• २०८१ बैशाख १६ आइतबार

भरतपुर महानगरले पायो महिला नेतृत्व, को हुन् रेणु र पार्वती ?

kharibot

मेयर र उपमेयरमा निर्वाचित रेणु दाहाल र पार्वती शाह

भरतपुर महानगरपालिकाको नेतृत्व महिलाको हातमा पुगेको छ । शनिबार राति सम्पन्न मत गणनामा मेयर पदमा रेणु दाहाल र उपमेयरमा पार्वती शाह विजयी भएसँगै महानगरले महिला नेतृत्व पाएको हो ।

शनिबार राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार दाहाल ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका छन् । ज्ञवाली दाहालसँग २०३ मतले पराजित भएका छन् । 

मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गरेका ज्ञवाली वडा नं २० को मतगणना भइरहँदा पछाडि परेका थिए । वडा नं २० को गणना अन्तिममा गरिएको थियो । यस्तै, राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गरेका छन् । 

यसैगरी, भरतपुर महानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी पार्वती शाह विजयी भएकी छन् । उनले ४७ हजार १९७ मत प्राप्त गरेकी छन्  भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेकी छन् । यस्तै, राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गरेकी छन्। 

भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन । 

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि गन्न बाँकी २० नं वडाको पनि गणना भएको थिएन । उक्त मत पनि आज गणना गरिएको हो । 

एमालेले तत्काल मतगणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा पुनः मतदान गराउन माग गरेका थिए । निर्वाचन आयोगले पनि मतदानकै पक्षमा निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । सर्वाेच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर–१९ मा पुनः मतदान भएको हो । 

पुनः मतदानबाट काँग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई फाइदा पुगेको छ । भरतपुर–१९ को मतपत्र च्यातिएपछि काँग्रेस–माओवादी केन्द्र गठबन्धनले संयुक्तरुपमा चुनाव प्रचारप्रसार गरेर अभियान नै चलाएका थिए । महानगरमा एकलाख ५० हजार २७४ मतदाता थिए । 

विजयी भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रमुख रेणु दाहालले भरतपुरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाइने बताइन् । जुन दलबाट उम्मेदवार भएपनि अब आफू साझा भएको भन्दै उनले समृद्ध महानगर बनाउन सबै दलसँग हातेमालो गरेर अघि बढ्ने प्रतिक्रिया दिइन्  । प्राकृतिक सम्पदाले धनी महानगरका स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिइने उनको भनाइ थियो । 

उपप्रमुखमा विजयी शाहले देशको मध्यभागमा रहेको महानगरलाई न्याय र समानताका लागि चिनाउने बताइन् । महानगरमा प्रमुख र उपप्रमुख दुवैमा महिला विजयी भएको भन्दै उनले महिला हक अधिकारका लागि कोही वञ्चित हुनु नपर्ने बताइन् ।

को हुन् रेणु दाहाल र पार्वती शाह ?

२०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन । २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत भएकी थिइन् । 

प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव हुन । दाहाल काठमाडौँका जिल्ला सहसचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य हुन । 

चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बननकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् । 

दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उनका एक छोरा र एक छोरी छन् । उनी भरतपुर महानगरपालिका–१० मा बस्दै आएकी छन्  । 

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउछिन् । नेपाली काँग्रेसको प्रभाव रहेको महानगरमा काँग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी भएकी छन् । 

जिल्ला बाहिर बसेर राजनीति गर्दै आएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो । 

यस्तै, विसं २०२४ भदौ ४ गते साविकको गुञ्जनगर गाविस–४ (भरतपुर महानगरपालिका–१८) मा जन्मिएकी उपप्रमुख शाहले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन्  । बुबा कृष्णबहादुर शाह र आमा देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मेकी शाहले कक्षा दश सम्मको अध्ययन गाउँमै गरेकी छन् ।

प्रवीणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी शाह साविक भरतपुर नगरपालिका–१२ को तरुणदल अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हुँदै काठमाडौँमा गठित नारायणी–बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्षसमेत भएर काम गरिसकेकी  छन्

उनि नेपाल महिला संघ, चितवनको अध्यक्ष हुन्  । शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारीसमेत वहन गरिसकेकी छन् । विसं २०६२÷०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताएकी शाह नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिसकेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै