नयाँ वर्षका दुई चिन्तनमूलक निबन्धहरू

kharibot

नयाँ वर्षका दुई चिन्तनमूलक निबन्धहरू :

१. नयाँ वर्ष — नयाँ यात्रा 

–  यो बाटो कहाँ जान्छ ?
– यात्रुको प्रश्नमा ऊ मुस्कुरायो, बाटो त यहीँ रहन्छ, जानु पर्ने त तपाईँलाई हो, तपाईँ कहाँ जानु हुन्छ ?
– प्रतिप्रश्नमा यात्रु अलमलियो
– अल्मलाइ दिशाबोधको ! अल्मलाइ निर्णयको ! अल्मलाइ लक्षको !
– अँध्यारो कोठामा हरेक दिशा निभेको हुन्छ, रहस्यमय हुन्छ, दृष्टिबिहिन व्यक्ति जता गए पनि ठोकिन्छ, घाउ लाग्छ, रुमलिन्छ
– ठक्कर अबोधताले लाग्दछ, घाउ त्यसैको सदृश्य प्रमाण हो, रुमल्याइको अन्त्य सहज छैन
– सहज छैन ! मतलब समर्पण ?
– मनिसले कहिले समर्पण गरेको छ ?
– हरेक जीवलाई प्रकृतिको प्रत्यक्ष असर पर्दछ, मानिसलाई पनि
– रुखविरुवाका पात झर्छन् पलाउँछन् तर मानिस सदाबहार छ
– ऊ प्रकृतिसँग पौँठेजोरी खेल्छ, काँटछाँट गर्छ र प्रकृतिलाई छकाउँछ
– र जित्छ पनि, जित्न नसके आफूलाई प्रकृतिको अनुकूल बनाउँछ र गिज्याउँछ प्रकृतिलाई
– कहाँबाट सिक्यो यो कला ? कहाँबाट प्राप्त गर्‍यो यो ज्ञान ? कहाँबाट पायो यो दुस्साहस ?
– विगतलाई उसले भुलेको छैन । विगतका एक एक क्षणलाई रेसा बनाएर बटारेको छ, त्यसैबाट बलियो डोरी बनाएको छ, त्यसैलाई चकमक बनाएको छ
– डोरी बलियो छ, उसको र भावी पुस्ताको पनि भार  बहन गर्नसक्ने ताकत छ डोरीमा ।
– चकमक अक्षुण छ 
– कोर्यो चकमक, सल्कायो विगतका बचेका झुरा सल्कायो, ततायो आफूलाई, पगाल्यो हिउँ
– अहा ! कति सजिलै टेक्यो सगरको माथमा ! कति सहजै पछार्यो प्रकृतिलाई
– विगत अँध्यारो रहेन, हो, आगत अवश्य अँध्यारो छ
– तर कतिन्जेल ?
– आज फेरि यही प्रश्न तेर्सिएको छ तिम्रो सामु
– कतिन्जेल यात्रु ?
– अँध्यारो कोठामा अल्मलिने ? ठोकिने ? आफैलाई आहत गर्ने ?
– कतिन्जेल यही क्रिया पुनरावृती गर्ने ?
– अबोधतामा यात्रालाई कतिन्जेल रोक्ने ?
– के अन्त यहीँ तोक्ने ?
– या आक्रान्त छौ भयले ?
– भय किन ? भय के को ?
– अन्धकारको ?
– अन्धकार कहाँ छैन ? धवल गिरिका खोँच, कन्दरामा पनि अन्धकार छ
– सानो किस्सा जोडछु यहाँ
– हिमालयको कुनै स्थानमा दुई योगी भेटिए, कुटीमा गए, कुटी बाहिर ईश्वर प्रतिमा  थियो
– हिमपात सुरु भयो
– दुवैमा होड थियो प्रभुभक्तिको
– हिमपातमा जुधेर लागे प्रतिमा बचाउँन, कठै हिउँका ज्वाला कतिन्जेल थेग्न सक्थे !
– भष्म भए
– हिउँले छोपिएका तीन प्रतिमा अवतरण भयो
– के बुझ्यौ ?- हो, अन्धकार थियो दुवै भित्र, कोरा भक्तिको
– सत्य कोरा संवेदनालाई विश्वास गर्दैन
– गहुँको बीज माटो माथि जति रहे पनि अंकुरण हुँदैन
– आत्मसात गर्नुपर्छ माटोलाई तब श्रृष्टिले परिधान लगाउँछे
– अंधकार त भ्रम मात्र हो तर ज्ञान त यहाँ पनि लुकेको छ
-- अन्धकारमा पनि आँखाले कालाे रङ्ग देख्छ 
– रङ्ग चिन्न सक्ने पहिलो संज्ञा नै अंधकार होइन र ?
– ज्ञान र विवेक अन्धकार कै उपज हुन्
– भलै धवल गिरी किन नहोस् यसका पनि खोंच छन्
– अँध्यारो यस्तै खोँचमा बस्छन्
– अध्यारो निर्जन गुफा र खाडलमै बास गर्छन्
– खैँच समयको लगामलाई, फाल डोरी र निस्क खाडलबाट
– हैन भने निकाल चकमक, रगड त्यसलाई, भगाऊ विशाल मुख बाएका अन्धकारका राक्षस
– दिशाबोध तत्क्षण हुनेछ- दिशाबोध हुनेछ, अर्थात् विवेकले सारथी पाउँनेछ
– सारथी युक्त विवेकको रथको पाङ्ग्राले लक्षलाई नाप्ने छ
– बहिर हेर त !
– चम्किलो सूर्य देखेर केही याद आयो ?
– हो, तिम्रै चकमकबाट निस्केको हो यो
– यसका सहस्र बाहुहरूले तिमीलाई सहारा दिनेछन्, मार्गनिर्देश गर्नेछन्
– च्याप विगतलाई खोकिलामा, इतिहास झैँ यो भविष्यमा काम लाग्नेछ
– बढ अगाडी उज्यालो तिर
– स्वागत गर नयाँ वर्षलाई
– तिम्रो कल्याण सुनिश्चित छ

२. नयाँ वर्ष – नयाँ बाटो

— एकनास चलिरहेको समय फेरि नयाँ आवरण ओढ्न तत्पर भएर सँघारमा उभिएको छ
— आवरण समय ओढन तत्पर हो, या हामी ओढाउँन लालायित ?
— कतै नयाँ गर्ने उत्साहमा या परिवर्तनको चाहनामा समयलाई नयाँ आवरण ओढाउँन उद्दत भएका त हैनौं ?

— शब्दले बेरे पनि, परिभाषामा बाँधे पनि गतिशील समय कहिले बाँधिएको छ र !
— बाँधिएका त हामी छौँ, मृगतृष्णामा ! जो गतिशील समयलाई नयाँ जामा पहिर्याएर नयाँ बनाउछौँ र आफै प्रफुल्ल बन्दछौं ।
— प्रफुल्ल हुन्छौँ, लाखौँ लाख हिँडेका धुलौटे गोरेटोमा आफूलाई डोर्याएर 
— हो, धुलौटे गोरेटो जहाँ लाखौँ पदचिन्हहरू छापिए, मेटिए, छापिए मेटिए अन्ततः बाटो भनेर कहलाईयो 
— बाटो मतलब …लक्ष निश्चित… आयाम सङ्कुचित… परिणाम पूर्व कल्पित 
— बाटो याने कि … सजिलो सुविधा…. सजिलो सफलता … पुरानो वर्णन …

— बाटो यही मात्र हो त !
— यदि हो भने परिवर्तन किन चाहियो ? नयाँ जामा किन सिलाउनु पर्‍यो ?
— बाटो यो मात्र हैन भने खै त प्रयत्न नयाँ बाटो बनाउँने !
— पुरानो बाटो जो बुङबुङ्ती धुलो उडाउँछ,
— ती उडेको धुलोमा कयौँ अस्तित्व मिलेका छन् 
— बिना यत्नका अस्तित्व जसले कहिल्यै फर्किएर आफ्ना पदछाप हेरेनन्, हेर्न पाएनन् 
— छाप छोड्न या हेर्न नपाउनुको पछाडिको बाक्लो संकिर्णतामा कहिले आरी चलाउँने ?
— किन नबनाउँने नयाँ बाटो र नहेर्ने नयाँ बाटोमा बनेका आफ्ना पदछापहरू !
— पदछापहरू जस्लाई लाखौँले अवश्य पछ्याउनेछन् 

— विजय पराजय त समयको धुरीमा घुमिरहन्छन् 
— समयको धुरी चेतन मस्तिष्कले देख्छ र प्रयत्नशील हातरहरूले रोक्छ
— र टिप्दछ, मनले चाहेको फल
— आवश्यकता छ केवल एक दृढसंकल्पको 
— छरिएर रहेका आत्मबललाई केन्द्रिकृत गर्नु कुनै ठूलो कार्य होइन 
— हरेक समय शुभ समय हो 
— ता पनि हाम्रो खुसीको लागि
— यसै समयलाई शुभ समय मानौं र सुरुवात गरौँ हिँडन
— नयाँ बाटो ।

नयाँ वर्षको मङ्गलमय शुभ-कामना

सम्बन्धित समाचार