• २०८१ बैशाख २३ आइतबार

एपिएफ जीतपुरसिमरा गोल्डकपको फाईनलमा

kharibot

बारा । बाराको सिमरामा जारी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको बिहिवारको खेलमा विभागिय टिम नेपाल एपीएफ क्लब फाईनलमा प्रवेश गरेको छ । जिल्लाको सिमरा रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा सर्लाहीको बाग्मती युवा क्लबाई ४-१ ले पन्छाउँदै एपीएफ फाईनलमा प्रवेश गरेको हो । 

एपीएफले अब उपाधीका लागि न्युरोड टिम (एनआरटी) क्लबसंग शनिवार खेल्ने छ ।   

आयोजकलाई ३-२ ले पराजित गर्दै एनआरटी यस अघि नैं प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ । 

फाईनल यात्रा तय गर्ने क्रममा एपीएफका लागि अर्माण्ड बेडमले दुई गोल गरे भने सविन गुरुङ्ग र प्रदिप लामाले एक-एक गोल गरे । बाग्मतीका लागि भने अनिल राना मगरले गोल फर्काए । 

बाग्मतीमाथि सहज जित हात पार्ने क्रममा एपीएफले खेलको १२औं मिनेंटमा सविन गुरुङ्गको गोलबाट अग्रता लिएको थियो । डि-बक्स भित्र पाएको बललाई सविनले गोल गरेका थिए । बाग्मतीको रक्षापंक्ती सम्हालिन नसक्दा सविनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । 

बिएफसी चितवनलाई २-१ र साविक बिजेता संकटा क्लबलाई १-० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको बाग्मतीलाई उपाधी दावेदारका रुपमा हेरिएको थियो । तर, महत्वपूर्ण सेमिफाईनल खेलमा ए डिभिजनको विभागिय टिम एपीएफसंग आकर्षक खेल प्रदर्शन गर्न नसकेपछि बाग्मती अन्तिम चारबाटै घर फर्कन बाध्य भएको हो । 

खेलको सुरुवातमै अग्रता लिएको एपीएफले खेलको १६औं मिनेटमा दोस्रो गोल गरेको थियो । अर्माण्ड बेडमले एपीएफका लागि गोल गर्दै खेल २-० को स्थितीमा पुर्याएका थिए । 

अघिल्ला दुई खेलमा आकर्षक खेल प्रदर्शन गर्दै घरेलु दर्शकको मन जितेको बाग्मतीले एपीएफ विरुद्ध राम्रो सुरुवात गर्न सकेन् । 

सुरुवात देखी नैं तालमेलको खोजीमा रहेको बाग्मती विरुद्ध एपीएफले दवाव कायम राख्दै स्कोर निकालेको थियो । एपीएफ विरुद्ध दुई गोलले पछि परेपछि दवावमा देखिएको बाग्मतीले खेलको ३६औं मिनेटमा गोल गर्न अवसर गुमाएको थियो ।   

बाग्मतीका कोएरा फ्लोरेन्टले मिलाएको पासलाई सदुपयोग गर्न दीपेश चाम्लिङ्ग राई चुके । डि-बक्स भित्र पाएको उत्कृष्ट अवसर सदुपयोग गर्न दिपेश असफल देखिए । उनको प्रहार क्रसबार माथीबाट बाहिरियो । 

त्यस लगत्तै बनाएको अर्को अवसरमा भने बाग्मती सफल भयो । अनिल राना मगरले उत्कृष्ट गोल गर्दै बाग्मतीलाई खेलमा फर्काउने प्रयास गरे । उनको प्रहारलाई नियन्त्रणमा लिन एपीएफका गोल रक्षक राजु नगरकोटी असफल देखिए् । 
हिमालयन शेर्पा विरुद्ध ३-२ को जित निकाल्दै सेमिफाईनल प्रवेश गरको एपीएफले पहिलो हाफको ईन्जुरी समयमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकेन् ।

बाग्मतीबाट खेलेका थ्रि-स्टारका गोलरक्षक प्रिसोले बिके तामाङ्गलाई लडाए पछि रेफ्री प्रकाशननाथ श्रेष्ठले एपीएफलाई पेनाल्टी अवसर दिएका थिए । पेनाल्टीमा एपीएफका आभाष लामिछाने गोल गर्न चुके । उनको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे । 

पेनाल्टी मार्फत अग्रता बढाउने अवसर गुमाएको एपीएफले खेलको ७९ औं मिनेंटमा तेस्रो गोल थपेको थियो । अर्माण्ड बेडमले उत्कृष्ट हेडमार्फत गोल गर्दै एपीएफलाई ३-१ को स्थितीमा पुर्याएका हुन् ।   

टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका अर्माण्डको हेडर प्रशंसा गर्न लायक थियो । जारी प्रतियोगितामा बेडमको यो तेस्रो गोल हो । बेडमले यसअघि शेर्पाविरुद्ध पनि एक गोल गरेका थिए । 

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि फिनिसिङ्गमा चुकेको बाग्मतीले खेलको ८३औं मिनेंटमा चौथो गोल खान पुग्यो । एपीएफका प्रदिप लामाले डि-बक्स भित्र प्राप्त बललाई गोलमा परिणत गरे । उनको प्रहारलाई बाग्मतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् । 

खेलको अन्तिम समयमा लगातार दुई गोल खाए पछि दवावमा परेको बाग्मतीले अन्ततः ४-१ पराजय आत्मसाथ गर्न बाध्य भयो । एपीएफको जितमा उत्कृष्ट प्रदर्शन गरेका प्रदिप लामा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । 

एपीएफ जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । यसअघि दोस्रो संस्करणमा फाईनलमा प्रवेश गरेको एपीएफ हिमालय शेर्पासंग पराजित हुँदा उपविजेता बनेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै