हाम्रो प्रणय दिवस

kharibot

नेपालमा भएका तीन सभ्यताहरू, खस, मैथली, नेवार सभ्यतामध्ये मैथली सभ्यता पूर्णतः हिन्दुकरण भएर विलिन भइसक्यो, खस सभ्यताकाे धुकधुकी अझै पश्चिम नेपालतिर बाँकी छ र नेवारी सभ्यता पनि बिस्तारै मसिन थालेकाे संकेत देखिन थालेकाे छ । यसकाे मुख्य कारण भनेकाे नेपालीहरूमा भएकाे हदैसम्मको लचकता, सहिष्णुता,पछ्याैटेपन र आफ्नाे सभ्यताको बारेमा नबुझी अरूकाे अन्ध अनुकरण गर्दै जानू नै हाे भने अर्काेतिर यी सभ्यताका हरेक कुरालाई सुरुवातदेखि नै हिन्दुकरण गर्दै लगिएका कारण यी सभ्यताहरू मासिएका या मासिन लागेका हुन् ।

खस सभ्यता या खस तथा आर्य दुई पृथक जातीय धार हुन् । बाेगाजकाेई (इरान) मा प्राप्त माटाेका पट्टिहरूमा हखमनी र हित्ती बिचकाे सन्धीहरू लेखिएकाे छ । काठकाे साँचामा अक्षरहरू काेरी इँट्टा बनाएझैँ बनाइएका यी पट्टिहरू जस्तै "ॐ माने पध्मे हुँ" मन्त्र लेखिएका माटाकाे गाेलाे चाका जुम्लामा चन्दननाथ तथा गुम्बाहरूमा चढाइन्छ । याे खसहरूकाे पुरानाे प्रचलन हाे र यसले खसहरूकाे मूल पनि इरानतिरै संकेत गर्छ । नवाैँ शताब्दीमा यिनै खसहरू र नाग जतीका राजारजाैटाहरूले बुद्ध मार्ग त्यागेर हिन्दुकरण गरे पनि थुप्रै खस संस्कारहरू भने अझै त्याग्न सकेका छैनन्, हिन्दु भए पनि ती संस्कारहरू अझै प्रचलनमा छ, उदाहरणकाे लागि मष्ट अर्थात् प्रेतघडा, देवाली, चामलकाे टिका, पर सरेकाे बार्ने आदि हुन् ।

हाम्रो प्रेम दिवस कुनै व्यक्तिको हत्याको सम्झनमा हैन ऋतुको आव्हान अनुसार हुन्छ, प्रकृतिको असर अनुसार हुन्छ, माैसमकाे मादकता अनुसार हुन्छ । वसन्त ऋतुलाई ऋतुहरूको राजा पनि भनिन्छ । यस ऋतुलाई अन्य पाँचै ऋतुका आठ आठ दिन निकालेर ४० दिनको बनाइएको छ । चैत्र प्रतिपदाको चालिस दिन पूर्व माघ शुक्लपञ्चमीको दिन नै वसन्त आगमनलाई अभिनन्दित गरिन्छ । यसलाई सरस्वती पूजाको रूपमा पनि मनाइन्छ । वसन्त पञ्चमीको त्यौहार शीतकालको समाप्तिको घोषणा गर्दै वसन्तको आगमनको रूपमा मनाइन्छ ।

वसन्तको सुरुवातसँगै मौसम बहुतै राम्रो हुन्छ, रुख बिरुवाहरूमा नयाँ कोपिला पलाउँन थाल्दछन्, नयाँ पालुवा लाग्दछन् र नाङ्गा रुखहरूमा नयाँ पात पलाउँन सुरु हुन्छ । दूबो मौलाउँन थाल्दछ । चारैतिर हरियालीले बसुधालाई सिँगार्छे । तोरीका पहेँला फूलसँगै अनेक रङ्गका फूलहरू फुलेर भमरालाई आकर्षित गर्छ । भवराहरूको गुञ्जन र पुतलीहरूको सुन्दर उडान, शीतल पवनको बहाव, चारैतिर हरियाली र नयाँ फुलेका फूलहरूको सुगन्धले वातावरणलाई मादक र आकर्षक पार्दछ । प्रकृति र मानवको गहिरो सम्बन्धका कारण वसन्तको मन्त्रमुग्ध पार्ने वातावरणले मानिसमा मोह उत्पन्न गराउँछ । सौन्दर्य र मादकताको प्रभावले मानिसको हृदयमा प्रेमभाव जगाउँछ र मानिसलाई हरेक कुरा सुन्दर लाग्न थाल्दछ । पञ्चतत्वले बनेको मानव शरीरमा प्रकृतिको यस सुन्दर परिवर्तनले प्रबृतिमा बदलाव लेराउँछ । फलस्वरूप नयाँ उमङ्ग, नयाँ जोस र नयाँ इच्छाहरू मनमा पलाउँन थाल्दछ । यस परिवर्तनले मानवमा लेराएको उमङ्ग र मादकताको प्रभावले मानिसमा मोह पैदा गर्दछ । फलस्वरूप मनमा प्रेमरसको अत्यधिक उत्पादन हुन्छ । सौन्दर्य रस श्रृङ्गारसँग जोडिएको हुन्छ र श्रृङ्गारको मूल तत्त्व भनेको प्रेम हो । मादकताको असरले कामनाहरू उब्जन्छन् र कामनाको गुँढ तत्त्व या कामनाको एक रूप कामभाव पनि हो काम भावलाई हिन्दु धर्म ग्रन्थहरूमा जीवनको चार पुरुषार्थ मध्येको एक मानिन्छ ।

यही वसन्त ऋतुमा सालमा मञ्जरी टुसाउँछ र मञ्जरीमा रहेकाे पराग कणलाई फाग भनिन्छ । याे फाग नाथ्रीबाट भित्र पसेमा एक प्रकारकाे मधुराे नसा लाग्दछ । प्राचीन कालमा वसन्त ऋतुमा विभाेर भएका युवायुवतीहरू यही फागले  एक अर्कालाई हिर्काएर स्वच्छन्द प्रेमालाप गर्थे, वसन्तमा पलाएकाे फूलकाे परागबाट भिरमाहुरीले पारेकाे महबाट बनेकाे मदिरा (अङ्ग्रेजीमा मिड) पिउँथे । पहिले युवायुवतीहरू खुल्ला रूपमा उन्मत्त भएर यस पर्वलाई मनाउँथे, भेटिएका जो कोहीलाई पनि फाग दलेर रङ्गिन पारिदिन्थे र आफू पनि रङ्गिएका हुन्थे । घर घरमा मिठो पकवान बनेका हुन्थे, मासुका विभिन्न परिकार बनेका हुन्थे, मदिराका घडाहरू यथेष्ट राखिएका हुन्थे । हरेकलाई  हरेकले स्वागत गर्दथे, खान्थे, प्युँथे, आफूलाई मनपर्ने जोडी रोजेर मित्रहरूसँग घुमफिर गर्थे, र इच्छा लागेमा सम्भोग पनि गर्दथे । वसन्तोत्सवमा पाहुना या मित्रसँग यदि अर्धाङ्गिनी राजी भएमा गरिएकाे सहवासलाई पनि पाप मानिन्नथ्यो । नेपालमा पनि चिर गाडिएपछि सुरू हुने यही चाडकाे अन्तिम दिन उमङ्गमा आएर सालकाे पराग (फाग फागु) ले एकले अर्काेलाई हिर्काएर /दलेर फागु खेल्ने, प्रेम प्रस्ताव राख्ने र बिबाह पनि गर्ने गरिन्थ्याे । यही फाग खेल्ने परम्परा पछि फागुकाे रूपमा बिकशित भयाे । यही हाम्राे प्राचीन कालदेखि चलिआएकाे प्रणय उत्सव हाे, प्रेमाेत्सव हाे ।

हाम्राे प्रेम दिवस पनि  यही हाे । याे नै चिरकालदेखि चलिआएको नेपाली सभ्यता हाे, सभ्यताका आधारमा, संस्कृतिका आधारमा हामी कति धनी छाै !

हिन्दु सनातन् धर्म अनुसार वसन्त ऋतुकै बेलामा फागु पुर्णिमाको दिन मदनोत्सव पनि मनाईन्छ । मदनोत्सवमा काम का देवता "कामदेव", जसलाई भगवान् शिवले भष्म गरिदिएका थिए, को पूजन हुन्छ । पश्चिमा राष्ट्रहरूमा विवेकलाई नष्ट पारिदिएर मानिसलाई अन्धो बनाई दिने देवताको रूपमा “किउपिट” नामक देवतालाई अन्धो मानिन्छ । हिन्दु शास्त्रमा वर्णित मदनोत्सवमा पूजा गरिने मदन देवताकोे मुर्तिको आँखामा पनि सुनको पातलो पट्टि बाँधिएको हुन्थ्यो । वसन्तको मादक वातावरणले मनमा कामभाव जगाउँने हुँदा कामदेवलाई वसन्तशखा पनि भनिन्छ । वात्सायनको कामसुत्रमा पनि मदनोत्सवको वर्णन छ । तथापि, याे मदनाेत्सव पनि फागु कै परिवर्तित रूप थियाे ।

प्राचीन र प्राकृतिक यस फागु संस्कृतिलाई भने पछि पुराणकाे माध्यमबाट अनेक काल्पनिक कथा रचेर कृष्ण र हाेलिकासँग या कामदेवसँगकाे कथामा हिन्दुकरण गर्दै लगियाे । यसरी हिन्दुकरण गर्ने क्रममा खसहरूकाे भैलाेका  बलिराजालाई पनि बलि र विष्णुकाे कथामा हिन्दुकरण गर्दै छाेपिएकाे छ भने नेवारहरूकाे घन्टाकर्ण र इन्द्रजात्रा पनि त्यस्तै हुन पुगेकाे छ । 

अन्त्यमा, फागकै कारण फागन (अपभ्रंस फागुन) महिना नामाकरण गरिएकाे र नेपालमा अझै फागु पूर्णिमा या नेपालीले फागु नै भन्ने फागु खस नेपालीहरूकाे आफ्नै परापूर्वकालिन संस्कृति हाे, चाड हाे, प्रेमाेत्सव हाे ।

सम्बन्धित समाचार