• २०८१ श्रावण १२ शनिबार

दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

kharibot

काठमाडौं । दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर विक रहेका छन् । उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम संकलन गरेको पाइएको छ। क्यानडाको लागि उनीहरूले २२ देखि ३० लाख रुपैयाँसम्म उठाउँथे । अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ । यी तिनै जना नयाँदिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी गर्ने गर्थे। उनीहरूले नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राख्ने गरेका थिए ।

शेर्पात्रयलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । अमेरिका लैजाँदा उनीहरूले दुबई ट्रान्जिट बनाउने गर्ने। त्यहाँबाट केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसेर ६ देखि ९ महिनासम्म पीडितलाई अलपत्र पारेर राखेको पाइएको भट्टराईले बताए।

‘केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको अनुसन्धानमा खुलेको छ,’ भट्टराईले भने । अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेको खुलेको छ । तामाङ, बराल र विक दिल्लीको पहाडगञ्जस्थित होटलमा बस्ने गर्थे ।

‘उनीहरूले पीडितहरू अमेरिका प्रवेकलगत्तै जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुनी व्यवसायी प्रयोग गरी जेलमुक्त गरेर रोजगारीमा लगाउने भन्दै पहिले नै विश्वासमा पार्ने गरेको थाहा भएको छ,’ भट्टराईले भने । पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै