• २०८१ बैशाख १८ मंगलबार

प्रदेश २ को निर्वाचन : संविधान संशोधनको पक्षमा नयाँ जनादेश

kharibot

काठमाडौँ । गएको भदौ ५ मा संविधान संशोधन प्रस्ताव विफल पार्ने संसद्को निर्णयका बाबजुद मधेशी दलहरु राजपा र संघीय समाजवादी पार्टी स्थानीय चुनावमा सहभागी भए । सहभागी मात्रै भएन्न, संघीय समाजवादी दोस्रो र राजपा तेस्रो स्थानमा विजयी भए । संविधान संशोधनको पक्षमा नेतृत्व गरेको मुख्य सत्तारुढ दल कांग्रेस त २ नम्बर प्रदेशमा पहिलो दल नै भयो । चौँथो भए पनि संशोधनको एक हिमायती माओवादी केन्द्र पनि मधेशी दलकै हाराहारीमा विजयी भयो ।

यदि असोज २ को स्थानीय चुनाव दलहरुको संविधान संशोधनका पक्षमा वा विपक्षमा रहेको अडानको मिनि जनमत संग्रह नै मान्ने हो भने संविधान संशोधनका पक्षमा भारी जनसमर्थन प्रदेश २ का मतदाताले दिए । किनभने कांग्रेस, माओवादीका अलावा राजपा र संघीय समाजवादीले पाएको कुल मत संविधान संशोधनका पक्षमा दुई तिहाइ मतबराबर नै हो । जबकि संविधान संशोधनको विपक्षमा नेतृत्व गरेको मुख्य विपक्षी नेकपा एमाले संघर्षपूर्वक पाचौँ दलमा मात्रै सीमित भयो ।

यस आधारमा संविधान संशोधनको लागि गरिएको २ नम्बर प्रदेशको मिनि जनमतसंग्रहले संविधानको सर्वस्वीकार्यता र पूर्ण कार्यान्वयनका लागि नयाँ जनादेश दिएको सन्देश स्थापित भएको छ ।

यस आधारमा संविधान संशोधनको लागि गरिएको २ नम्बर प्रदेशको मिनि जनमतसंग्रहले संविधानको सर्वस्वीकार्यता र पूर्ण कार्यान्वयनका लागि नयाँ जनादेश दिएको सन्देश स्थापित भएको छ ।

अबका दिनमा संविधान संशोधन बेकार छ, यो अनावश्यक र औचित्यहीन हो भन्ने एमाले अडान मधेशबाट पराजित भएको छ । वर्तमान संसद्को गणितका आधारमा संशोधन प्रस्ताव फेल गर्ने एमाले मधेशको चुनावमा फेलसरह मानिने गरी पाचौं हुनु र राप्रपा होस् वा अन्य साना संशोधनका विपक्षमा रहेका दल मधेशमा बढारिएको मतादेशले पनि संशोधनको आवश्यकता र औचित्यमाथि जनताको समर्थन रहेको तथ्य स्थापित गरेको छ ।

जगजाहेर सत्य हो, संविधान संशोधन नभए पनि जनमत बटुलेर संविधान संशोधनको फेल भएको प्रयासका बाबजुद संशोधनको मुद्दालाई मूल मुद्दा बनाएरै राजपा र संघीय समाजवादी यो चुनावी प्रतिस्पर्धामा सामेल भएका थिए । सत्तारुढ दल कांग्रेस, माओवादी र राजपा, संघीय समाजवादीको जित भनेको उनीहरुको मुद्दामा स्थानीय मधेशी मतदाताको ऐक्यबद्धता र समर्थन पनि हो । बहुमत मधेशी मतदाताले संशोधनका पक्षधर दलहरुलाई बहुमत स्थानीय तहमा जिताउनुको सिधा मतलब उनीहरु संशोधनका पक्षपाती दलको समर्थनमा रहेको नयाँ मतादेश नै हो ।

हो, २ असोजमा सम्पन्न तेस्रो तथा अन्तिम चरणको स्थानीय तहको चुनावी परिणाम लगभग समाप्त भइसक्दा राजनीतिक दलहरुलाई नयाँ हैसियत मिलेको छ । दलहरुले जनताबाट नयाँ मतादेशको सन्देश पाएका छन । जित्नेका लागि विजयोत्सवको दशैं र हार्नेहरुका लागि महादशा साबित भइरहेको देखिँदै छ । मतदान अघिसम्म अन्तिम चरणको स्थानीय चुनावमा सबै दलले पहिलो हुने हुंकार दिएका थिए । खासगरी कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादीको पहिलो हुने हुंकार मधेशी मूलका मतदाताको कठघरामा भने स्वीकृत हुनसकेन ।

मधेशलाई आफ्नो पकडसरह ठान्ने कांग्रेसका लागि अन्य दलको तुलनामा मधेशी जनताको मतादेश सन्तोषप्रद देखिए पनि एमालेका लागि  निराशाजनक रह्यो । मधेशी जनमन र भूगोलको एक्लो मसिहा दाबा गर्ने राजपाका लागि पछिल्लो मतादेश नहुनु मामाभन्दा कानो मामा जाति भन्नेभन्दा उपल्लोस्तरको हुनसकेन । संघीय समाजवादीका लागि बरु केही उत्साहजनक देखिएको अन्तिम चुनावी परिणाम माओवादीका लागि हैसियत थाहा पाउने राम्रो मौका बन्यो । एमालेका लागि केही महंगो ‘सबक’ बन्यो यही चुनाव ।

गढ भत्किँदै, हैसियत खुम्चेको कांग्रेस

मुख्य सत्तारुढ दल कांग्रेस २ नम्बरमा ३९ सिट जितेर पहिलो त भयो । तर कम्तीमा १०० स्थानमा कांग्रेस विजयी हुने दाबी गर्ने नेता विमलेन्द्र निधि भने आफ्नै गृह गाउँ मुखियापटीनुसहरनीया गाउँपालिकामा एमालेसँग वडामा नै पराजित भएर कमजोर साबित भए । अघिल्ला दुई चरणका स्थानीय चुनावमा एमालेको पछि पछि पछ्याउन विवश कांग्रेस २ नम्बर प्रदेशमा अरुलाई पछि पछि लगाउन सक्षम भयो । कांग्रेसलाई चुनौती दिन मूलतः राजपा र संघीय समाजवादी तथा माओवादी र एमाले फरक–फरक स्थानमा फरक–फरक शैलीमा बलियो देखिए । कांग्रेसले पुरानो साख मुस्किलले जोगाएर आफ्नो लाज ढाक्यो र २ नम्बरको मात्रै भए पनि पहिलो दल बन्यो । तर यो उसको मधेश पकड भत्किँदै गएको महंगो परिणाम हो ।

मुख्य सत्तारुढ दल कांग्रेस २ नम्बरमा ३९ सिट जितेर पहिलो त भयो । तर कम्तीमा १०० स्थानमा कांग्रेस विजयी हुने दाबी गर्ने नेता विमलेन्द्र निधि भने आफ्नै गृह गाउँ मुखियापटीनुसहरनीया गाउँपालिकामा एमालेसँग वडामा नै पराजित भएर कमजोर साबित भए ।

पञ्चायतकालदेखि नै कांग्रेसको मुख्य जनाधारको क्षेत्र हो मधेश । २०७० चुनावमा पनि कांग्रेस मधेशमा बहुमतमा नै रह्यो । सधैँ मधेश र कांग्रेस एक अर्काका सहयात्री थिए । तर अहिले राजपा, संघीय समाजवादी र माओवादी तथा एमाले लगभग बराबर अवस्थाले जित्नु भनेको कांग्रेस हार्नुसरह हो, भलै उसले अरु दललाई उछिनेको छ । पहिलो र दोस्रो चरणमा एमालेसँग ४९ सिटले पछि परेको कांग्रेसले एमालेलाई कुल ७६६ स्थानीय तहमा उछिन्न सकेन । मधेश पकड जोगाउन सकेन । अरु बढ्ने कांग्रेस घट्ने पछिल्लो मधेशी मतादेश कांग्रेसका लागि पुरानो किल्ला गुम्दै गएको नयाँ जनादेश नै हो ।

संविधान संशोधनको समर्थक बन्न एमालेलाई जनादेश

१९ स्थानीय तहमा हासिल गरेको जितले २ नम्बर प्रदेशमा एमालेलाई पाँचौँ दलमा खुम्च्याइदियो । मधेशको २ नम्बरमा यो एमालेका लागि चक्कर लगाउने ठक्कर हो । २ नम्बर प्रदेशका चुनावी मतपरिणामको संकेतले पार्टी पहिलो हुने सपना हावादारी साबित भइसक्यो ।

पहिलो र दोस्रो चरणको चुनाव ४९ सिटले अग्रतासहित पहिलो भएका कारण एमालेले कुल सात सय ६६ स्थानीय तहमध्ये पहिलो स्थान कायम राख्न त सक्यो । तर २ नम्वरका ८ प्रदेशमा भने ऊ पाँच मुख्य दलमा पाँचौँ बन्न विवश हुुनु भनेको एमालेको समग्रमा स्थानीय सत्ताको पहिलो दल बन्ने इज्जत बाँचेको मात्रै हो । मधेशमा एमाले बहुमत जनताको मतादेशमा हारेको सन्देश नै हो । एमालेले अब संविधान संशोधन र मधेशप्रतिको उसको अडान, नीतिमा १८० डिग्रीको परिवर्तन नल्याए एमाले मधेशमा अरु कमजोर बन्ने मतादेशको सन्देश हो ।

प्रचण्ड चलाखीमा टुरिष्ट उम्मेदवारको भर, माआवादीकोे चौँथो स्थान
चुनावी प्रचारका दौरान पहिलो हुने हुंकार दिएका माओवादी अध्यक्ष प्रचण्डले मतदानको वरपर ५५ स्थानमा पार्टी विजयी हुने पूर्वानुमान गरेका थिए । तर अन्तिम चुनावी परिणामले माओवादीको मधेशमा जग बसेको र बलियो पकड देखिने संकेत गरेको छ । चुनावका मुखमा  माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा अन्य दलका असन्तुष्टहरुलाई रातारात क्रान्तिकारी बिल्ला भिराएर समर्थक संख्या थपेकै कारण माओवादी चौँथो दलमा २ नम्बर प्रदेशमा स्थापित हुनसक्यो । माओवादीले हासिल गरेको २१ स्थानको जितले माओवादीको बीऊ मधेशमा पनि रोपिएको र ऊ एमाले, राजपा तथा संघीय समाजवादीको प्रतिस्पर्धी रहेको स्पष्ट भएको छ ।

माओवादीले अघिल्ला दुई चरणको चुनावमा भारी मतान्तरका बीच पनि तेस्रो स्थानमा पाएको मत उसले मधेशमा जोगाएर प्रचण्डको मधेश मिसन सफल भएको देखाएको छ । किनभने एमालेभन्दा बढी र राजपा र संघीय समाजवादीको लगभग बराबर सीट माओवादीका लागि ठूलै उपलब्धि हो । संगठनको बल र पार्टीको शक्तिले होइन अरु दलका असन्तुष्टलाई चुनावका मुखमा पार्टीमा भित्र्याउने प्रचण्ड चलाखीले २ नम्बरमा माओवादी चौँथो बन्यो । यसमा प्रचण्डको कुशल संसदीय चुनावी फन्डाले उसलाई नयाँ हैसियतमा स्थापित गर्यो । माओवादीबाट जित्ने अधिकांश टुरिष्ट उम्मेदवार नै हुन् । तर पनि जित माओवादीको हो । किनकि उसले भोट जितेरै चौँथो दलको रुपमा मधेशी मतादेश पाएको हो ।

संसदीय राजनीतिका कान्छा खेलाडी प्रचण्डले संसदीय फन्डा प्रयोग गरेर कमजोर संगठनका बीच चुनावमा पाएको नयाँ सफलता मधेशमा माओवादीले पनि भविष्य खोज्ने नयाँ सम्भावनाको संकेत पनि हो ।

संघीय समाजवादी, मधेशको बलियो शक्ति

२ नम्बर प्रदेशको चुनावलाई मधेशी दलहरुबीचको जनाधार मापनको नयाँ जनमत संग्रह मान्ने हो भने मधेशी दलमध्येको नयाँ शक्तिका रुपमा संघीय समाजवादी दल स्थापित भएको छ । २६ स्थानीय तहमा २ नम्बरमा मात्रै जित्नु संघीय समाजवादीको ठूलो सफलता हो । पहिलो र दोस्रो चरणका स्थानीय तहका चुनावमा पनि भाग लिएको कुरा अन्य मधेशी दलका लागि पाच्य नभएको भए पनि त्यसले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीलाई लाभ मिल्न पनि सक्ने पूर्वानुमान थियो । नभन्दै अन्तिम चुनावी परिणामले संघीय समाजवादी एमाले, राजपा र माओवादीको तुलनामा पहिलो र ठूलो दलका रुपमा मधेशी मतादेशमा स्थापित भयो । २६ सीटको उसको जित मधेशी दलमध्येको पहिलो भएको प्रमाण र  सफलता हो ।

अघिल्ला दुई चरणका चुनावमा नयाँ शक्तिसँग मिलेर चुनाव लडे पनि एक्लो बलमा नै नौ स्थानीय तह जितेर चौँथो भएको संघीय समाजवादी अहिले अन्तिम चरणमा पनि चौँथो स्थानमा नै टिकिरहन पनि सफलता पायो । ७६६ स्थानीय तहमध्ये चौँथो स्थानमा टिक्नु र उसले राजपालाई जित्नसक्नु संघीय समाजवादीको चुनावी समरको ऐतिहासिक विजयोत्सव नै हो ।

राजपालाई मुद्दामा जित, सिटमा ‘सबक’

राजपा २ नम्बर प्रदेशमा तेस्रो दल त भयो नै  । दुई दर्जन स्थानीय तहमा उसको  जित लाज ढाक्ने उपलब्धि हो । तर मधेशको एक्लो मसिहा ठान्ने राजपाको दम्भ भने यो परिणामले गलत सिद्ध गरिदिएको छ । तेस्रो चरणको स्थानीय तह चुनावको मुख्य राजनीतिक सौन्दर्य यही थियो कि यो चुनावमा राजपा पनि सामेल भयो । यसको राजनीतिक र रणनीतिक अर्थ जति धेरै छ, त्यहीअनुसार उसले त्यही अनुसार विजय गाथा बनाउन भने सकेन । ऊ मुस्किलले मात्रै तेस्रो हुनसक्यो त्यही नै उसको ठूलै चामत्कारिक उपलब्धि दरियो ।

उसले अघिल्ला दुई चरणका चुनाव बहिष्कार गर्नुको घाटा र असोज २ कै चुनावमा पनि अन्तिम समयमा मात्रै भाग लिने गरी गरेको ढिलो निर्णयको महंगो चुनावी मूल्य उसले चुकाउनुपरेको परिणामले देखायो । राजपाकै नेताहरु अन्य दलमा गएर टिकट लिएर जित्दै गरेको रमिता हेर्नुपर्ने खालको चुनावी नतिजा राजपाका लागि पार्टी केन्द्र्रमा मात्रै ठूलो र स्थानीय तहमा भद्रगोल रहेको उदाहरण पनि हो ।

राजपाले  आन्दोलन अवधिको साझेदार संघीय समाजवादीसँग चुनावी तालमेल गर्न नसक्दा होस् वा पार्टीभित्रैका असन्तुष्टहरुलाई चिक्त बुझाउन नसक्दाका दुष्परिणामका रुपमा मतादेशमा पछारियो । संघीय समाजवादी र राजपाले पाएको मतादेशको कुल अर्थचाहिँ मधेश मुद्दाप्रतिको मधेशी मतदाताको ऐक्यबद्धता त हो । तर चुनावी प्रतिस्पर्धामा उनीहरुको हुन नसकेको सहकार्य उनीहरुले माल पाएर पनि चाल नपाएको महंगो चुनावी सबक हो भन्ने प्रमाणित भयो ।

गए दिन साना दलका

यो परिणामले विजय गच्छदारको लोकतान्त्रिक फोरमको बीउ २ नम्बर प्रदेशमा जोगिएको छ । तर उसले छ स्थान जितेर पहिलो र दोस्रो चरणमा कायम गरेको पाँचौँ स्थान निरन्तर जोगाउन सकेन । तीन सिटसहित चुनावले उसलाई पुछारतिर धकेलिदियो । उसले राजपा र संघीय समाजवादीसँग चुनावअघि सुधार गरेको सम्बन्धलाई चुनावी तालमेलमा बदल्न नसकेको परिणमतः राजपा र संघीय समाजवादीभन्दा पनि धेरै तल झर्नुपरेको देखियो ।

यसबाहेक कमल थापा वा पशुपति शमशेर राणाका दुई राप्रपा वा साझा विवेकशील दल वा अन्य कुनै पनि दल यो क्षेत्रमा बढारिएको स्तरमा नगन्य केही वडास्तरीय जीत हासिल गरे । काठमाण्डुमा संविधान जारी गरेर त्यही संविधानको विरोधमा २०७२ असोज ४ देखि मधेश दौडाहा गरेका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईको पनि मधेशमा नगन्य प्रभाव रहेको चुनावी परिणामले प्रमाणित गरिदियो । १३६ तहमध्ये १ स्थानको जित नयाँ शक्तिका लागि हात्तिको मुखमा जिरासरहको जित हो । नयाँ शक्तिका तुलनामा जनता दलको २ तहको विजय बरु केही ठूलो हो । साना दलका दिन गए अब भन्ने सन्देश पनि हो २ नम्बरको नयाँ मतादेश ।

जे होस्, जसै–जसै वर्षको बडा दशैंको पर्वोत्सवमा जनमनहरु रमाउँदै गएका छन्, उसैगरी ताजा चुनावी मतपरिणामहरुले राजनीतिक दलका नेता कार्यकर्ताहरुका लागि राजनीतिक दशैं र दशाका माहोल पनि थप्दै गएका छन । यसले मंसिर १० र २१ का संघीय र संसदीय चुनावका लागि भने बलियो जग र आधार खडा गरेकोले दलहरुले पाएको नयाँ मतादेश उनीहरुका लागि नयाँ हैसियत र सन्देश नै हो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै