काठमाडौँ । यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड, बायर्न म्युनिख, एस रोमा र लिभरपुल पुगेका छन् ।
बार्सिलोनाको च्याम्पियन्स लिग एक्जिट धेरैका लागि अपत्यारिलो बन्यो भने प्रिमियर लिगको उपाधि जित्न तयार रहेको म्यानचेस्टर सिटीको लिभरपुलसँगको हारलाई पनि धेरैले अपत्यारिलो रुपमा लिएका छन् ।
गएराती रियल म्याड्रिडले युभेन्टसविरुद्ध समग्रमा ४-३ गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गर्यो भने बायर्न म्युनिखले सेभिल्लासँग समग्रमा २-१ को नतिजा निकाल्दै सेमिफाइनलमा पुग्यो ।
यस अघि बुधबार राति रोमाले बार्सिलोनाको पहिलो लिगको अग्रता उल्टाउदै समग्रमा ४-४ को नतिजा बनाउदा अवे गोलको आधारमा सेमिफाइनलको यात्रा तय गर्यो । त्यस्तै बुधबारनै लिभरपुलले सिटीलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित समिफाइनलको यात्रा तय गरेको छ ।
अब सेमिफाइनलको ड्र शुक्रबार नेपाली समय अनुसार साढे ५ बजे हुने छ ।
यो ड्र ओपन ड्र हुने र जुन सुकै टिम जो सुकैसँग पर्न सक्ने युईएफएले जनाएको छ । साथै ड्र गर्दा पहिलो नाम आउने टिमले सेमिफाइनलको पहिलो लिग आफ्नो घरेलु मैदानमा खेल्ने पनि युईएफएले जनाएको छ ।
सेमिफाइनल खेलको पहिलो लिग अप्रिल २४ र २५ मा हुने छ भने दोस्रो लिग मे १ र २ मा हुने छ । प्रतियोगिताको फाइनल मे २६ मा युक्रेनमा हुने छ ।