• २०८३ कार्तिक ३० सोमबार

समाजवादी केन्द्र आवश्यकता की बाध्यता ?

समाजवादी केन्द्र आवश्यकता की बाध्यता ?

काठमाडौँ । अहिले समाजवादी केन्द्र बनाउने बहस तिब्रगतिमा अगाडी बढिरहेको छ । खासगरी जनता समाजवादी पार्टी नेपाल फुट्ने निश्चित भएपछि डा. बाबुराम भट्टराईले विभिन्न दलहरुलाइ एक ठाउमा ल्याएर समाजवादी केन्द्र बनाउने पहल गरिरहेको देखिएको छ । जसमा बाबुराम बाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी र वामदेव गौतमले नेतृत्व गरेको एकता अभियान रहेको छ ।

यस अघि नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा भताभुंग भएपछि अहिले बनाउने पहल भइरहेको समाजवादी केन्द्र कस्तो हुन्छ भन्ने बहस पनि उत्तिकै भइरहेको देखिन्छ । यसका लागि पटक पटक भेटवार्ता र छलफल भएका छन् । तर समाजवादी केन्द्र कस्तो बन्छ त ? के जनतामा यिनै नेताहरुले बनाएको नयाँ पार्टीमा जनताको आकर्षण रहन्छ त ? भन्ने प्रश्न अहिले अनुत्तरित नै छन् । तर यसका पृष्ठभूमिका बारेमा चर्चा गर्दा समाजवादी केन्द्र बाबुरामदेखि वामदेवसम्म तथा प्रचण्डदेखि माधवसम्म सबैका लागिउ आफ्नो घट्दै गएको शक्ति आर्जन गर्ने अस्त्र बाहेक अरु नहुने देखिन्छ ।

अहिले एमाले र कांग्रेस सांगठनिक रुपमा पनि बलियो रहेको र देशमा तेस्रो ठुलो दलको निर्माणको प्रयास स्वरूप चुनावको मुखमा समाजवादी केन्द्रको गठन प्रायस भइरहेको सजिलै बुझ्न सकिन्छ ।

यस विषयको पृष्ठभूमिलाई बुझ्न प्रमुख नेताहरुको पृष्ठभुमिका बारेमा स्पष्ट हुन जरुरी छ ।

बाबुराम भट्टराई

माओवादी पार्टी छोडेर २०७२ सालमा नयाँ शक्ति पार्टीको निर्माण गरेका डा. बाबुराम भट्टराईले यस पार्टीको स्थापना नै गर्न सकेनन् । निकै तामझामसहित वैकल्पिक शक्तिको रुपमा स्थापना गरिएको नयाँ शक्ति पार्टीले ठुलो आकार लिन नै सकेन । निर्वाचनमा पनि यो पार्टी प्रति कुनै आकर्षण देखिएन । कांग्रेसको सहारामा बाबुराम आफै प्रतिनिधि सभामा पुगे पनि अरु सफलता हासिल गर्न सकेन । त्यसपछि २०७६ मा उपेन्द्र यादवको पार्टी समाजवादी फोरमसँग एकीकरण गरि समाजवादी पार्टी निर्माण र त्यसपछि २०७७ सालमा राजपासँग एकीकरणपछि जसपा निर्माण गरियो र बाबुराम संघीय परिषदको अध्यक्ष बने । तर दुई बर्षको अवधिमा जसपा एकीकृत पार्टी नै बन्न सकेन । अहिले दुवै पक्षले अलग अलग भेला गरेर पार्टी फुटाउने चरणमा छन् भने यसै प्रसंगमा बाबुरामले समाजवादी केन्द्रको आफ्नी पुरानो अलापलाई दोहोराएका छन् ।

अहिले उनले एक्लै पार्टी बनाएर जाने अवस्था छैन । उनलाई साथ् दिने कार्यकर्ता निकै थोरै छन् । यस अवस्थामा २-४ पार्टीलाई एक गरेर समाजवादी केन्द्र बनाएमा आफु नेता भइरहने रणनीति भएको स्पष्ट नै देखिन्छ ।

प्रचण्ड

नेपाली राजनीतिमा प्रचण्ड निकै अस्थिर देखिन्छन् । उनी छिटो छिटो फड्को मार्नसक्ने नेता हुन्, उनको विगत हेर्दा । उनले विगतमा पनि धेरै पटक कहिले एमाले र कहिले काँग्रेसलाई साथ दिएको देखिन्छ । आफ्नो स्वार्थ पुरा हुने छनक पाएमा उनी जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने उनको विगतले देखिन्छ । अब अहिले उनलाई प्रधानमन्त्री बन्ने लालच स्पष्ट नै देखिन्छ । यसका लागि प्रचण्ड यथास्थितिमा काँग्रेससँग गठबन्धन जारी राखेर काँग्रेसले उनलाई प्रधानमन्त्री स्वीकार नगर्ने बुझिसकेका छन् । यसका लागि बलियो एकीकृत पार्टी बनाउन सकेमा कम्तिमा काँग्रेसलाई आलोपालो प्रधानमन्त्रीमा मनाउन सक्ने उनको ठहर छ । उनका हालैका अभिव्यक्ति र भारत भ्रमणको चुरो विषयपनि यहि नै हो । यसका लागि उनले समाजवादी केन्द्रको औचित्य देखेका छन् ।

अहिले काँग्रेसका धेरै नेता गठबन्धनका लागि तयार नभएको अवस्थामा तत्काल एमालेसँग एक ठाउमा आउने अवस्था पनि नभएको अवस्थामा समाजवादी केन्द्र आफ्नो स्वार्थसिद्ध गर्ने नयाँ हतियार हुने प्रचण्डले बुझेका छन् । यसको अर्को पक्ष प्रचण्ड अब पार्टीको नामबाट माओवादी शब्द हटाउन चाहन्छन् । माओवादी नाम उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अब 'समस्या' को रुपमा उनले बुझेका छन् । यसै कारणले नेकपा विभाजित भएपछि माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने सम्मको छलफल समेत चलाएको थियो । पार्टीलाई नयाँ नाम दिएर 'ब्राण्डिङ' गर्ने उनको चाहना अब समाजवादी केन्द्रतर्फ लालायित भएको बुझ्न सकिन्छ ।

माधवकुमार नेपाल

एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी बनाए पनि माधवकुमार नेपालको असली परीक्षा आगामी संसदीय निर्वाचनमा हुदै छ । स्थानीय तहमा गठबन्धनको फेरो समातेर केहि स्थानीय तह जितेपनि एकीकृत समाजवादीको असली क्षमताको परिक्षण हुन सकेन । संसदीय निर्वाचनमा जित्ने सिटको आधारमा मात्र यसको दलको आकार कत्रो छ भन्ने निर्क्यौल हुने हुनाले नेपाल यो परीक्षामा पास हुन चाहन्छन् । एक्लै चुनाव लडेमा फेल हुने निश्चित रहेको नेपालले राम्रोसँग बुझेका छन् । एमालेसँग तालमेल गर्ने अवस्था अहिले अझै निर्माण हुनसकेको छैन ।

काँग्रेसले माओवादी र एकीकृत समाजवादीलाई 'साइज' मा राख्ने रणनीति बनाएको छ । यो बुझेका नेपाललाई अहिलेको समय छटपटीमा बितेको बुझ्न सकिन्छ । उनका पछिल्ला अभिव्यक्ति पनि त्यस्तै छन् । यस अवस्थामा बाबुरामपछि समाजवादी केन्द्रको सबैभन्दा छिटो आवश्यकता एकीकृत समाजवादीलाई रहेको देखिन्छ ।

वामदेव गौतम

नेकपा विभाजन भएर पुरानै अवस्थामा फर्किएपछि निष्क्रिय रहेका वामदेव गौतम समाजवादी केन्द्र निर्माणमा सक्रिय देखिन्छ । उनले आफ्नो एकता अभियानलाई दलको रुपमा दर्ता गरेपनि शुरुमै विवादित देखिएको छ । दलको आकार लिन नपाउदै विवाद देखिएकाले अब यसले निर्वाचनमा सफलता पाउने सम्भावना देखिदैन । त्यसैले उनले यसै अभियानको आडमा समाजवादी केन्द्र बनाएर राजनीतिक कमब्याक गर्ने प्रयासमा उनी रहेको बुझ्न सकिन्छ ।

निष्कर्ष:

यसरी प्रमुख नेताहरुको पृष्ठभुमि हेर्दा समाजवादी केन्द्र अहिलेको आवश्यकता भन्दा पनि नेताहरुले गुमाएको शक्ति आर्जन गर्ने हतियार वा आफ्नो महत्वकांक्षा पुरा गर्ने हतियारको रुपमा यसको निर्माणको प्रयास भइरहेको सजिलै बुझ्न सकिन्छ । समाजवादी केन्द्र निर्माणका अनेकौं कारण र औचित्य पुष्टि गर्ने प्रयास त हुने नै छन् तर प्रमुख विषय काँग्रेस र एमालेको बिचमा रहेका नेताहरुले आफ्नो औचित्य पुष्टि गर्ने हतियार समाजवादी केन्द्र बन्न सक्ने बुझाई अनुसार यसको बहस अघि बढेको देखिन्छ । यसको गठन देशको हित, विकास र आम जनताको सरोकार सम्बोधनको विषयमा खासै केन्द्रित हुने देखिदैन ।

यसको अर्को पक्ष अहिले राजनीतिक दल र पुराना नेताहरुप्रति देखिको वितिष्णा, केहि नया दलहरुको स्थापनाले पुराना दलहरुलाई दिएको चुनौतीको पृष्ठभूमि, राप्रपाप्रति थोरै भएपनि देखिएको सद्भाव जस्ता विषयहरुले समाजवादी केन्द्र बनेपनि बाटो सजिलो देखिदैन ।            

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै