• २०८१ जेठ ४ शुक्रबार

अमेरिकाको सहयोगमा चार नारायण मन्दिरको जीर्णोद्धार हुदै

kharibot

काठमाडौँ । पाटन दरबार क्षेत्रमा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत अलाइना बी. टेप्लिज र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालद्वारा ऐतिहासिक चार नारायण मन्दिरको जीर्णोद्धार कार्यको उद्‍घाटन गरिएको छ । 

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत दूतावासले २०७२ सालको भूकम्पबाट क्षति पुगेको यस मन्दिरको जीर्णोद्धारको लागि सहयोगार्थ स्वरूप १ लाख अमेरिकी डलर काठमाडौँ उपत्यका संरक्षण कोषलाई प्रदान गरेको छ।

अन्य दाताहरूको समयोजनमा, यस परियोजनाले मल्लकालीन चार नारायण मन्दिरलाई स्थिर र भूकम्प प्रतिरोधी बनाउनुका साथै त्यसको मर्मतका लागि अत्यावश्यक जीर्णोद्धार कार्यलाई सहयोग गर्नेछ। सन् १५६६ मा निर्मित यो मन्दिर भगवान् विष्णुको लागि समर्पित छ र नेवारी वास्तुकलाको एक महत्वपूर्ण तथा अत्यधिक विकसित अभिव्यक्तिको रूपमा रहेको छ । यस मन्दिरको जीर्णोद्धार कार्य दुई वर्षभित्र सकिने अपेक्षा गरिएको छ।

“सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको माध्यमद्वारा गरिने हाम्रो कामले हाम्रा राष्ट्रहरूबीचको बलियो, सक्रिय साझेदारी तथा नेपालको विविधता र समृद्ध सम्पदाप्रति रहेको हाम्रो आदर झल्काउँछ,” राजदूत टेप्लिजले भन्नुभयो। “हाम्रा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाउँदै गर्दा म खुशीसाथ चार नारायण मन्दिरको जीर्णोद्धार कार्यलाई हाम्रो मित्रताको मूर्त प्रतीकको रूपमा उद्‌घाटन गर्न चाहन्छु।”

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष विकासमूलक देशहरूलाई सांस्कृतिक संरक्षणसम्बन्धी प्रत्यक्ष अनुदान दिने एक मात्र कार्यक्रम हो। अमेरिकी दूतावासले एएफसीपी कार्यक्रमद्वारा नेपालमा सन् २००३ देखि संसारको सबैभन्दा बढी २२ वटा परियोजनालाई सहयोग गरेको छ।

कुल ३४ लाख अमेरिकी डलरको लगानी रहेको एएफसीपी कार्यक्रममार्फत यस बाहेक नेपालमा ऐतिहासिक पाटन राजदरबार, मुस्ताङको प्राचीन बौद्ध छोर्तेन, माचली पाटीको महत्वपूर्ण हिन्दुस्थलको जीर्णोद्धार र ११औं शताब्दीको रिन्छेन्लिन् गुम्बालगायतको संरक्षण गरिएको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय