काठमाडौँ । इटालियन फुटबलर मारियो बालोटेली तीन बर्षपछि राष्ट्रिय टिममा फर्किने तयारी गरेका छन् ।
प्रशिक्षक रोबर्टो म्यानचिनीले बालाटोलीलाई आगामी अन्तर्राष्ट्रिय खेलका लागि सम्भावित ३५ खेलाडीको सूचीमा राखेर उनको राष्ट्रिय टिममा कम्ब्याक हुने संकेत गरेका हुन् ।
बालाटोली २०१८ को सेप्टेम्बरदेखि इटालीको राष्ट्रिय टिममा समावेश छैनन् ।
हाल टर्कीको अडाना डेमीरस्पोरबाट खेलिरहेका बालाटोलीको कमब्याकलाई इटालीमा विशेष चासोका साथ हेरिएको छ । म्यानचेस्टर सिटीमा प्रशिक्षक म्यानचिनीको अन्डरमा खेलेका बालाटोली उनका फेभरेट फुटबलर रहेको बताइदै आएको छ तर प्रछिल्लो समय म्यानचिनीले उनलाई मौका दिएका थिएनन् ।
तर यस सिजनमा बालाटोलीको उत्कृष्ट प्रदर्शनका कारण उनले राष्ट्रिय टिममा कमब्याकको अवसर पाएको बताइएको छ ।
बालोटेलीले गत सिजनको अन्त्यमा मोन्जा छोडेर टर्की क्लब अडाना डेमिरस्पोरमा सामेल भएका थिए । उनले गत शनिबारको टर्की सुपर लिग खेलमा एक गोलसहित २१ खेलबाट ९ गोल गरेका छन् ।
३१ वर्षिय बालाटोलीले इटालीका लागि अहिलेसम्म ३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा १४ गोल उनको नाममा छ । हाल उपलब्ध रहेका इटालीका खेलाडीहरूमध्ये सिरो इमोबिलले मात्र उनले भन्दा बढी गोल गरेका छन् ।
इटालीले आगामी मार्चमा उत्तरी म्यासेडोनियाविरुद्ध विश्वकप प्लेअफ खेल खेल्दै छ । यसका लागि मानचीनीले खराब फर्ममा रहेको टिमलाई सशक्त बनाउने अभियान अन्तर्गत बालाटोलीलाई अवसर दिने तयारी गरेका हुन् ।