काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा खेल्न पाउनु पर्ने बताएका छन् ।
क्रिकबजसँग कुरा गर्दै प्रशिक्षक देसाईले नेपालले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले आयरल्यान्ड र स्कटल्यान्डले इङल्याण्डमा खेल्ने गरेको उदारहण दिदै नेपालले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका हुन् ।
साथै क्रिकबजसँगको कुराकानीमा देसाईले यस विषयमा एसीसीका अध्यक्ष तथा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव जय साह तथा आइसीसीसँग पनि छलफल गरिरहेको उल्लेख गरेका छन् ।
देसाईलाई उदृत गर्दै क्रिकवजले लेखेको छ- 'मैले बीसीसीआईका सचिव र एसीसीका अध्यक्ष जय शाह र आइसीसीसँग यसबारे कुरा गरेँ । स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इङल्याण्डमा खेल्छन् भने हामीले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्छ । यदि, नेपालले यसरी खेल्न पायो भने हामी चार वर्षमा टेस्ट राष्ट्र बन्नेछौँ । नेपालका सबै छिमेकी मुलुकहरू आईसीसीका पूर्ण सदस्य छन् । जसमा अफगानिस्तान पनि सामेल छ । अझ अफगानिस्तान र नेपालले एकै समयमा क्रिकेट खेल्न सुरु गरेका हुन् ।'
गएको माघ २३ गते औपचारिक रूपमा नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका देसाईको प्रशिक्षणमा नेपालले खेलेका १२ मध्ये ११ खेलमा जित हासिल गरेर एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।