• २०८१ बैशाख १८ मंगलबार

सामूहिक बलात्कार घटनाका फरार अभियुक्त पक्राउ

kharibot

प्रतिनिधी तस्वीर

सप्तरी । बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये आज एक अभियुक्त पक्राउ परेका छन् ।

सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फैसला कार्यान्वयनलाई अभियानका रुपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा आज घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँ समेत संलग्न सामूहिक बलात्कारको घटना भएको १३ वर्षपछि आरोपितमध्येका श्यामा पक्राउ परेका हुन् ।

घटना २०६४ असोज ९ गते दिउँसो तिलाठी कोइलाडी–५ को. बर्साइनस्थित घना काँसघारीमा भएको हो । आरोपित सोही ठाउँका विकु मुखिया, उनका छोरा डोमा भनिने डोमी र श्यामा मुखिया तथा ज्वाइँ तिलाठी कोइलाडी–३ का लोकेन्द्र भनिने जोगेन्द्र मुखियालाई जनही १३ वर्ष कैद सजायको फैसला भएको छ ।

गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैँसी चराउन कोशी टप्पु कटैया पलार गएका बेला घटना भएको पीडितकी आमाले बताइन् । पीडितकी आमाका अनुसार आरोपितले अन्य बालकलाई हतियार देखाई कुटपिट गरेपछि डोरीले बाँधेका थिए । होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै काँसघारीमा लगेर आरोपितले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०६४ असोज १० गते उजुरी दिएकी थिइन् । 

जिल्ला अदालतमा अभियोग पत्र दायर भएकामा तत्कालीन जिल्ला न्यायाधिश श्रीप्रसाद सञ्जेलको इजलाशले २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको अभियोगमा आरोपित चारै जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले जानकारी दिए ।

पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलाशमा दिएको पुनरावेदनपछि न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दीपेन्द्र अधिकारीको इजलाशले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिवापत जनही रु २० हजारका दरले भराई पाउने ठहर गरेको थियो । आरोपितमध्ये श्यामका दाजु डोमा भनिने डोमीको मृत्यु भएकाले सजाय माफी भएको र अन्य फरार रहेको जिल्ला अदालतका तहसिलदार सुबेदीले बताए । अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै