चितवन, भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र र कांग्रेसकी संयुक्त उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएकी छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयर उम्मेदवार रेणु दाहाल २०३ मतअन्तरले विजयी भएकी छन् ।
शनिबार राति घोषित मतपरिणामअनुसार प्रमुखमा विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् ।
यस्तै, भरतपुर महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका दिव्यशर्मा आचार्यले ३९ हजार ५२५ मत पाएकी छन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् भरतपुर महानगरमा गत वैशाख ३१ गते मतदान सम्पन्न भएको थियो । भरतपुरमा २९ वडा रहेकोमा वडा नम्बर–१९ मा मतगणनाकाक्रममा मतपत्र च्यातेपछि शुक्रबार पुनः मतदान भएपछि मतगणना भएको थियो ।