• २०८१ जेठ ४ शुक्रबार

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली छ वर्षदेखि अलपत्र

kharibot

काभ्रेपलाञ्चोक । विपी राजमार्ग उपआयोजनाद्वारा सडकखण्डमा व्यवस्थित गरिएको आकस्मिक सूचना प्रणाली (इआइएस) प्रविधि छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

करिब छ वर्षअघि विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत प्रवेशस्थल धुलिखेलमा राखिएको डिजिटल सूचना बोर्डमा पनि उपआयोजनाले मौसम अनुसारको सूचना अद्यावधिक गर्न सकेको छैन । राजमार्गको तत्कालिक अवस्थाबारे जानकारी दिने उद्देश्यले धुलिखेल लगायतका स्थानमा बोर्ड राखिएको थियो ।

सडक विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई निरन्तरता दिन नसकेको जनायो । विभागका उपमहानिर्देशक एवं वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको बताए ।

“पछिल्ला केही वर्षदेखि उक्त योजना निरन्तर सञ्चालन गर्न दक्ष जनशक्ति अभाव तथा कोरोनाका कारण सकिएन, अब के कसरी गर्न सकिन्छ छलफल गर्नेछौँ”, उनले भने । उक्त सडकको यात्रा सहज बनाउन आकस्मिक सूचना प्रविधियुक्त राजमार्ग बनाउन लागिएको थियो ।

राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिनसक्ने गरी छ वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डका विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधारलगायत संरचना निर्माण तथा व्यवस्थापन गरिएको थियो । यतिमात्र होइन, वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो ।

राजमार्गमा वर्षा, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल र बर्दिबासमा रहने सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो । तीनै स्थानमा डिजिटल सूचना बोर्ड पनि राखिएको छ । ती बोर्डमा हाल पनि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे कुनै पनि जानकारी हुँदैन ।

एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेबसाइट र इआइएस्लाई इञ्जीनियररिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले ‘प्रणाली’समेत तयार पारिसकेको जनाइएको थियो । यो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाउँदै आएको छ ।

यस प्रणाली अन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तररूपमा वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्तो केन्द्र काठमाडौँ थापाथलीस्थित उपआयोजना कार्यालय भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालय तथा सिन्धुली जिल्ला विकास समितिमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।

उक्त प्रणाली अन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस मोडियममार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरण एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । २४सै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार)मार्फत विद्युत आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको थियो ।

पोखरेलले तत्काल यसबारे सरोकारवालासँग ‘जुम मिटिङ’मार्फत छलफल गरी रोकिएको काम अघि बढाइने बताए । उनले भने, “यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण भएको थियो ।” उहाँका अनुसार हाल सडक विस्तारका क्रममा कोटेश्वरस्थित सूचना बोर्डको पुनःनिर्माण हुनेछ ।

यस वर्ष मनसुन निकै सक्रिय हुने जनाइएको छ । भारी वर्षाको सम्भावना रहेको जनाइएपछि उक्त प्रणालीमार्फत विपी राजमार्ग सडकको अवस्थाबारे तत्काल यात्रुलगायत सरोकारवालाले जानकारी पाउनसके सहज हुने अपेक्षा गरिँदै आइन्छ । उक्त राजमार्ग हाल राजधानीबाट पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रूपमा लिइएको छ ।

जिल्लाको धुलिखेलबाट विसं २०५४ बाट बनेपा–सिन्धुली बर्दिबास १६० किलोमिटर सडक विस्तार गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै