• २०८१ बैशाख १८ मंगलबार

वाम गठबन्धन तोड्ने एमाले नेताको असफल प्रयास, प्रचण्डको खुलासापछि तरंग !

kharibot

काठमाडौँ । वाम गठबन्धन तोड्न आफूलाई ठूलठूला अफर आएको तर आफू  दायाँबायाँ गर्दिनँ भन्नेमा दृढ रहेका बताउदै गर्दा माओवादी केन्द्रका अध्यक्ष तथा वाम गठबन्धनका एकजना शक्तिशाली नेता प्रचण्डले अर्को साझदेर वाम दल नेकपा एमालेमाथि फोरमसँग मिलेर सरकार बनाउने कोसिस भएको खुलासा गरेका छन ।

एकातिर वर्तमान सरकारले राष्टिय सभा गठन संवन्धी अध्यादेश जारी गर्न लिएको अडान, वाम दल एमाले र माओवादीका नेताहरुका आआफ्नै डम्फु र माओवादी नै संसदीय अंकगणीतको रियल सत्ता खेलाडी बनिरहेका बेला प्रचण्डको यो आरोप सार्वजनिक भएको छ ।

८ पुसमा नवलपरासी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेमाथि फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाउदै गर्दा जनताले सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको मात्रै भनेनन्, आफ्नो ईशारा बिना सरकार बनाउने सपना नदेख्न एमाले र खासगरी भावी प्रधानमन्त्री केपी ओलीलाई घुमाउरो पारामा चुनौति दिए ।

के भावी सरकारको चाबी प्रचण्ड दाबी जस्तै माओवादीसँग मात्रै छ त ? यो संसदीय अंकगणित माओवादीलाई पछिल्लो मतादेशले मिलेको एक अवसर हो  नै । किनकी उ तेस्रो शक्तिशाली दलमा उदाएको छ, जनताको मतमा । नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भएपनि माओवादी निर्णायक रहेको बताएर एमालेको दम्भप्रति आफ्नो आक्रोश पोखेको स्पष्टै छ । एमाले पहिलो दल भएको पनि सत्य हो । तर माओवादीसँगै गठबन्धन गरेर मात्रै एमाले पहिलो र ठूलो दल बन्न सकेकोले अब माओवादीलाई नरिझाएसम्म एमाले एकलैले भावी सत्तारोहण सहज र सुरक्षित बनाउन नसक्ने पनि उत्तिकै छर्लंग छ । एमालेले प्रचण्डलाई माइनस गरेर उपेन्द्र यादवसँग मिलेर यदि नयाँ सरकार बनाउन खोजेकै हो भन्ने प्रचण्ड दाबी सही हो भने निश्चित छ वाम एकता त भ्यागुताको धार्नी हुने नै छ, स्थिर सरकारको वाम गठबन्धनको नारा पनि हात्ति आयो हात्ति आयो फुस्सा साबित हुने संभवना पनि उत्तिकै छ ।  ।

समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको प्रचण्ड विश्लेषण एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ लक्षित थियो, जसले पार्टी एकतापछि पनि केपी ओली नै पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री हुनुपर्ने अडान सहितको लविंग अघि बढाईरहेका छन ।

देशका भूतपूर्व प्रधानमन्त्री, शक्तिशाली एकजना वाम नेता र देशको राजनीतिका सबैभन्दा सक्रिय र चतुर नेता हुन प्रचण्ड । त्यसैले संघीय समाजवादी फोरमसँग मिलेर एमाले सत्तामा जान र प्रचण्डलाई साईजमा राख्न उद्यत छ भन्ने प्रचण्ड अनुभुति भरपर्दा सूचनाहरु पाएपछिको अभिव्यक्ति नै हुनुपर्छ । प्रचण्डलाई एमालेभित्रैका एकतापन्थीहरुले नै यस्तो सूचना दिएका हुन सक्छन । नत्र प्रचण्ड वाम गठबन्धन यसरी सत्तारोहणको आखिरी घडीमा एमालेविरुद्ध कटाक्ष गर्नेगरी प्रश्तुत हुदैनथे । प्रचण्डका शव्दमा ‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने अबस्था छैन भन्ने भएपछि माओवादी विना वामपन्थीको सरकार बन्दैन’ उनले भने, ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’

माओवादी अध्यक्ष प्रचण्डले आफूहरु भने पार्टी एकताबारे कुनै दुविधामा नरहेको दाबी मात्रै रेका छैनन्, आफ्नै प्रस्तावमा नै वाम गठबन्धन र एकता भएकाले त्यसलाई निष्कर्षमा र्पुयाउने जिम्मेवारी आफ्नै भएको  स्वीकारेका छन । ‘हामी दुविधामा छैनौं । पार्टी एकता बनाइ छाड्ने, सरकार पनि स्थिर बनाउने तथा विकास निर्माण र समाजवादतिर देशलाई लैजाने भन्नेमा हामीले कहिँ कतै दायाँबायाँ सोच्ने कुरा छैन ।’ भन्ने प्रचण्ड गर्जन आफू हिरो र एमालेलाई जिरो देखाउने रणनीतिक चाल मात्रै नहुन सक्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई ५ वर्ष सरकारको नेतृत्व गर्न दिएको सत्ताअवसरका खबर पात नचली हावा चलेका प्रसंग होईन नै । र मधेशी दलहरु राजपा वा संघीय फोरम सत्ताको अवसर र अफर पाएमा प्रचण्डको वरिपरी वा अघिपछि लागेर सत्तारोहणमा आतुर नहुने दल अवश्यै होईनन् ।

अझ महत्वपूर्ण कुरा वाम गठबन्धन तोड्न ठूलठूला अफर आफूमा आएको प्रचण्ड खुलासा उनले दक्षिण्तिर आफ्नो अझै बलियो पकडको संवन्ध र शक्ति छ भन्ने मनोवैज्ञानिक चुनौति समेत एमालेलाई पेश गरेको अर्थका रुपमा बुझ्न सकिन्छ । किन भने एमाले अध्यक्ष केपी ओली उत्तरी र प्रचण्ड दक्षिणी रोजाईका वाम गठबन्धनका घटक हुन भन्ने तथ्य नेपाली राजनीतिको धरातलीय यथार्थ र ओपन सेक्रेट नै हो ।

प्रचण्डलाई वाम गठबन्धनरहित सरकारको नेतृत्वको अवसर यदि कसैले दिएको छ भने त्यो दक्षिण नै हुनुपर्छ । किन भने उत्तरले यो प्रश्ताव प्रचण्डसंग गर्ने कुरा अकल्पनीय हो । तर प्रचण्ड स्तरको नेताले आफूलाई गैर वाम गठबन्धनको सरकार बनाउन ठूलठूला अफर आएकोसम्म नै भन्नु तर अफर दिनेहरुबारे मौनता साध्नु चाहि उनको ईमान्दार अभिव्यक्ति होईन नै ।

माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धन तोड्न ठूलठूला अफर आएको सुनाएर मात्रै आफू जनप्रेमी र स्थिरतावादी एकताको सूत्रधार रहेको दाबी गरेर पुग्दैन । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत समर्थनको प्रस्ताव गरेको भन्दै गर्दा कांग्रेसका तर्फबाट ५ वर्ष माओवादी एक्लैको सरकार बनोस, हामी समर्थन गर्छौं भन्ने आएको भनेर एमालेलाई साईजमा राख्न खोजेका हुन की यो साच्चो कुरो भन्ने पनि उनले स्पष्ट पार्न जरुरी छ । संसदीय राजनीतिका खल्ली खेलाडी देउवासँग सत्ता-सहयात्रामा नै दुखान्त बिछोड गरेका प्रचण्ड देउवा सत्ता साईनो एमालेकै दम्भलाई चिर्न पुर्नमिलन हुने वा वाम अधिनायकवादको खतराको बार लगाउन भन्ने पनि स्पष्ट हुन जरुरी छ नै ।

जसले जे अर्थ निकाले पनि पछिल्लो प्रचण्ड अभिव्यक्ति वाम एकताको आकाशमा लाग्दै गरेको बादल र केपी ओली सत्तारोहणमा लाग्न लागेको ग्रहणको पूर्व छनक भने अवश्य हो । जे बोलिन्छ, त्यो गरिदैन र जे गरिन्छ त्यो बोलिदैन भन्नेमा मात्रै प्रचण्डका पछिल्ला अभिव्यक्ति सीमित हुने खालका अवश्य नै छैनन् । जुनसुकै हिसाबले आफू शक्तिमा रहिरहनुपर्ने प्रचण्ड चरित्र यदि एमालेको काबुमा थन्किन मन्जुर भएन भने निश्चित छ एमालेको वाम सरकार नबन्दै संकटमा मात्रै पर्ने छैन, गैर वाम सरकारमा फेरि प्रचण्ड हालीमुहाली बढ्न सक्ने र फेरि पनि एमालेरहित सत्ता राजनीतिको अभ्यासको गति बढ्न सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय