• २०८१ जेठ ६ आइतबार

प्रदीप पौडेल भन्छन्- सरकारले प्राथमिकता छनोट गर्न सकेन, अक्षमताको संकेत देखियो

kharibot

काठमाडौँ । सरकारले अयोग्य लडाकुलाई २-२ लाख दिने कार्यविधि स्वीकृत गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसबाट विरोध शुरु भएको छ ।

कांग्रेसका युवा नेता एवम सांसद प्रदीप पौडेलले अयोग्य लडाकुआई पैसा दिने निर्णय अपरादर्शी भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सांसद पौडेलले यो निर्णयबाट आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाएको बताएका छन् ।

उनले अहिलेको विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको उल्लेख गरेका छन् । 

उनले भनेका छन्- 

गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय नभएको विषय सार्वजनिक भएको थियो । तर, संसद्लाई समेत जानकारी नगराई भित्र भित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्न आएको छ । यसले सरकारको काम कारवाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ ।

एकातिर, केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका छन् । अर्कोतिर, सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको विषय सार्वजनिक भइरहेका छन् । यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको छ । 

त्यसैले, अहिले चुलिँदै गएको आर्थिक संकटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक छ । आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु ।

यसअघि नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले समेत सरकारले अयोग्य लडाकुलाई रकम दिने कार्यविधि स्वीकृत गरेकोप्रति विरोध जनाइसकेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै