• २०८१ बैशाख १७ सोमबार

आइपिएल फाइनल प्रिभ्यु : चेन्नई सुपरकिंग्स भर्सेज सनराइजर्स हैदरावाद  

kharibot

काठमाडौँ । यस सिजनको आइपिएलको फाइनल आज चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावादका बीच हुदै छ ।

नेपाली समय अनुसार साँझ सवा ७ बंजे मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यस खेलमा यस आइपिएलको पहिलो क्वालिफायर खेलेका यी दुवै टिमका बीच हुदै छ ।

पहिलो क्वालिफायरमा चेन्नईले हैदरावादलाई पराजित गरेर सिधै फाइनलमा प्रवेश गरेको थियो भने हैदरावादले दोस्रो क्वालिफायरमा कोलकोता नाइटराइडर्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  

लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेका सनराइजस हैदरावाद र चेन्नई सुपरकिंग्स नै फाइनलमा पुगेका हुन् । लिग चरणमा समान ९ खेल जितेर १८ अंक हासिल गरेका यी दुई टिम रनरेटको आधारमा पहिलो र दोस्रो बनेका थिए । 

चेन्नईका खेलाडीको प्रदर्शन :

चेन्नई टिमको कुरा गर्दा कप्तान महेन्द्रसिंह धोनीको कुटिल रणनितिमा नै आइपिएलमा यस टिमले सफलता हासिल गरेको देखिन्छ । २०१६ र २०१७ को प्रतिबन्धपछि कमब्याक गरेको चेन्नईले धोनीसहित शेन वाटशन, अम्बाती रायडु, सुरेश रैना, रविन्द्र जडेजा जस्ता खेलाडीको प्रदर्शनले फाइनलसम्म ठाउ बनाउन सफल भएको छ ।

चेन्नाईका लागि अम्बाती रायडूले सर्वाधिक ५८६ रन बनाएका छन् । रायडूल यस सिजनमा उत्कृष्ट ब्याटिंग गर्दै एक शतक र ३ अर्धशतक हानेका छन् । त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले १५ खेलमा ४५५ रन बनाएका छन् । त्यस्तै शेन वाटशनले ४३८, सुरेश रैनाले ४१३ रन बनाएका छन् ।

बलिङतर्फ चेन्नईका लागि शर्दुल ठाकुरले सर्वाधिक १५ विकेट लिएका छन् भने डावेन ब्राभोले १३ विकेट लिएका छन् । त्यस्तै पछिल्लो ६ खेलदेखि चेन्नईका लागि खेलेका लुंगी एनगीडीले १० विकेट लिएका छन् । एनगीडीले उत्कृष्ट बलिङ गर्दै केबल ६ खेलमा कुल २२ ओभर बलिङ गर्दै प्रतिओभर ५.९ को रनरेटका दरले बलिङ गरेका छन् ।   
त्यस्तै दिपक चहर, डावेन ब्राभो र रविन्द्र जडेजाले पनि १०-१० विकेट लिएका छन् ।

हैदरावादका खेलाडीको प्रदर्शन : 

हैदरावादलाई उत्कृष्ट कप्तानी गरेर फाइनलमा पुर्याएका न्यूजील्याण्डका केन विलियम्सनले ब्याटिंगबाट पनि सबैलाई प्रभावित पारेका छन् । केनले यस आइपिएलको अहिलेसम्म धेरै रन बनाउदै शिर्ष स्थानमा रहेका छन् । केनले १६ खेलमा ६८८ रन बनाएका छन् । जसमा केनले ८ अर्धशतक हानेका छन् । उनि यस आइपिएलमा धेरै अर्धशतक हान्ने खेलाडी पनि हुन् ।

त्यस्तै शिखर धवनले ४७१ रन बनाएर केनलाई साथ दिएका छन् भने मनिष पाण्डेले २८४, सकिब अल हसनले २१६ र युशुफ पठानले २१५ रन बनाएका छन् । 

हैदरावादको टिम यस सिजनकै उत्कृष्ट बलर भएको टिम भनिएको थियो र उनीहरुको प्रदर्शन पनि सो अनुसार नै रहेको छ । हैदरावादको बलिङ युनिटका प्रमुख धार अफगानी बलर राशिद खान र भारतीय बलर सिद्धार्थ कौलले सम्हालेका छन् । दुवैले १६-१६ खेलमा २१-२१ विकेट लिएका छन् । त्यस्तै सकिब अल हसनले १४ र सन्दीप शर्माले ११ विकेट लिएर राम्रो साथ दिएका छन् ।   

आइपिएलमा अहिलेसम्म यी दुई टिमको प्रदर्शन :

एघारौ सिजनसम्म आउदा चेन्नई अहिलेसम्म २ पटक उपाधि जितेको छ । चेन्नईले २०१० र २०११ मा आइपिएलको उपाधि जितेको थियो । त्यस्तै चेन्नई यस सिजनसहित ५ पटक फाइनलमा पुगेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादले सन २०१६ मा आइपिएलको उपाधि जितेको छ । त्यस्तै हैदरावादले यस सिजनमा दोस्रो पटक फाइनलमा पुगेको छ ।

हेड टु हेड :

यी दुई टिम यस सिजनमा ३ पटक आमने सामने भएका छन् । जसमा ३ पटकनै चेन्नईले जित हासिल गरेको छ ।  लिग चरणका दुई खेल र पहिलो क्वालिफायरको खेलमा चेन्नईले हैदरावादलाई पराजित गरेको हो । 

त्यस्तै अहिलेसाम यी दुई टिम १० पटक खेलेका छन् ।  जसमा ८ खेलमा चेन्नईले जितेको छ भने हैदरावादले २ पटक जितेको छ । 

प्लेरयर्स टु वाच : 

यस खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र बलर लुंगी एनगिड़ीको भूमिका महत्वपूर्ण हुने छ भने अलराउन्डर डावेन ब्राभो र शेन वाटशनको भूमिकालाई पनि नजर अन्दाज गर्न सकिन्न ।  यस टिमको ब्याटिंग लाइन अप निकै बलियो रहेको छ भने एनगिड़ी टिममा आएपछि बलिङ धार पन इबलियो भएको छ । 

त्यस्तै हैदरावादका लागि कप्तान केन विलियम्सन र राशिद खान प्रमुख खेलाडी हुनेछन् । त्यस्तै शिखर धवन र अलराउन्डर सकिब अल हसन र युशुफ पठानको पनि ठुलो भूमिका हुनेछ ।  ब्याटिंगको मध्यक्रम कमजोर देखिएको हैदरावादलाई दोस्रो क्वालिफायरमा राशिद खानले तुफानी ब्याटिंग गर्दै अर्को अलराउन्डरको रुपमा आफुलाई अगाडी ल्याएकाले उनलाई हैदरवादले कसरी प्रयोग गर्छ त्यो हेर्नु रोचक हुने छ । 

रोचक प्रसंग : लिग चरणमा दोस्रो हुनेले धेरै पटक आइपिएल जिते :

आइपिएलको लिग चरण सकिदा यस अघिका १० आइपिएलको अचम्मको संयोग देखिएको छ । जसमा लिग चरणमा दोस्रो हुने टिमले आइपिएलको उपाधि धेरै पटक जितेको छ ।

अहिलेसम्मको उपाधि विजेताको रेकर्डलाई हेर्दा लिग चरणमा पहिलो हुने टिमले केबल २ पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै लिग चरणमा दोस्रो स्थानमा हुने टिमले ५ पटक आइपिएलको उपाधि जितेका छन् भने लिगमा चौथो हुने टिमले एक पटक आइपिएलको उपाधि जितेको देखिएको छ ।

लिग चरणमा पहिलो हुनेले सन २००८ मा राजस्थान रोयल्स र २०१७ मा मुम्बई इण्डियन्सले आइपिएलको उपाधि जितेका थिए । त्यस्तै लिग चरण मा दोस्रो हुने टिमले २०११ मा चेन्नईले, २०१२ र २०१४ मा कोलकोता नाइटराइडर्सले, २०१३ र २०१५ मा मुम्बई इण्डियन्सले आइपिएलको उपाधि जितेका थिए । 

त्यस्तै लिग चरणमा तेस्रो हुने टिमले सन् २०१० मा चेन्नईले र २०१६ मा हैदरावादले आइपिएलको उपाधि जितेका छन् । त्यसैगरि लिग चरणमा चौथो हुने डेक्कन चार्जरले सन २००९ मा आइपिएलको उपाधि जितेको थियो । 


  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै