• २०८१ बैशाख १७ सोमबार

कृषि पेसामा राउटे समुदाय

kharibot

काठमाडौँ । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ ।

कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई  उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो ।

सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन् ।

“तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दैछु, काठको काम पनि गर्छु । पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो । अहिले दुवै काम गर्न भ्याएको छु”, उनले भने बत्तीस वर्षे सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुर्ख्यौली सीप र कृषि पेसाले आम्दानीको स्रोत बढेको बताए । कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उनको भनाइ छ ।

उनले यही पेशाबाट पाँच जनाको परिवार चलाउँदै आएका छन् ।पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका उनले काठमाडौँ पहिलोपटक भ्रमण गरेकोसमेत बताएका ।

“पुरस्कार पाएको छु । आफ्नो देशको (पुरानो) राजधानी हेर्ने अवसरसमेत जुर्यो । सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ”,उनले भने ।

बाल्यकालमा भारतको शिमलासम्म पुगेको बताउने सिंहलाई आफ्नो देशको पुरानो राजधानी हेर्न पाउँदा तीन दिनको बसाइ धेरै छोटो लागेको बताए । “पशुपतिनाथ मन्दिरसम्म दर्शन गर्न मन थियो । तर समय अभावका कारण फर्किँदैछु । फेरि दोस्रोपटक काठमाडौँ घुम्न आउनेछु ।” बाख्रापालन, तरकारी खेती र गँहु उत्पादनबाट धेरै आम्दानी नभए पनि दैनिकी राम्रो गुज्रेको उनको भनाइ छ । डडेल्धुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौँसम्म आउन सहजीकरण गरे ।

“राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ । अरुजस्तै उनले पनि आउन मानेका थिएनन् । उनलाई काठमाडौँ सहर घुम्न पाइन्छ भनेपछि आए”, विष्टले भने ।

काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेसाप्रति आकर्षण बढ्दै गएको हो । सिंहसँगै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन् । तर थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन् ।

राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उनले बताए । उनले भने, “भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै छन् ।

जसले गर्दा उनिहरूलाई सिर्जनशील बनाउन सकिएको छैन । व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै