• २०८१ बैशाख १५ शनिबार

रविन्द्र मिश्रको राजनीतिक उद्धार, राप्रपालाई कति फाइदा ?

kharibot

काठमाडौं । रविन्द्र मिश्र औपचारिक रुपमा राप्रपामा प्रवेश गरेका छन् । अब उनी विवेकशील साझाका संस्थापक अध्यक्षबाट राप्रपाका वरिष्ठ उपाध्यक्ष बनेका छन् । 

मिश्रको राप्रपा प्रवेशसँगै मिश्रित प्रतिक्रिया देखिएको छ ।  सामाजिक सञ्जाल र मिडियामा मिश्र राजनीतिमा सक्रिय हुनुपर्ने थियो, राप्रपामा गएर ठिक भयो भन्नेहरु पनि देखिएका छन् भने अब राप्रपालाई कति राम्रो गर्छन् ? भनेर प्रश्न पनि गरिएको छ । 

मिश्रको छोटो राजनीतिक यात्राको आरोह अवरोह हेर्दा उनले राजनीतिमा लिएको यू-टर्नका कारण आउदा दिनमा उनको भूमिका र सफलता अनुमान गर्न मुश्किल छ । उनी वैकल्पिक राजनीतिकको एजेण्डासँगै राजनीतिमा आएपनि अब कट्टर राजावादीको कित्तामा गएका छन् ।

उनको बुधबारको सम्बोधनले पनि उनी अब पंचायत ढाल्न कांग्रेसले अङ्गीकार गरेको रणनिति अबलम्बन गर्नुपर्ने लाइनमा पुगेको बुझ्न सकिन्छ । उनले कांग्रेसले आफ्नो नीति छोडेकाले अब त्यो नीति राप्रपाले बोक्नुपर्ने जिकिर गरेर त्यसको पुष्ट्याई गरेका छन् ।

मिश्रले जस्तो प्रतिबद्धता व्यक्त गरेपनि उनलाई भित्र्याएर राप्रपाले कति फाइदा हासिल गर्छ अहिले नै अनुमान गर्न सकिन्न । राप्रपा आफै स्थापित  हुन संघर्ष गरिरहेको पार्टी भएकाले र टुटफुट र गुटबन्दीको राजनीतिमा ग्रस्त रहेकाले आउदो निर्वाचनमै कति सफलता पाउछ भन्न सकिने अवस्था छैन । 

राप्रपाको अहिलेको नेतृत्वले मिश्रलाई भित्र्याएर पार्टीलाई ठुलो फाइदा हुने महत्वकांक्षा राखेको देखिन्छ । तर आम रुपमा मतदाता मिश्रको राप्रपा आगमनलाई कसरी मुल्यांकन गर्छन त्यो निर्वाचन पछिको परिणामसम्म कुर्ने पर्ने हुन्छ । अहिले निर्वाचनको संघारमा आफ्नो पार्टी अस्तव्यस्त भएको बेला मिश्रले आफ्नो एजेण्डा अनुसारको पार्टी फेला भने पारेका छन्  । उनी राजतन्त्रको एजेण्डामा कायमै रहेमा उनको लागि राप्रपा भन्दा उत्तम विकल्प अरु थिएन र छैन पनि ।

यस अर्थमा राप्रपाले उनको राजनीतिक उद्धार गरिदिएको छ । यस बापत मिश्रले राप्रपालाई कति योगदान गर्छन त्यो आउदा दिनमा प्रष्ट हुने छ । अब मिश्रले राप्रपालाई आफु सत्तामा जाने भर्याङ बनाउछन् वा राप्रपाको एजेण्डा स्थापित गर्न सहयोग गर्छन भन्ने विषय प्रतिक्षाको विषय बनेको छ ।      

देशलाई गाइड गर्ने राजनीति आवश्यक छ- रविन्द्र मिश्र 

बुधबार राप्रपामा प्रवेश गरेसँगै उनले अब देशको बेथितीमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंशा गर्दै अब सोही एजेण्डामा अझ मजबुत शैलीमा अघि बढ्ने बताएका छन् । 

कार्यक्रममा उनले नेपाली नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरवार भत्काएर दिल्लीलाई केन्द्र बनाउने शैली गलत भएको टिप्पणी गरे । उनले भने, ‘हामी आफू आफू झगडा गरौं, राजा पनि नेपाली नागरिक नै हुन् उनीसँग पनि झगडा गर्न सकियो । तर, यहाँको राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नु भएन ।’ 

कार्यक्रममा उनले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बताए । उनले भने, ‘अमेरिकी कुटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन् । भारतको प्राथमिकतामा नेपाल सधै उच्च छ । यसले के देखाउँछ भने नेपाल विश्वशक्तिको केन्द्र बनिरहेको छ । तर, हामी आफै चाही भष्ट्र सरकार लिएर बसिरहेका छौं । जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन् ।’

उनले देशमा राजनीतिलाई पेशा बनाइएको टिप्पणी गर्दै पेशा व्यवसाय त सबैले गरेकै होलान तर अब देशलाई गाइड गर्ने राजनीति आवश्यक रहेको बताए ।

कार्यक्रममा मिश्र नेपाली काँग्रेसविरुद्ध आक्रोशित रुपमा प्रस्तुत भएका थिए । उनले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउने गरेको पनि बताए । उनले भने, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस् । कांग्रेसमा कति विचलन आएको छ । यसको जवाफ कांग्रेसका साथीहरूले नै दिउँन । ’

उनले कांग्रेसमा धेरै विचलन आएको बताउदै अहिले माओवादीसँग सहकार्य गरेको प्रति कटाक्ष गर्दै हिजो आफ्नो कार्यकर्ताको घाँटी काट्नेहरुसँग अहिले नेतृत्वले घाँटी जोडिरहेको आरोप लगाए ।

यिनै नेता र पार्टीलाई भोट दिए देश बिगार्ने कार्यमा मतदाताको पनि संलग्नता ठहर्छ- लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने बताए ।

उनले अहिले कै नेता तथा दललाई कतिपटक जिताउँदा देश बन्छ भन्दै प्रश्न गरे । ‘यिनै पार्टी, यिनै नेता, जसलाई तपाईंले कतिचोटी भोट दियो भने देश बन्छ होला ?,’ उनले भने, ‘अब पनि यिनै पार्टी, यिनै नेतालाई भोट दिने भनेको ति नेतामात्र दोषी होइनन्, ति पार्टीमात्र दोषी होइनन्, तिनलाई भोट दिने तपाईं पनि दोषी हो । देश बिगार्ने काममा तपाईं पनि संलग्न भएको ठहर्छ । कांग्रेस, कम्युनिष्ट कार्यकर्ताले भन्नसक्छन्–हाम्रो नेतालाई यति पटक जिताओ भने देश बन्छ भनेर ?’

दलीय भागबण्डामा न्यायाधीश र संवैधानिक अंगमा पदाधिकारी नियुक्त गरेका दलहरुले राप्रपालाई पश्चगामीको आरोप लगाएको भन्दै उनले अहिलेको राजनीतिक प्रणाली नै असफल भएको दाबी छन् ।

‘हामीले राजनीतिक दलरहित न्याय परिषद हुनुपर्छ भनिरहेका छौँ । दलीय भागबण्डामा न्यायाधीश नियुक्त हुनुहुँदैन भनिरहेका छौँ । तपाइँहरु दलीय भागबण्डाका आधारमा संवैधानिक अंगहरुमा नियुिक्त गरिरहनु भएको छ, फोन गरेर मुद्दा फैसला गर्न निर्देशन दिइरहनुभएको छ, तपाईंहरु अग्रगामी ? अनि हामी पश्चगामी ?,’ उनले भने ।

२०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्न राप्रपाले माग गरिरहेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै असफल भएको दाबी गरे । 

२०४६ सालयताका कुनै पनि सरकारले कार्यकाल पूरा गर्न नसकेको भन्दै उनले ३२ वर्षको समयमा २६ वटा सरकार बनेका र ति सरकारले कार्यकाल पूरा गर्न नसक्नुमा निर्वाचन प्रणाली नै कारक रहेको बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने उनको माग छ । 

मिश्र र लिङ्देलले अब देशको निकास दिन्छन्- राणा

राप्रपाका निवर्तनमा अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देल र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् ।

अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे । उनले भने, ‘हामीहरु अरु पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रष्ट भिजन दिन सक्नु पर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र समूहबीच एकता घोषणा कार्यक्रममा उनले लिङ्देल र मिश्रसँगै ८१ वर्षीय आफू पनि लाग्ने बताए । 

पन्चेश्वर, पश्चित सेती र अरुण जस्ता वृहत आयोजनालाई अब मुलुकले जोड दिनु पर्ने बताए । मुलुक विकासको छायामा होइन मूल ज्योति मै रहनु पर्ने बताए । अब पूर्वबाट मात्रै होइन पश्चिमबाट पनि सूर्य उदाउने अवस्थामा पुर्याउनु पर्ने उनले बताए । 


  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै