• २०८१ बैशाख १६ आइतबार

जिगोलो, एक पीडा [कथा]

kharibot

शनिवार बहिान उसलाई पशुपतिको मूलढोकैमा टाढैबाट देख्ने बित्तिकै म आठौँ आश्चर्यमा परेँ । पवित्र पशुपतिनाथको मूलढोकामा उसको उपस्थिति दुई विपरीत ध्रुवको मिलाप थियो । एक पटक आफैलाई चिमोटौँ चिमोटौ जस्तो लाग्यो । भ्रम, अर्थात् मस्तिष्कले निक्र्यौल गर्दै आएको कुरालाई ज्ञानेन्द्रियले तत्क्षण गरेको अनुभूतिले गलत साबित गरिदिएको अवस्था या मस्तिष्कको ठहर र ज्ञानेन्द्रियले अनुभूत गराएको सत्य बीचको द्वन्दात्मक अवस्था, जहाँ केही क्षणको लागि चेतना समेत शून्यमा पुग्दछ । यस्तो विषम अवस्थामा भ्रम निवारण गर्न आफैलाई शासना दिँदैमा हुने त केही होइन, तै पनि तान्द्रामा पो छु कि भनेर आफैलाई जाँच्ने चाहना मनमा पलायो । तर मैले आफैलाई चिमोटनु अगाडि नै ऊ म नजिकै आइपुगिसकेको थियो । उसलाई देखेर मनमा सदाझैँ पलाउन ईर्ष्या, क्षोभ र रिसको मिलिजुलि भाव पलायो र उसलाई मनमनै गाली गरेँ, “सा....जिगोलो ।”

“श्रीवत्स,” उसको बोलाउने नाम श्रीवत्स हो र ऊ नाम अनुसारकै सुन्दर व्यक्तित्व, आकर्षक शरीर र मधुर वाणी बोलेर मीठो कुरा गर्ने युवक हो, हाम्रै उमेरको । श्रीवत्स कुनै पनि दृष्टिकोणबाट हाम्रो बैरी होइन । ऊ मिलनसार छ, सबैसँग राम्रो भलाकुसारी गर्दछ, हामीसँग पनि असाध्यै मिल्छ, सँगै बस्छ र भएभरका कुरा सुनाउँछ । तर पनि भित्री रूपमा हामी ऊसँग ईर्ष्या गर्दछौँ, क्षोभ राख्दछौँ र उसलाई देखेर रिस पनि उठ्छ । यसको विपरीत हाम्रा सहउमेरका युवती र विवाहित  महिलाहरूको लागि ऊ अत्यन्त राम्रो, फरासिलो र प्यारो व्यक्ति हो ।

“प्यारो !” महिलाहरूले उसलाई सम्बोधन गर्ने यही शब्दमा नै हाम्रो आपत्ति हुन्छ, यही नै ईर्ष्या, क्षोभ र रिसको कारण पनि हो । “किन ऊ प्यारो ! हामी किन होइनौँ ?” भलै हामी मुख फोरेर भन्न सक्दैनौँ तर उसको उपस्थिति हाम्रो आँखामा बिझाउँछ । मैले अरू पुरुष साथीहरूको आँखामा पनि ऊ बिझाएको भाव पढेको छु । हामीलेभन्दा बढी ऊ नै हामीलाई पार्टीमा बोलाउँछ त्यसैले हामी बाध्यात्मक रूपमा मन कुँडाएर भए पनि उसलाई पार्टीमा बोलाउँछौँ । यस्तोमा हाम्रा श्रीमतीहरूले उसलाई बोलाउन सिफारिस गर्दाको अवस्था भने आलो घाउ माथि नुन भइदिन्छ । भित्री रूपमा हामी सबै चाहन्छौँ, ऊ बोलाए पनि नआओस्, तर ऊ भद्र रूपमा आफूलाई प्रस्तुत गर्न भए पनि सालिन तरिकाले आइदिन्छ । 

हो, हामीलाई उसको उपस्थिति सह्य छैन र हुँदैन पनि । उसलाई लिएर जति प्रश्नहरू मेरो मनमा उब्जन्छन्, अन्य मित्रहरूको मनमा पनि उब्जन्छ भन्नेमा म विश्वस्त छु । किन हामी ऊसँग ईर्ष्या गर्दछौँ ? किन हाम्रो अनुहारमा ऊप्रति क्षोभ झल्कन्छ ? व्यक्तिगत रूपमा ऊ मेरो या अन्य मित्रहरूको पनि बैरी अवश्य होइन, तर मनले सधैँ उसलाई प्रतिद्वन्दि ठान्दछ ।

श्रवित्सको व्यक्तित्व नै त्यस्तै छ, ऊ पार्टीमा आउने बित्तिकै युवतीहरू ऊप्रति यसरी तानिन्छन्, मानौँ युवतीहरू फलामका टुक्राहरू हुन् र ऊ शक्तिशाली चुम्बक । हामीसँग कुरा गर्दै गरेका युवतीहरू पनि बिस्तारै हामीलाई छोडेर जब ऊतिरै जान्छन्, हामी एकअर्काको अनुहारमा हेछौँ र आफूलाई पराजित भएको महशुश गर्दछौँ । ऊ युवतीहरूको घेरोको बीचमा विजित सिंहझैँ बिचरण गरिरहेको हुन्छ र हामी अलि टाढाबाट उसलाई पराजित मानसिकता बोकेको हरुवा सिंहलेझैँ चोर आँखाले हेर्दछौँ, । अनि हामी डाह गर्न थाल्दछौँ, एक पुरुषले यो अवस्थामा डाह नगरिकन कसरी बस्न सक्छ र !

हामीले हाम्रा श्रीमतीहरूको आँखामा पनि ऊप्रतिको आकर्षण देखेका छौँ । यस अवस्थामा हामीलाई हीनताबोध हुन्छ, मनमा क्षोभ उत्पन्न हुन्छ, एक प्रकारको रिस पनि उठ्छ । यस्तो बेला नरेश पटियाला पेग प्युँन थाल्दछ, सुबोध हातमा समातेको ग्लासलाई साहिँली औलाको औँठी ठोकेर बजाउन थाल्दछ र म हातमा समाएको व्हिस्किको गिलास जानीजानी भुँइमा खसाएर फुटाउँछु । हरेक पार्टीमा हाम्रो पुरुषत्व र श्रीवत्स बीचको युद्धमा सधैँ नै हारेका हामी कतै कुनामा बसेर यही प्रक्रिया दोहर्याइरहेका हुन्छौँ । 

त्यस दिन पार्टीमा नरेशले मलाई कुहिनाले हान्दै सङ्केत गरेर मलाई परित्यक्ता नम्रतासँग निक्कै गफिँदै गरेको उसलाई देखाएको थियो ।

“सा ...     जिगोलो ..., अर्काको श्रीमती पनि भन्दैन,” मैले इष्र्या ओकल्दै भनेको थिएँ ।

“अब के को अर्काको श्रीमती नि !” नरेशले भनेको थियो, “नम्रता अब स्वतन्त्र छे, जो कसैले नि हुन सक्छे भने त्यसले हक देखाउनुमा के अचम्म !”

“हो हुन त,” मैले मुखले त भनेँ, तर उसको ठाउँमा आफूलाई उभ्याउने भित्री चाहना भने ज्यूुँदै थियो । 

“अचम्मको खुबी छ बुझिस् योसँग, जो केटीलाई पनि तुरुन्तै पट्याउँन सक्छ । हैन बिहे किन गर्दैन यो ?”

“तँलाई थाहा छ, मैले त्यसलाई कहिले बिहे गर्छस् भनेर सोध्दा के भन्यो ?”

“के भन्यो ?”

“केटी नपाए पछि रे !”

“मतलब ?”

“जब खेलाउन केटी पाउँदैन तब मात्र बिहे गर्छ रे !”

“ओ ओ... साँच्चि कति र्पुयायो होला त्यसले ?”

“मेरो बिचारमा हाफ सेन्चुरी त नाघ्यो कि !”

“मात्रै !”

“अब सेन्चुरी नै बनाउँछ, ऊ हेर न नम्रतालाई, लेफ्टओभर पनि नछाडेपछि त सेन्चुरी बन्ने नै भो नि ।”

“यस्तो पनि जिन्दगी हुँदो रहेछ !”

“एउटा कुरा भन्छु, माइन्ड नगर है ।”

“के ?”

“यो सा ... आगो हो बुझिस्, हाम्रै घर पनि सल्काउन के बेर !“

“हुँम्म, वी मस्ट बि केयरफुल है ।”

“आइ नो, रेस्ट्रिक्सन त गर्नै पर्छ ।”

“एग्ज्याक्टली ।”

“सुबोधले त भाउजूलाई नराम्ररी झपारिसकेछ ।”

“हा... हा ... हा ...”

“किन हाँसिस् ?”

“आफू चाहिँ कुकुर जस्तो सडकको कुनै खम्बा पनि नछाड्ने, अनि आफ्नो घरकी चाहिँ सतिसावित्री खोज्ने ?”

“यो मेन्ट्यालिटि हरेक लोग्ने मान्छेमा हुन्छ । सुबोध त झन् मिड लाइफ क्रायसिसबाट गुज्रिरहेको छ ?”

“त्यो त हो ।” 

..........................................................................................................................

“के छ सुभ्र ?” उसले नजिक आएर मलाई भेटेर सोध्यो ।

“ठीक छु, तर म अहिले मंगलग्रहमा छु,” मैले भने ।

“बिना यान !” श्रीवत्सले खिस्स हाँस्दै भन्यो ।

“पशुपतिमा एलियन देखेपछि जो कोही पनि मंगलग्रह पुग्छ, कहिले देखि ?”

“वन्स इन अ ब्लु मुन त आउँथे, तर आजकाल फुर्सद हुँनेबित्तिकै आउँछु ।”

“ह्वाट अ सरप्राइज !”

“हरेक व्यक्तिको जीवनमा एउटा टर्निङ्ग पोइन्ट आउँदो रहेछ ।”

“मतलब तैँले टर्न लिइस् ?”

“वेल, त्यसै भन्न सक्छस् ।”

“केही कारण पनि त होला नि, आइ हेभ सिन लट अफ चेन्जेज अन यु, ह्वाट इज द रिजन बिहाइन्ड ?”

“थाकेँ यार !”

“थाकेँ रे !”

“हो थाकेँ, जिन्दगी यही मात्र होइन रहेछ ।”

“म अब शुकग्रहतिर जाँदै छु ।”

“म भने पखेटा काटिएर धर्तीमा झरेको छु ।”

“हैन आखिर त्यस्तो के भयो हँ ?”

“भरे अनिस दाइकोमा आउँदिनस् ? त्यहीँ भनुँला नि, हुन्न ?”

“ओके, त्यसोभए भरे अनिस दाइकोमा नै भेटौँला नि त ।”

ऊ छुट्टियो । म उसलाई इनसाइड आउट चिन्छु भन्थेँ, तर होइन कि क्या हो ? रणभुल्लमा परेको मेरो मस्तिष्कमा चिसो प्रश्नहरू उठ्न थाल्यो । 

..............................................................................................................

“कसलाई भनूँ मनमा चलिरहेको उथलपुथल ?” म सोच्दै घर आएँ । घर पुग्ने बित्तिकै सबैभन्दा पहिले मैले सुबोधलाई फोन गरेँ र श्रीवत्ससँग भएको सबै कुराको बेलिबिस्तार लगाएँ । सुबोध, चल्तापुर्जा सि.एन.एन., उसलाई सुनाएपछि सबैकहाँ खबर पुग्छ । नभन्दै नरेशले सुबोधले भनेको कुरा हो होइन बुझ्न मलाई फोन र्गयो । मैले हो भनिदिएँ । 

शनिवारको दिन व्यग्रता पूर्वक बित्यो ।

साँझ अनिस दाइको घरमा पुग्दा ऊ नरेश र सुबोधसँगै कुनामा बसिरहेको थियो । नरेश र सुबोधको हातमा ग्लास थियो, श्रीवत्स भने खाली हाथ नै बसिरहेको थियो ।

“किन आज ड्रिङ्क लिन्नस् ?” मैले नजिक पुगेर सोधेँ ।

“आजकाल लिन मन लाग्दैन,” उसले सपाट उत्तर दियो । हामी तीनैजनाले आश्चर्यमा आँखा जुधायौँ ।

“भनेपछि बाघले मासु छोडेकै हो त ?” सुबोधले जिस्कायो ।   

ऊ हाँस्यो मात्र । मैले उसको अनुहारमा उदासीको भाव देखेँ । ऊ भित्रैबाट विचलित देखिन्थ्यो ।

“कि एक पेग लिने हो ?” नरेशले कोट्यायो ।

“हैन, नलिऊँ ।”

“लिन्न भनेपछि कर नगर यार,” मैले नरेशलाई कर गर्न रोक्दै भने, “अनि अरू सुना, के छ तेरो हाल ? आज अचम्मसँग पशुपतिमा भेटिइस् त ।”

“तिमीहरू मेरो बारेमा के सोच्छौ त्यो मलाई थाहा छ,” उसले गम्भीर भएर भन्यो, “हरेक रात नयाँ नयाँ सिकार गर्नुलाई तिमीहरू मेरो पुरुषार्थ ठान्छौ र यो कुरालाई लिएर मसँग इष्र्या पनि गर्छौ, त्यो पनि मलाई थाहा छ ।”

“हैन यार, त्यस्तो केही होइन ...”

“भो छोड यार, बेकारमा किन झुटो किन बोल्छस् ? वास्तविकता त के हो भने, म पनि यही ठान्थेँ । आफूलाई कुनै सेलिब्रिटिभन्दा कम कहिल्यै ठानिनँ । तर पुग्यो यार ...,” उसले शिर झुकाउँदै भन्यो, “हरेक कुराको एउटा सीमा हुँदो रहेछ, र त्यो सीमापछि मानिसमा वितृष्णा जाग्दो रहेछ । मान्छेले जब ऐना अगाडि उभिएर आफैलाई नियाल्न थाल्छ नि, हो त्यति बेला मात्र आफूलाई चिन्छ ।”

“ओ सन्त महाराज, कहाँको कुरा कता ...”

“भन्न दे न नरेश ।”

“वास्तवमा मैले त्यस्तो के पाएँ, या अरूलाई त्यस्तो के दिएँ ? त्यो मलाई नै थाहा छैन । तिमीहरूलाई एउटा कुरा भनूँ, मलाई यो जिन्दगी देखेर वाक्क लागेको छ, आफ्नो शरीर आफैलाई गन्हाउन थालेको छ, यसरी बाँच्नु बाँच्नु होइन रहेछ यार,” ऊ शिर झुकाएर घोरिन थाल्यो ।

ऊ गम्भीर थियो र उसको आवाजमा भएको सत्यतालाई हामीले नकार्न सकेनौँ । हामी सबैको मन दूध चोरेर खाने बिरालोलाई सहजै साधु मान्न तयार थिएन । श्रीवत्स फेरिएको थियो भन्ने कुरा प्रमाणित गर्नलाई मैले उसलाई पशुपतिमा भेट्नु एउटा प्रमाण थियो भने अहिले उसले गरिरहेको दह्रो कन्फेसनमाथि आँखा चिम्लन पनि सकिन्नथ्यो । मैले चारैतिर हेरेँ, सबैको अनुहारमा त्यही भाव थियो जुन मेरो अनुहारमा थियो र बीचमा उभिएको थियो एउटा प्रश्न, “कसरी !”

 “एउटा कुरा भनूँ,” हामी गम्भीर भएर चुपचाप थियौँ, श्रीवत्सले नै शिर उठाएर भन्यो, “तिमीहरूलाई अचम्म लाग्ला, तर सत्य कुरा के हो भने, मेरो जीवनमा कैयौँ आइमाईहरू आए तर मैले कहिल्यै कुनै पनि आइमाईलाई बुझ्न सकिनँ ।”

“आइमाईको बारेमा बुझ्नै पर्ने त्यस्तो के कुरा छ र !” नरेशले आश्चर्य मान्दै भन्यो ।

“तँ बुझ्दैनस् नरेश, यसले आइमाई माथि गरेको अनुसन्धानको कुरा यसैलाई भन्न दे न,” मैले कुरा खोतल्ने आशयले भनेँ ।

“त्यति धेरै नि नभन न यार, म पनि मान्छे नै हुँ नि, हैन र ? म बदलिएको छु भनेर तिमीहरू विश्वास गर्दैनौ, त्यो मलाई थाहा छ,” श्रीवत्सले भन्यो, “तर म कसरी बदलिएँ, किन बदलिएँ भनेर जान्ने चाहना पनि तिमीहरूलाई छ ? तर एउटा कुरा नरेश, म आफैले पनि बुझ्न सकिरहेको छैन म किन र कसरी बदलिएँ भनेर । मेरो कुरा पत्या यार, मेरो मन अशान्त छ, हृदयमा उथलपुथल मच्चिरहेको छ, त्यसैले आजकल म मन्दिरतिर गएर मन शान्त पार्न खोज्छु ।”

“मतलब तँलाई केटी र सेक्सप्रति वितृष्णा जागेको छ, सन्यासी बन्ने बिचार छ कि के हो ?” सुबोधले सोध्यो ।

“सुन सुबोध,” श्रीवत्सले सुबोधलाई हेर्दै भन्यो, “सेक्सबाट कोही पनि भाग्न सक्दैन बुझिस् । तँ भन्लास् सन्यास लिएका साधु सन्यासीले सक्छ भनेर । तर साधु सन्यासीले पनि बलैपूर्वक आफूलाई रोकेका मात्र हुन्, जसको नतिजा त न्यूजमा बेलाबेलामा आईरहेकै छ नि । यो त शारीरिक भोक हो, कसैलाई कम कसैलाई ज्यादा लाग्छ तर अवश्य लाग्छ ।”

“अनि तँलाई ?”

“सायद मलाई बढी नै लाग्थ्यो । अझ त्यो भन्दा पनि म यसलाई पराक्रम मान्ने गर्दथेँ । त्यसैले पनि मैले यसलाई एउटा खेलको रूपमा लिएको थिएँ, यु नो, जस्ट वन नाइट स्ट्याण्ड ।”

“सायद तैँले यसलाई पाप ठान्न लागिस् क्यारे !” मैले सोधेँ ।

“मैले कहिल्यै यसलाई पापको रूपमा लिईँन, मनमा हीन भावना या विकार राखेर गरिन, शुद्ध मनले पवित्र कार्य मानेँ ।”

“पवित्र कार्य !” नरेशले भन्यो, “यस्तो पनि पवित्र कार्य हुन्छ र ?”

“कोही कसैको अतृप्त क्षुधा शान्त पार्नु के पाप हो र ? कसैलाई इच्छित तृप्ती दिनु के अधर्म हो र ? त्यसैले मलाई त्यस्तो कहिल्यै लागेन ।”

“छोड यो कुरा,” मैले आफ्नो जिज्ञासा शान्त पार्ने उदेश्यले कुरा मोड्दै भने, “खासमा भयो के तँलाई ? किन यसरी बिरक्तिएको ?”

“सायद मेरो कुरामा तिमीहरू विश्वास गर्दैनौ होला, तर कुरा नै त्यस्तै छ ।”

“भन् न, तेरो कुरा पनि विश्वास गर्देनौँ र !” मैले श्रीवत्सलाई हौस्याउँदै भने ।

“शेखरलाई चिन्छस् नि, बिराटनगरको क्या,” उसले भन्यो, “म तीन हप्ता अगाडि बिराटनगर गएको थिएँ । शेखरको घरमै बसेको थिएँ । त्यहाँ बसेको दुई दिनपछि, शेखरको काकाले डिनरमा बोलाउनु भएको थियो ।”

“अनि ?”

“काकाको उमेर पचपन्न नाँघिसकेको थियो । पहिलो श्रमिती बिना सन्तान बितेकोले एक वर्ष अगाडि मात्र बिहे गर्नु भएको रहेछ । काकीको उमेर बढीमा तीस वर्ष जतिको हुनुपर्छ, तर काकी असाध्यै राम्री हुनुहुन्थ्यो । मेरो बिचारमा काकीले धनकै लागि या यस्तै केही बिवसताले गर्दा काकासँग विवाह गरेको हुनुपर्छ ।”

“अनि अनि ?”

“काकीलाई देखेपछि मभित्रको उही पुरानो किरा सल्बलाउन थाल्यो । म दिनहुँ जसो विभिन्न बहाना बनाएर काकाकोमा जान थालेँ । कुरा त म काकासँग गर्दथेँ तर मेरो आँखाले सधैँ काकीलाई नै पछ्याइरहेको हुन्थ्यो । हरेक कुरामा म काकालाई भाग्यमानी भनिदिन्थेँ र काकीलाई सौभाग्यदाता । आठौँ दिनको साँझ अचानक काकीले मलाई फोन गरेर बोलाउनु भयो । म गाडी लिएर काकाको घरमा पुगेँ । काका घरमा हुनुहुन्न थियो, धरानतिर केही कामले जानुभएको रहेछ । घरमा काकी तयार भएर बस्नुभएको थियो । म पुग्ने बित्तिकै उहाँ तल ओर्लनुभयो र गाडीमा बस्नुभयो ।”

“कता जाने ?” उहाँ गाडीमा बस्नु भएपछि मैले सोधेँ । उहाँले रंगेलीतिर जानलाई इसारा गर्नु भयो । मैले गाडी रंगेलीतिर लगेँ । रंगेली नपुग्दै बीच बाटोबाट काकीले गाडी गाउँतिर मोड्न अह्राउनु भयो, मैले त्यसै गरेँ । दश किलोमिटर जति पर पुगेपछि काकीले गाडी रोक्न भन्नुभयो । मैले गाडी रोकेँ । काकी गाडीबाट ओर्लिनुभयो, म पनि ओर्लिएँ ।”

“अगाडि नहरबाट दोबाटो छुट्टिएको थियो । घाम डुबिसकेको भए पनि उज्यालो अझै बाँकी नै थियो । काकी गाडीबाट ओर्लिएर पन्ध्र मटिरजति हिँडे.र अगाडि जानुभयो र घाम डुबेको ठाउँतिर हेरेर बस्नु भयो । म गाडीबाट केही अगाडि गएँ तर किन हो कुन्नि ! उहाँको छेउमै गएर उभिन सकिनँ र त्यहीँबाट उहाँलाई हेर्दै बसेँ । वास्तवमा मैले उहाँको केही कुरा बुझिरहेको थिइनँ । एक छिनपछि काकी गाडी भएतिर फर्केर आउनुभयो र मेरो सामुन्ने आएर उभिनु भयो ।

“अनि ?”

“त्यति बेला काकी अत्यन्तै गम्भीर हुनुहुन्थ्यो र एकटक मलाई नै हेर्दै हुनुहुन्थ्यो । मैले उहाँको अनुहारमा हेरेँ । बाक्लो गाजल लगाएको उहाँका आँखाहरूमा रातो डोरा बाक्लिँदै गइरहेको थियो । उहाँले भन्नु भयो, “श्रीवत्स, घाम अस्ताए पनि उज्यालो अझै बाँकी छ । उहाँले नहरतिर चोर औलाले देखाउँदै भन्नुभयो, यता नहर छ, गहिरो छैन, तर गहिरो नभए पनि पानी बगिरहेको छ र उता, उ त्यो खेत टाढाटाढासम्म सुख्खा छ । त्यो खेतलाई यो नहरले जबरर्जस्ती कुनै तरिकाले भिजाए मात्रै, नत्र भिज्नलाई त्यो खेतले वर्षा कुर्नै पर्छ । तर बर्षातपछि पनि के यो खेत हराभरा होला र ? श्रीवत्स, मेरो नियति के हो म आफैलाई थाहा छैन तर तिम्रो नियत के हो त्यो राम्ररी बुझेकी छु । नियति र नियत मेरो अगाडि अहिले दुईवटा बाटाहरू भएर अंकमाल गर्न उभिएका छन् । म आँखा चिम्लेर नियति स्विकारुँ या आँखा खोलेर नियतमा समर्पण गरूँ ? म यही दोधारमा छु । अब तिमी भन श्रीवत्स, मैले कुन बाटो हिँडदा उचित होला ?”

“त्यसपछि के भयो ?” मुख्य कुरा जान्नलाई लालायीत मैले सोधेँ ।

“मैले एकटक लगाएर काकीको आँखामा हेरेँ, मलाई उहाँका दुवै आँखाहरू धुवाँ पुत्पुताउँदै लावा ओकली रहेको ज्वालामुखी जस्तै लाग्यो । त्यस ज्वालामुखीबाट निस्किरहेको लावाको रापले मेरो शरीर पोल्न थाल्यो । मलाई म अहिले पग्लिन्छु भरे पग्लिन्छु जस्तो भान हुन थाल्यो । उहाँका प्रश्नहरू बारम्बार उहाँका आँखामा दोहरिन थाल्यो र मेरा कानमा ठूलो नाद गर्दै गुञ्जिन थाल्यो । मैले धेरै बेरसम्म ती आँखाहरूमा हेरिहरन सकिनँ, ती आँखाहरूमा देखिएका प्रश्नहरूको कुनै जवाफ दिन सकिन । मेरो पराक्रम मेरो अभिमान कहाँ कतिबेला खरानी भयो ! यादै भएन । उहाँका आँखाहरू भने झन्झन् राता हुँदै गइरहेका थिए । अकस्मात मैले आँखा चिम्लिएँ र फरक्क फर्किएर गाडीतिर आएँ । मलाई कुनै होस थिएन, मैले बेहोसीमै गाडी स्टार्ट गरेँ र उहाँलाई त्यहीँ छाडेर फर्किएँ ।”

“उफ्फः, अनि ?” मेरो आश्चर्यले पराकाष्टा नाघ्यो ।

“शुभ्र, बिलिभ मि यार,” श्रीवत्सले उठेर मेरो काँधमा हात राखेर मेरो अनुहारमा हेर्दै भन्यो, “म त्यसै दिनदेखि बेचैन छु । मलाई अचेल हरेक आइमाईका आँखाहरू तिनै आँखा जस्ता लाग्छन् । म हरेक आइमाईको आँखामा त्यही बाक्लो गाजल र राता डोराहरू देख्छु । कोही कसैको आँखा देख्ना साथ मलाई तिनै बाक्ला गाजल लागेका आँखाका राता डोराहरूमा बेरिएको प्रश्नहरूले घेर्न आउँछन् । म जहाँ जाऊँ त्यहीँ ती आँखाहरू देख्न थालेको छु । मेरो आँखा अगाडि घरिघरि त्यही नहर, त्यही सुख्खा खेत, त्यही दोबाटो र त्यही राता डोराहरूमा प्रश्न बेह्रिएका आँखाहरू आएर सामुन्ने ठडिन्छन् ।“

मैले श्रीवत्सको आँखामा केहीबेर हेरेँ, त्यहाँ कुनै छलकपट भई जस्तो मलाई लागेन । उसको हृदयमा गुजमुटिएको सारा कुरा उसको अनुहारमा आएर छरिएको थियो । उसले पहिलो पटक आफ्नो छाती खोलेर सबै कुराको स्वीकारोक्ति गरेको थियो । यो एक जिगोलोले आत्मस्वीकारोक्ती गरेको पाप थियो या पीडा ? न त मैले छुट्याउन सकेँ, न त उसका दुवै काँधमा थपथपाउन पुगेका मेरा आफ्नै हातका अर्थ नै लगाउन सकेँ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै