• २०८१ जेठ ६ आइतबार

समृद्ध नेपाल निर्माणका लागि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्छ : गृहमन्त्री थापा

kharibot

फाइल तस्वीर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । 

आज गृह मन्त्रालयमा आव २०७७/७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका हुन् । 

गृहमन्त्री थापाले सुरक्षा क्षेत्रमा गरिने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको बताए । उनले भने, “तथ्याङ्कले सीमामा बिओपीको सङ्ख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ । यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ ।”

मन्त्री थापाले गृहमन्त्रालय र सोअन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको उल्लेख गर्दै कार्यशैली परिमार्जन गरेर भएपनि ठोस उपलब्धि ल्याउन कर्मचारीलाई निर्देशन दिए । “हामीले तोकिएका हाम्रा लक्ष्यहरु किन समयमै पूरा गर्न सकेनौँ, कोभिडका कारणले सम्पन्न हुन नसकेको विषयमा ठिकै छ तर लापरवाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन”, उनले भने । 

बैठकमा गृहसचिव महेश्वर न्यौपानेले मन्त्रालय र मातहतका निकायको दोस्रो चौमासिक अवधिसम्म पूँजीगत खर्च तथा बेरुजु फछ्र्योट कम भएको भन्दै त्यसमा गुणात्मक परिवर्तन हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । 

बैठकमा गृहमन्त्रालय अन्तर्गत नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभाग लगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै