• २०८१ बैशाख २४ सोमबार

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै

kharibot

तनहुँ। तनहुँको भीमाद नगरपालिका–७ र ९ को सिमानामा रहेको सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त गुफाको विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माण कार्य अघि बढाएको हो ।

गुफाभित्र चुन पग्लेर बनेका विभिन्न आकृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको छ ।

उक्त गुफाको विकास गर्न भीमाद नगरपालिकाले रु तीन करोड विनियोजन गरी विभिन्न संरचना निर्माणको काम गरिरहेको छ ।

सिद्धगुफामा प्रवेशद्धार, गुफासम्म जाने मार्गमा कालोपत्र, टिकट काट्ने घर, व्यवस्थित शौचालयलगायतका संरचना निर्माण भइरहेका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।  

कोभिड–१९ अघि आन्तरिक पर्यटक चहलपहल बढेको थियो । पछिल्लो समय भने सो सङ्ख्या घटेको नगरप्रमुख सुवेदीको भनाइ छ ।

उनले भने “अहिले गुफा परिसरमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् ।” पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो पहलकदमी गर्दैआएको प्रमुख सुवेदी बताउछन् । 

बिदाका दिनमा गुफाको अवलोकन गर्न दैनिक दुई सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन् । गुफाभित्र तीन तलासम्म हिँड्डुल गर्न मिल्छ ।

गुफाको प्रत्येक तलामा आकर्षक चित्रहरु रहेका छन् । गुफाभित्र प्राकृतिक रुपमा बनेका विभिन्न आकृति देख्न सकिन्छ । 

गुफा नजिकै चमेरो गुफा पनि छ। चमेरो गुफा करिब तीन किलोमिटर लामो छ । चमेरो गुफाभित्र पातालगङ्गा रहेको छ ।

पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँ जिल्लाको व्यापारिक केन्द्र भिमाद बजारदेखि चार किलोमिटर पश्चिममा सिद्धगुफा पर्दछ ।

पृथ्वी राजमार्गको खैरेनीटारबाट सात किलोमिटर दक्षिणमा रहेको भिमाद बजारको पश्चिमतर्फ बगेको जिदीखोलामा पुगेपछि मिर्दी–भिमाद मोटरमार्ग र सिद्ध गुफा मोटरमार्ग छुट्टिन्छ । 

जिदीखोलाको किनार हँुदै पश्चिम दिशातर्फ गएपछि भिमाद–९ धन्दुर मरुवा चौतारी पुगिन्छ । यहीँबाट सिद्धगुफा क्षेत्र आरम्भ हुन्छ । सिद्ध गुफाको चारैतिर वनजङ्गल क्षेत्र छ । यहाँको मनोरम दृश्यले जो कोही पर्यटक पनि लोभिन्छन् ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै