्त, श्रेयस अय्यर र केएल राहुल जस्ता खेलाडी घाइते भएर बाहिर छन् । 

विश्व टेस्ट च्याम्पियन्सिप जित्ने टिमलाई १.६ मिलियन डलर नगद पुरस्कार रहेको छ भने उपविजेताले ८ लाख डलर पुरस्कार पाउने छ । साथै २०२१ देखि २०२३ सम्म विश्व टेस्ट च्याम्पियन्सिप खेलेका ९ देशबीच आइसीसीले कुल ३.८ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै