• २०८१ बैशाख १८ मंगलबार

समाज, सम्बन्ध र प्रयोग 

kharibot

ल्याटिन भाषाको ‘सोसिअस’बाट अङ्ग्रेजी शब्द ‘सोसाइटी’ जन्मेको विश्वास गरिन्छ । यसको ल्याटिन अर्थ ‘मैत्री सम्बन्ध’ हुन्छ । मानव–मानवबीचको सम्बन्धलाई यसले बढी दर्शाउँछ । एकै स्थान तथा क्षेत्रमा बसोबास गर्ने एउटै रहनसहन, व्यवस्था, धर्म, संस्कृति अंगाल्ने मानिसको समिष्टगत समूह वा रुप समाज हो । यसले खास उद्देश्य राखेर स्थापना गरिएका संस्थाको प्रतिनिधित्व समेत गर्दछ । विश्वका सबै समाजशास्त्रीको परिभाषाले भाषागत फरकपन बोकेता पनि सारमा सबैको भनाइमा असमानता भने केही रहेको छैन । 

समाजले निकै गहिरो सम्बन्धको अर्थ राख्छ । विश्वमा समाजको संरचना त्यस देशका धेरै आयामहरुले निर्धारण गर्ने गर्छन् । त्यहीअनुरुप यसको प्रकृति र विशेषतामा केही परिवर्तन तथा विविधता पाउने गरिन्छ । प्रगतिशील समाज र पश्चगामी समाज बारेका बहसले विश्वमै आफ्नो ठाउँ पाएको हामीले देखिरहेका, सुनिरहेका हुन्छौँ । यसमा नेपाली समाजको विश्लेषणमा उत्रिने छुट तपाईं÷हामी सबैलाई छ । समय क्रमसँगै चलिरहेका राजनीतिक परिघटनाले समाजको संरचना, आकारप्रकारमा फेरबदल लिइरहेको हामीले प्रत्यक्ष अनुभूत गरिरहेका छौँ । समाजको महत्वपूर्ण हिस्सामा व्यक्ति, परिवार रहने गर्छन् । समाज परिवर्तनको कुन रफ्तारमा छ भनेर खोज्न यिनैको सेरोफेरोमा रहेर विचार, विमर्श बढाए धेरै कुराको थाह लाग्छ ।

समाजको फरक संरचनाकै कारण एकै किसिमको व्यवहार अवश्य नै हामीहरुले भेटाउन सक्दैनौँ । त्यसैले यसका छुट््टै मान्यता छन् । नेपाली समाजको अस्तित्व आफ्नै किसिमको छ । प्राचीन समयदेखि अहिलेसम्म धेरै रुपमा परिवर्तन भोगिसकेको नेपाली समाज आफैँमा विशिष्ट उदाहरणको नमूना हो । नेपाल एकीकरणका हस्ती शाहवंशीय राजा पृथ्वीनारायण शाहको भनाइमा ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी’ हो । फूलबारीमा फुलेका फूलका आ–आफ्नै विशेषता हुन्छन् । रङ्गमा मात्रै हैन वासनामा पनि अस्तित्व भिन्न छ । ठ्याक्कै यही युक्तिको सारभाव धेरै प्रसंगमा जोड्न सकिन्छ । बगैँचामा सुन्दरता छरेर मनमोहक बनाइदिने फूलमा पनि काँडा हुन्छन् । बाहिर देखिने र भित्री अन्तर्यमा हुने कुरामा भिन्नता यसरी नै खोज्न सकिन्छ ।

मानिसहरुको व्यवहारले नै समाजको संकेत गर्छ । नेपाली समाजमा विशेषगरी दुईवटा धार रहँदै आएको भनेर भनिँदै आइएको छ । एउटा सकारात्मकतामा जोडिएर अघि बढ्न चाहने अर्को यसको ठीक विपरीत । समाजका प्रवृत्तिले सिंगो आकारमा त्यसको दिशाबोध गराउँछ । राजनीतिक घटना क्रममा सबैभन्दा बढी नेपाली समाज विभाजित बन्दै गइरहेको छ । शिक्षित वर्ग पनि यसैबाट सञ्चालित छ धेरै हदसम्म । समाजमा राजनीति प्रयोगको रुपमा स्थापित बनिदिँदा यसका केही नकारात्मक बाछिटाहरुले कतै समाज नै दूषित बनिदिने पो हो कि भनेर आम जनमानसमा चिन्ताको बीज रोपिएको छ । समाजलाई अगाडि बढाउन बाधक बन्ने तत्वहरुको समयमै किटान र त्यहीअनुसारको समाधान रोज्नुपर्छ ।   

समाजका केही जान्ने, बुझ्ने भनेर आफूलाई चिनाउन चाहने, आफ्नो स्तुतिगान लोकले गाइदियोस् भन्ने अपेक्षा राख्ने, प्रचारबाजीमा केहीलाई उतारेर आफ्नो मात्रै फाइदा हुने गरी शब्दहरु ओकलून् भन्ने संकीर्ण भावको खेती गर्नेहरुले वर्षौँदेखि रहेको अटुट सामाजिक सम्बन्धमा अस्वस्थ खेल खेलिरहेका हुन्छन् ।

समाजमा केही अमुक व्यक्तिले आफूअनुकूल पूरै समाजलाई परिचालन गर्नका लागि सबै हत्कण्डा अपनाउने गरेका छन् । यो सम्मुन्नत समाजको पक्षमा रहनै सक्दैन । यसले विचारमा द्वन्द्वका रापहरु ओकल्न थाल्छ । त्यस्तै समाजका केही जान्ने, बुझ्ने भनेर आफूलाई चिनाउन चाहने, आफ्नो स्तुतिगान लोकले गाइदियोस् भन्ने अपेक्षा राख्ने, प्रचारबाजीमा केहीलाई उतारेर आफ्नो मात्रै फाइदा हुने गरी शब्दहरु ओकलून् भन्ने संकीर्ण भावको खेती गर्नेहरुले वर्षौँदेखि रहेको अटुट सामाजिक सम्बन्धमा अस्वस्थ खेल खेलिरहेका हुन्छन् । यो अनेक खेलले केही समाजका ‘एलिट’हरुले क्षणिक फाइदाको रसपान गरे पनि दीर्घकालीन रुपमा खासै महत्व भने राख्दैनन् । चिन्ता र चासो यो हुन्छ कि अरुको स्वार्थको लागि क्षणिक लोभमा भिजेर प्रयोग भइदिनेहरुको भने सवाल कठोर हुन्छ । त्यसैले अरुविरुद्ध कसले के प्रयोजनका लागि आफूलाई कसरी प्रयोग गरिरहेको छ भन्ने बुझ्न ढिलो गर्नुहुँदैन । 

प्रगतिका पाइला वा सकारात्मक प्रयास अगाडि बढाइरहनुभएको छ भने नआत्तिनुहोस् तपाईंको खुट्टा तान्न समाजको एउटा जमात तयारी हालतमा बसेको छ । यो समूह हरहालतमा तपाईंका हरेक सकारात्मक क्रियाकलापमा तगारो बनिदिन्छ । भ्रमको खेती, अनावश्यक प्रचार–प्रसार, व्यक्तिगत चरित्र–हत्या, विरोधका श्रृङ्खलामा उसले सक्रिय जालो फिजाइराखेको हुन्छ । बेग्लै व्यावसायिक रुप यहाँ देखिन्छ । यी आफ्नो स्वार्थको लागि अनुत्पादक लगानीमा जस्तोसुकै मूल्य चुकाउन हरदम तयारै रहन्छन् । यसले थप समाज पछाडि धकेलिरहेको हुन्छ । यस्ता खेलमा लाग्नेलाई निरुत्साहित गर्न ढिलो गर्नुहुँदैन । समाजमा सबै एकताका साथ मिलेर बस्यौँ भने सबै कुराको सही व्यवस्थापन हुनुको साथै विकासी वेगले सहज फड्को मार्छ । समाजमा एक्लिने र एक्ल्याउनेको खेलमा सकभर आफू सम्हालिन सक्नुपर्छ, गोटी बनेर प्रयोग हुनुहुँदैन । 

प्राकृतिक प्रकोपले नेपाललाई समय—समयमा डस्दै आइरहेको छ । वर्षात्को भेलले तराईको समथर भूभाग डुबान त कहिले पहिरोले पहाडै सिनित्तै पारिदिएको छ । हिमपहिरोले हिमालै रित्याइदिएको छ । यी असामान्य परिवेशमा पनि हामी सबै सँगै एकजुट भएर सामना गरिरहेका छौँ ।

हरेक प्राकृतिक प्रकोपले नेपाललाई समय—समयमा डस्दै आइरहेको छ । वर्षात्को भेलले तराईको समथर भूभाग डुबान त कहिले पहिरोले पहाडै सिनित्तै पारिदिएको छ । हिमपहिरोले हिमालै रित्याइदिएको छ । यी असामान्य परिवेशमा पनि हामी सबै सँगै एकजुट भएर सामना गरिरहेका छौँ । हामीमा भ्रातृत्व अझै जीवितै छ । देशको मायाले हामी सदा ऊर्जावान रहेका छौँ । हरेक विपत्तिलाई सबै मिलेर पार लगाएका छौँ । यो विशिष्ट सामाजिक सम्बन्ध हो । नेपाली समाजमा रहनुमा गौरवान्वित हुने विषय हो । नेपाली समाजको चरित्र यसैको वरिपरि घुम्नैपर्छ । समाजको हरेक समुदाय यसरी नै मेलमिलापको भावमा विवेकशील बन्नुपर्छ । विश्वकै एक उदाहरणीय देशको रुपमा यो समाजको नाम अग्रभागमा आउनैपर्छ ।      

समाजका एकाध एलिटहरुको चंगुलले देशको सामाजिक परिस्थितिको रेखा बाङ्गो कुनै मानेमा पनि स्वीकार्य हुनै सक्दैन । समाजको सम्बन्ध चिरस्थायी बन्नुपर्छ । यो कसैको हित र स्वार्थमा प्रयोग हुने प्रयोगशाला बन्नुहुँदैन । नेपाली समाज बलियो, स्वाभिमान र गर्व गर्नलायक बन्नुपर्छ ।  

(सरकारी सेवामा आबद्ध महत समाज, स्वास्थ्य र साहित्यमा कलम चलाउँछन् ।) 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै