• २०८१ बैशाख ७ शुक्रबार

पाठकको चाप बढेपछि प्रज्ञाको पुस्तक प्रदर्शनीको अवधि एक हप्ता थप

kharibot

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको चाप बढ्न थालेपछि एक हप्ता समय थप गरिएको छ ।

प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी यही वैशाख २५ गतेसम्म चल्ने व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । वैशाख ४ गते १५ दिनअर्थात् वैशाख १८ गते सोमबारसम्मका लागि प्रदर्शनी आयोजना गरिएको थियो । 

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को चैत महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । रु तीनदेखि रु तीन हजार तीन सय ५० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको उनले बताए । 

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

प्रज्ञा नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि व्यवस्थापक ढुङ्गेलले सुनाउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ । प्रदर्शनीमा उल्लेख्यरुपमा पाठकको सहभागिता हुने गरेको छ ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक तीन  सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रु २० हजारभन्दा बढीको पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । गत वर्ष प्रतिष्ठानले पुस्तक बिक्रीबाट नै रु ५० लाख आर्जन गरेको थियो ।

प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ ।  हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ । प्रदर्शनीमा साझा प्रकाशनका पुस्तकको पनि छुट्टै कक्ष राखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै