• २०८१ असार ४ मंगलबार

नेपालका तीन खेलाडीले एसियाली पारा तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने

kharibot

काठमाडौँ । नवौ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप २०२४ मा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७, भरतसिंह महताले पुरुष ५८, र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । उक्त प्रतियोगितामा विभिन्न ३१ राष्ट्रका खेलाडीले सहभागिता जनाउने बताइएको छ ।

पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन् । छनोटचरण पार गरेर पारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशा पहिलो र एकमात्र खेलाडी हुन् । पलेशा चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन्।

उनी चौथो एसियाली पारा खेलकुदको कांस्य पदक विजेता पनि हुन् । पारा एसियाली खेलकुदमा नेपालले सो पदकमात्र हासिल गरेको थियो । पलेशाले सन् २०२१ मा बहराईनमा भएको युथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामाले जानकारी दिए । एसियन च्याम्पिनसिपबाट र्याङकिङमा आउन र र्‍याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो ।

प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्यपदक छन् ।

सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज भियतनामको दनाङ प्रस्थान गर्नेछन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाई गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै