• २०८१ बैशाख १४ शुक्रबार

घोषणामा मात्रै पर्सा राष्ट्रिय निकुञ्ज

kharibot

बारा । एक वर्ष अघि स्तरोन्नती भएको पर्सा राष्ट्रिय निकुञ्जले बजेट अभावमा निकुञ्ज जन्य गतिविधि गर्न सकेको छैन । आरक्ष कै बजेट प्राप्त भएको हुँदा प्रजाति संरक्षण बाहेक अन्य पर्यटन प्रवद्र्धन सम्वन्धि गतिविधि गर्न नसकेको हो । 

बारा, पर्सा र मकवानपुरको ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा आरक्षमा विश्व मैं दुर्लभ पाटे बाघ , एकसिंगे गैंडा , गौरी गाई , घोड गधा मुख्य आकर्षण हुँन् । पर्सा आरक्षमा भौतिक पूर्वाधार पर्याप्त हँनुका साथै पर्यटकीय गन्तव्य समेत बढेको भन्दै विभागले निकुञ्ज घोषणाका लागि प्रस्ताव पठाएको थियो ।

अघिल्लो आर्थिक वर्ष भरी आरक्षले निर्णय गरेका कार्यक्रम संचालन भएको भन्दै प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्यले आगामी आर्थिक बर्ष २०७५÷७६ देखी निकुञ्ज बिकासका लागि कार्य योजना बनाएर अघि बढाइने बताए । 

‘यो आर्थिक बर्षमा पर्सा बन्यजन्तु आरक्षको रुपमा प्रस्ताबित कार्यक्रम सञ्चालन गर्नु परेको छ , आचार्यले भने , आउँने आर्थिक बर्ष देखी पर्यटन प्रवद्र्धन र निकुञ्जका रुपमा संरक्षण गर्नेका लागि कार्यक्रम प्रस्ताब गरेका छौं । ’

‘आरक्षका रुपमा रहँदा बन्यजन्तुको बासस्थान , घाँसेमैदान , जिवजन्तुका लागि पानीको स्रोत उपलब्ध गराउँने , मचाङ निर्माण , अग्नी नियन्त्रण रेखा निर्माण लगायतका बिषयमा कार्यक्रम केन्द्रित हुँन्थे , उनले भने , निकुञ्जका रुपमा बिकास भए पछि स्वागतद्वार निर्माण , टिकटघर निर्माण , पर्यटकका लागि आवस्यक सुरक्षा प्रबन्ध , जंगल सफारी लगायत पर्यटक लक्षीत कार्यक्रम सम्बन्धी योजना बन्ने छन् ।’

निकुञ्ज घोषणासँगै पर्यटक आगमनमा बृद्धि

२०७४ साल बैसाख १४ गते बसेको मन्त्रिपरीषद बैठकको निर्णय अनुसार पर्सा बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । त्यस पछि असार १९ गतेको राज–पत्रमा सुचना निकालेर पर्सा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा बिदेशी पर्यटकका लागि खुला गरिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार निकुञ्ज घोषणा भए पछि स्वदेशी तथा बिदेशी पर्यटकको पनी उल्लेख्य बृद्धि भएको छ । 

यसै आर्थिक वर्षको चैत मसान्त सम्म जम्मा चार सय १२ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । जसमा साकृ राष्ट्र बाहिरका मात्रै ६३ जना पर्यटक रहेका छन् । ‘निकुञ्जका लागी संख्याका हिसाबले यो ज्यादै न्युन आगमन हो , वर्षमा एक हजार देखी १२ सय सम्म पर्यटक आउँनु पर्छ,’ आचार्यले भने, ‘तर अघिल्लो बर्षको तुलनामा निकुञ्ज घोषणा भए पछि निकै ठुलो बृद्धि भएको छ ।’ अघिल्लो आर्थिक बर्षमा सार्क राष्ट्र बाहिरका ६ जना पर्यटकले मात्रै आरक्ष अवलोकन गरेका थिए ।

बिनाशको डर

राष्ट्रिय गौरवका आयोजनाहरु , तराई काठमाण्डौं द्रुतमार्ग र दोस्रो अन्तराष्ट्रिय बिमानस्थल पर्सा राष्ट्रिय निकुञ्ज कै मध्य भागमा निर्माण हुँन लागि रहेकाले यसले बन्यजन्तुको ओहोर दोहोरमा प्रभाव पार्ने डर आचार्यले व्यक्त गरे । 

‘निर्माणधिन बिमानस्थलको ढाँचा आम जनताले सोचेभन्दा फरक हुने बुझेको छु, त्यसैले त्यसले त्यती धेरै प्रभाब नपार्न सक्ला आचार्यले भने, तर दु्रतमार्गले भने बन्यजन्तु ओहोरदोर गर्ने मुख्य मार्गलाईनै बिच भागबाट काटेको छ ।’ 

विशेषगरी हात्ती ओहोरदोहोर गर्ने मार्गको बिचमा दु्रतमार्ग निर्माण गरीएको भन्दै त्यसबाट हुँन सक्ने दुर्घटनालाई मध्य नजर गर्दै मुख्य मार्गमा फ्लाई ओभर (सडक माथिबाट जनावर हिँडेने कृतीम मार्ग) निर्माण गर्न ध्यानाकर्षण गराईको आचार्यले बताए । 

‘आफ्नों मार्ग अवरोध हुँदा बन्यन्यजतु आक्रोशित भएर थप द्धन्द पैदा हँुन्छ कि ? भन्ने डर हो त्यसको पनी समाधान खोजीसकेका छौं ।’ उनले भने ।

निकुञ्ज बिस्तारको कुरै भएको छैन

निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बाहिर चर्चा चलेजस्तो निकुञ्ज बिस्तारको कुरा नभएको बताएका छन् । निकुञ्ज क्षेत्रभन्दा बाहिर रहेका बनलाई निकुञ्जको दायरामा ल्याउँन केन्द्र स्तरबाटै अनुगमन हुँनु पर्ने र प्रकृयागत रुपमा पनी सजिलो नभएको भन्दै उनले हाल निकुञ्जलाई बिस्तार गर्ने बिषयमा नेपाल सरकारले कुनै कदम नचालेको बताए ।

बिस्तारका लागि स्थानीयस्तरमा माँग त गरीएको छ , तर माँग गर्दैमा सरकारले बिस्तार गर्दैन उनले भने, ‘यसको प्रकृया हँुन्छ, अध्यायन टोलीनै गठन हुँन्छ । त्यस्तो कुनै टोली गठन भएर प्रक्रिया अघि बढेको मलाई जानकारी आएको छैन ।’ 

निकुञ्ज संरक्षण सबैको दायित्व

आचार्यले निकुञ्जको संरक्षणका लागि कुनै एउटा संस्थाको मात्र नभई यससंग सम्बन्धित सबैको दायित्व उत्तीकै हुँने औंल्याए ।  वन बन्यजन्तुका लागि मात्र नभै मानब जीवनका लागि पनि अपरीहार्य रहेको भन्दै यसको संरक्षणका लागि स्थानीयले समेत अग्रसरता देखाउनुपर्ने बताए । प्रदेश नम्बर २ कै महत्वपूर्ण पर्यटकिय स्थलको रुपमा निकुञ्ज अघि बढेको भन्दै यसमा स्थानीय सरकारसँगै प्रदेश सरकारको पनी ध्यान जान आवश्यक रहेको आचार्यको भनाई छ । 

करिब एक वर्ष अघि आरक्षबाट निकुञ्जमा स्तरउन्नती भएको भन्दै आचार्यले यसको बिकास र संरक्षणका लागि प्रदेश सरकार देखी स्थानीयसम्म सबैबाट अपेक्षा रहेको बताए । 

‘निकुञ्ज घोषणा गरिएकाले उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धन हुने सम्भावना छ,’ आचार्यले भने, ‘आरक्ष आसपासमा पर्यटकलाई भुलाउन सकिने धेरै पूर्वाधारको विकास भइसकेको छ, चितवनमा जस्तै वन्यजन्तु अवलोकन गर्न सकिने ठाउँ पनि छन् ।’ 

आरक्ष भित्रको रमौली प्रतापपुर , रामभोरी भाटा लगायत क्षेत्रमा बाघ , एकसिंगे गैंडा , गौरीगाई लगायत वन्यजन्तु अवलोकन गर्न सकिने उनले बताए । हलखोरिया ताल , नजिकैको गढीमाई , मकवानपुरको दामन क्षेत्र , जनकपुर , सिम्रौनगढ लगायत क्षेत्रमा पनि पर्यटकलाई व्यस्त बनाउँन सकिने उनको तर्क छ ।

राजधानी काठमाण्डौंसँगको छोटो बाटो र सहज यातायात , काठमाण्डौंबाट नजिकको सिमरा विमानस्थल , सिमरामा खुलेका सुविधा सम्पन्न होटलका कारण पनि निकुञ्ज घोषणाले पर्यटक प्रवद्र्धन हुने वार्डेन आचार्य बताउछन् । 

भारतीय सीमा रक्सौल नजिक भएकाले पनि भारतीय पर्यटक तान्न सकिने उनको धारणा छ । ‘पर्सामा प्राकृतिक , धार्मिक र वन्यजन्तु अवलोकनको प्याकेज दिन सकिन्छ,’ उनले भने । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा आरक्ष ५ सय देखि ९ सय ५० मिटर सम्म अग्लो चुरे पर्वतसम्म फैलिएको छ । चुरेको उच्च भागमा सल्लाका रुख पाईए पनि ९० प्रतिशत भूमि सालको जंगलले ढाकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै