• २०८१ बैशाख १४ शुक्रबार

'वैदिक इन्द्र' ईश्वरीकरणदेखि पतितसम्म

kharibot

लेखक : विपुल सिजापति

पृथ्वीको उत्पत्ती पश्चात् पृथ्वीले पछि आफैमा परिवर्तन गर्न थालिन् । समय क्रमेणः यसमा अनेक जीव विकसित भए, बोट विरुवा जन्मिए । ती जीव र बोट विरुवा पनि कति लुप्त भए कति फेरि रूप फेरिएर अस्तित्वमा रहिरहे । यो परिवर्तन नै प्रकृति हो, र पृथ्वी प्रकृतिको अधिनमा छिन् । यही प्रकृतिकै कारण विशाल महादेश पान्जियाबाट टुक्रिएर महादेशहरू बने, ती फेरि टुक्रिए, फेरि जोडिए । एसियाबाट अफ्रिका छुट्टियो, अष्ट्रेलिया उछिट्टियो, एसियामा फेरि हिन्दुस्तानको ठूलो भाग (Indian tectonic plate) जोडिन आयो । समयान्तरमा टुक्रिनु र जोडिनुले गर्दा थुप्रै परिवर्तनहरू आए । पशुपन्छी तथा आदिमानवहरू पनि अलग अलग हुँदै गए र फेरि विभिन्न जातीका रूपमा मिसिए । निश्चित भूभागको राज्यको अवधारणा नबनिसकेको अवस्थामा बर्ग र जातीका मानिसहरू एक स्थानबाट अर्को स्थानामा यायावरझै घुमफिर गरिरहनु सामान्य मान्न सकिन्छ ।

एसियामा जोडिन आएको भारतवर्ष (Indian tectonic plate) मा जतिबेला हब्सी, निषाद आदी बनमान्छेझैँ मान्छेहरू बस्दथे, त्यति नै बेला कोल, भील सन्थाल, मुण्डा आदि जातीहरू पनि भारतवर्षमा आए । यी जातीले एक अर्काबाट धेरै कुराहरू सिके । त्यसपछि द्रविडहरू पनि आए, तर द्रविड पनि कुनै एक अलग्ग जाती भने थिएन, भिन्न भिन्न जातीहरूको समिश्रण थियो । जसरी युरोपियन देख्दा उस्तै देखिए पनि युरोपियनहरूमा अनेक भेद छन्, मुसलमानहरू पनि एक जातीका नभएर कोही अरब, कोही टर्किस, कोही पठान छन्, त्यस्तै द्रविडहरू भन्नाले हब्सी, निषाद, कोल भील, सन्थाल, मुण्डा र द्रविड भित्रकै अनेकन भेदहरू थिए । रहँदै बस्दै गर्दा यी सबै एकै र उस्तै हुन गए, द्रविड कहलाइए । तथापि, यिनिहरूमा द्वन्द, संघर्ष र युद्ध भने भइ नै रहन्थ्यो । सुरुवाती मानव घुमन्ते थियो । भोजन र शिकारको लागि एक स्थानबाट अर्काे स्थानमा घुम्दै पुग्ने मानवले जब कृषि र पशुपालन सिक्यो तब भने स्थाई रूपमा बस्न त थाले तथापि, पशु चरणको खोज, प्राकृतिक प्रकोप र युद्धका कारण भने पुनः स्थानान्तरण हुन बाध्य भयो । तर यसै चरणमा मानिसहरूमा जातीको भेद भने उत्पन्न भयो । आर्यभन्दा धेरै अगाडिका यी प्रकृति पूजक जातीहरू बीच आफ्नो जातीलाई एक विशेष चिन्ह या लक्षणले आफ्नो जातीको परिचय दिने प्रचलन सुरु भयो । यी चिन्ह या लक्षण मुख्यतया जीवजन्तु या वनस्पतिहरू नै थिए । जातीको पहिचान गराउने जीव या वनस्पति त्यस जातीको श्रद्धा र सम्मानको चीज हुन्थ्यो । यसैलाई टोटम भनिन्छ ।

रामायणमा उल्लेखित वाली, सुुग्रिव या हनुमान बाँदर थिएनन्, अपितु उनीहरूको टोटम वानर थियो । यसै गरेर जाम्ववान पनि भालु थिएनन्, उनको टोटम मात्र भालु थियो । त्रिविष्टपमा आर्यका अतिरिक्त अन्य तीन जातीहरू पनि थिए, नाग, सुपर्ण (गरुड) र किर (किराँत) । यी मध्ये गरुड जाती विष्णुको नजिकका भए, यसैले विष्णुको वाहन गरुड भए अर्थात् विष्णुसँग साथै हिँड्ने रहने गरुड जाती थिए । शिवको साथमा भने नाग र किराँत जातीहरू परे । पुराणको कथा अनुसार गरुड र नागको वैमनष्यता देखिन्छ, गरूड जातीलाई “किराताशी“ भनिनुले किरातहरू पनि गरुडका शत्रु थिए । महाभारतको आदि पर्वमा विनताले  गरुडलाई सहस्र किरातलाई भक्षण गरेर अमृत ल्याउन अह्राएको कथनले गरुड र किरात जाती बीचको वैमनस्यता स्पष्ट हुन्छ । जब कि नाग र किँरातहरू भने मिलेर बसेका देखिन्छन् शिवको गलामा नाग हुनु र शिवको गणपतिको नाम अज (बाख्रा) हुनु यसैको प्रतीक हो । दक्ष प्रजापति शिवका ससुरा भए पनि पहिले शिवका विरोधी थिए, सतीको आत्महत्या पश्चात् प्रजापति कूलको महिमा मर्दन गरेर (टाउको काटेर बोकाको टाउको जोडिदिनु यसैको प्रतीक हो) यिनलाई अजमुख अर्थात् अज जातीहरूलेझैँ शिवको जय भन्ने पक्षमा ल्याइयो । पुराणदिका कथाहरूमा उल्लेख भएका थुप्रै जातीहरूको नाम विभिन्न जीव र वनस्पतिसँग मिल्नुको मुख्य कारण टोटेम नै हौ । मुसलमानहरू सुंगुरलाई अपवित्र मान्दछन् तर सिखहरूमा भने सुंगुरको हड्डी स्पर्श गराएको भोजको भोजनलाई पवित्र बनाउने संस्कार थियो, कुनै जातीको टोटेम अन्य जातीकालाइ टयाबु पनि हुन्छ । नेपालका आठ राई मध्ये केही राईहरू बाख्राको मासु खाँदैनन् किन भने बाख्रा ती राईहरूको टोटेम हो, यस अर्थमा राईहरू किँरात भए पनि अज जातीलाई श्रद्धा गर्दथिए भन्ने ज्ञात  हुन्छ । जाती भेदको प्रमुख कारण यही टोटेम थियो ।

ऋग्वेदमा वर्णित इन्द्र को हुन्, कहाँका हुन्, व्यक्ति हुन् या पद हो ! यो सँधै कौतुहलको विषय रहँदै आएको छ । ऋग्वेदमा इन्द्रको रूपको जुन वर्णन छ, त्यसको आधारमा इन्द्रको मूल कुन स्थान हो ? के इन्द्र असुरियाका असुर हुन् ? या तिब्बतबाट झरेका मङ्गोल हुन् ? कि दिन र रात बराबर हुने हिमाच्छादित प्रदेशबाट आएका श्वेतचर्मका हुन् ? इन्द्रको बारेमा खोतल्नु अगाडि पुराणमा वर्णित मत्स्य अवतारको कथा एक पटक खगाल्न अत्यन्त जरुरी छ ।

जलप्लावनको कथा संसारको हरेक सभ्यतामा पाइन्छ । यो एउटा यस्तो पुरातन कथा हो जसमा पात्रका नाम थोरै परिवर्तन भएका छन् तर कथाको मूल सार भने एउटै छ । पुराण, बाइबल, कुरानमा मात्र नभएर हिब्रु तथा अन्य भाषाका साथै सुमेरी-अक्कादी सभ्यतामा समेत यो कथा प्रचलित छ । इन्डोनेसिया, जाबा, मलेसिया, श्रीलङ्का आदि द्वीवमा समेत परम्परागत गीतको माध्यमबाट जलप्लावनको घटनालाई जीवन्त राखिएबाट यो केवल कथा मात्र नभएर सत्य घटना भएको मान्नै पर्दछ ।

यस कथाका मुख्य पात्र चाहे हजरत नूह हुन, मनु हुन या राजा सत्यव्रत, सबैले एक नाउमा संसारभरका सबै पशुपन्छी, बोटबिरुवा आदिको बिउ एउटा डुङ्गामा हालेर बचाएको कथा छ । जल प्रलय सम्बन्धी आर्य कथा या भनौ पुराणमा वर्णित कथा आसुरी (इजिप्टदेखि क्यास्पियन सागरसम्म र ग्रिसदेखि इरानसम्म फैलिएको असिरिया, हालको सिरिया, जसलाई आर्यहरू स्वर्ग भन्ने गर्दथे) कथाबाट प्रभावित छ भने युनानी र ल्याटिनी जल प्रलयको कथा बाइबलबाट प्रभावित छ ।

जलप्लावन सम्भवतः कुनै प्राकृतिक उथलपुथलका कारण या कुनै खगोलिय पिण्ड पृथ्वीको नजिक आउनाले श्रृजित गुरुत्वाकर्षणका कारण आएको आँधी या अतिशय ठुलो सुनामी वा कुनै अतिशय ठुलो हिमाच्छादित स्थानको हिउँ पग्लेर भएको अनुमान लगाउन सकिन्छ ।

इतिहासमा मोहनजोदडो र हडप्पा सभ्यता मासिनुका अनेकन् कारणहरूको बारेमा चर्चा गरिएको छ र ती मध्ये पानीले बगाएर ल्याउने माटोको पत्रको आधारमा कुनै बाढीले यो सभ्यता मासिएकोमा धेरै विद्वानहरू सहमत छन् । यसैले यही जलप्लावनका कारण मोहनजोदडो हडप्पा सभ्यता मासिएको कुरा मान्न सकिन्छ । मोहनजोदडो र हडप्पामा पाइएका काँस्य मूर्तीहरूको आधारमा यो सभ्यता निश्चय नै काँश्य युगको थियो भन्ने प्रमाणित हुन्छ । उत्खननबाट पाइएका विभिन्न मोहरका आधारमा लिपिको भने विकास नभइसकेकोले चित्राक्षर लिपि नै यति बेला प्रचलित थियो भन्न सकिन्छ । सिन्धु सभ्यताको काल निर्धारण गर्दै फाब्रीले २८०० देखी २५०० इ.पू. र हीलर २३०० देखी १५०० इ.पू. मानेका थिए । तर अहिले आएर कार्बन डेटिङका आधारमा यस सभ्यतालाई १९०० ई. पू.को सभ्यता मानिएको छ (बि.बि. लाल, दि सरस्वती फ्लोज आन, पृ.२२) । ताम्रयुगको समाप्तिपछि काँस्य युग र काँस्य युगपछि लगभग १२०० ई. पू. लाई लौह युगको सुरुवात भएको समय मानिन्छ । सिन्धु सभ्यता निश्चय नै ऋग्वेद अगाडिको ठहर्दछ । सिन्धु सभ्यतामा फलाम प्रयोगको कुनै शंकेत पाइँदैन, तर आर्यहरू फलामसँग राम्ररी परिचित थिए । सिन्धु सभ्यताका मानिसहरू घोडा र पाङ्ग्राको नगण्य प्रयोग गर्दथे, तर आर्यहरू घोडा र पाङ्ग्रा (बैलगाडी र रथ) को प्रयोग गर्दथे । 

जलप्लावनको घटना मानवजातीको इतिहासको एक अत्यन्तै महत्त्वपूर्ण घटना हो । यस जलप्लावनकै कारण बृहत् आसुरी राज्यबाट विभिन्न जातीहरूको बसाई सराई पुनः हुन गएकोले पनि नयाँ युगको सुरुवात भएको मान्न सकिन्छ । जलप्लावन कथा अनुसार नाउ गएर पहाडको टुप्पोमा अडकिन्छ र केही दिनपछि पानिको सतह झर्दै गएपछि पुनः मानव श्रृष्टि सुरु हुन्छ । यो संकेत मात्र हो, गुदी कुरा भनेको जल प्रलयका कारण थुप्रो मानव बस्ती सखाप भए, मान्छेहरू भागेर अग्लो स्थानमा जान थाले, जुन स्वाभाविक पनि हो, र यस क्रममा थोरै मानिस मात्र बचे र पानी कम भएपछि पुनः मैदानी भागमा ओर्लेर श्रृष्टि चलाउन थाले । यसै क्रममा थुप्रै मानिसहरू अन्यत्रै पनि लागे र फर्किएनन् । यही जलप्लावनका कारण नफर्किएका मानवले संसारभर कथ्य रूपमा विकशित भइसकेको भारोपेली मूल भाषाको प्रसारको सुरुवात भएको हुन सक्छ । तेल र भाषा बृत्ताकार रूपमा फैलने दृष्टान्तलाई मध्यनजर गरेर हेर्दा पनि पूर्व वैदिक संस्कृतको प्रारूप उत्तरमा लिथुवानिया, मध्यमा इरान र दक्षिणमा सप्तसिन्धुसम्म फैलिएको आधारमा भारोपेली भाषाको मूल केन्द्र भने आसुरी राज्य नै मान्न सकिन्छ ।

एसिया माइनरको अनातोलिया नजिकको प्राचीन हिट्टाइट राज्यको राजधानी बोगजकोई (अंकाराबाट ९० माइल पूर्वको एक टर्किस गाउँ) मा सन् १९०७ ई.मा ह्युगो विन्क्लेरले माटोको पट्टिहरूमा छापिएका हजारौँ मोहरहरू र तिनका टुक्राहरू फेला पारे । ति मोहरहरूमा कानुन, राजनीति, धर्म, कर्मकाण्ड, इतिहास चिकित्साशास्त्र, व्यक्तिगत पत्र र घोडसवारीको लागि आवश्यक शिक्षा र अनेक साहित्य समेत थिए । यि माटाका मोहरहरूमा हिन्द-युरोपीय भाषामा लेखिएको थियो । यस प्राचीनतम लिखित सामग्रीलाई कार्वन डेटिङ गर्दा ई.पू.१४०० को मानिएको छ । यस अभिलेखमा वैदिक देवताहरू मित्र, वरुण, नासत्यस र इन्द्रको नाम उल्लेख छ । यी देवहरूलाई खत्ती (हिटाइट, हित्ती) र मितानी जाती बीचको सन्धीमा साक्षीको रूपमा राखिएको छ, तर अग्निलाई भने राखिएको छैन । साक्षमा ती देव राखिनुले मित्र, वरुण, नासत्य र इन्द्र त्यतिवेला सशरीरका थिए भन्ने अनुमान लगाउन सकिन्छ । अग्नि अवेस्तावादीको देवता भएकोले साक्षीमा राखिएन । बोगजकोईको अभिलेखमा मित्र, वरुण आदिका अतिरिक्त दशरथ र आर्ततम जस्ता आर्य नामहरू पनि उल्लेख भएकोले संस्कृतको मूल प्रारूप भाषा यही भएको मान्न सकिन्छ । यहाँ प्रश्न आउँछ, ऋग्वेदमा प्रयोग भएको भाषा (वैदिक संस्कृत) सप्तसिन्धुबाट उत्तरपश्चिमतिर फैलिएको हो या उत्तरपश्चिमबाट सप्तसिन्धुमा आएको हो । बेबिलोनियाका कस्सी (कस्साइट) राजाहरूको (१७४६ देखी ११८० इ.पू.) नाम शुरिअस् (सर्य) मर्यतस् (मरुत) आदि संस्कृत मिल्दो नाम देखिन्छ । ऋग्वेदमा उत्तरपश्चिमका स्थानमा बग्ने नदिहरू (अफगानिस्तान र पाकिस्तान सहित) को नाम पाइन्छ, तर दक्षिणका कुनै नदिहरू, यहाँसम्म कि गङ्गाको नाम पनि पाइँदैन । जसरी इस्लाम धर्ममा कावातिर फर्किएर नमाज पढिन्छ, त्यसरी नै हिन्दुधर्मममा मृतक शरीरको शीर उत्तरतर्फ फर्काएर जलाईन्छ् अर्थात् उत्तर पूज्य स्थान मानिएको छ । ऋग्वेद पछिको पञ्चविशं ब्राम्हणमा सरस्वती नदि जलविहिन भएको उल्लेख छ । हडप्पामा पाइएका मोहरहरूका चित्राक्षर लिपि दायाँबाट बायाँतिर गएको छ । (इंडिया, न्यु लाइट अन दि इंडस सिविलाइजेसन, पृ८५) संस्कृत बायाँबाट दाहिने जान्छ । तर यि मोहरहरू वास्तवमा छाप लगाउनका लागि बनाइएको हुँदा छापमा भने बायाँबाट दायाँतिर नै पढिन्छ । वैदिक संस्कृत (देवागरि) र ब्राम्ही लिपिको मध्यमा यदि सिन्धु सभ्यताको चित्राक्षर लिपि अचानक विकास भएको मान्ने हो भने त्यो गलत हुन्छ, किन भने इजिप्टमा पनि चित्राक्षर लिपि पश्चात् नै अरबी लिपिको बिकास भएको थियो । हरेक चार कोषको अन्तरालमा भाषको कथ्य रूप बदलिन्छ तर लिपि विकाश भइसकेर फेरि चित्राक्षर लिपिमा फर्कनु भनेको असम्भव कुरा हो ।  

“मैले, अहुरमज्दले, दैत्य नदीको तीरमा सर्वप्रथम, श्रेष्ठतम आर्यनबीजो बनाएँ ।“ जेन्दअवेस्ता अरारत पर्वतबाट निस्किएर क्यास्पियन सागरमा मिसिने आरस नदीलाई नै दैत्य नदी मानिन्छ, जसलाई सैसेनियन कालमा अरजिज नदी भनिने गरिन्थ्यो । यही आर्यनबीजो या आर्यबीजमा सर्वप्रथम आर्यहरूको बसोबास सुरु भयो । बोगजकोई अभिलेखमा नै आर्यहरू इरानबाट पूूर्वतिर आएको साक्ष पाइन्छ । एक कथन अनुसार लगभग यसै समयमा आर्यनबीजाेबाट (हालकाे अजरबैजान) एक जातीलाई देश निकाला गरिएको थियो जो श्वेतचर्मका थिए । सम्भवतः ती निकालिएकाहरू यिनै आर्यहरू थिए जो पछि त्रिविष्टप (तिब्बत) पुगेका हुनन् । ऋग्वेदमा आर्यहरूको वर्णको बारेमा स्पष्ट उल्लेख छैन, तर ऋग्वेदमा इन्द्र र अग्निको रूप र वर्णको विवरण “निलो आँखा, गोरो वर्ण, अग्लो शरीर र सुनौला कपाल” अनुसार नै भक्त र भगवानको रूप वर्णमा अर्थात् आर्यहरूको पहिचान वर्णनमा पृथकता नहोला भनेर मान्न सकिन्छ । यसको अर्को आधार के भने, ऋग्वेदमा द्रविड र किरात दुवैलाई कुनै भेद नगरीकन कृष्णचर्म, कृष्णयोनी या कृष्णवर्ण भनिएको छ । जबकि दक्षिणको उष्ण प्रदेशमा बस्ने द्रविडहरू गोरो हुन सक्दैनन्, जो अहिले पनि छैनन् र उत्तरको समशितोष्ण या शितोष्ण प्रदेशमा बस्ने किरातहरू काला हुन सक्दैनन्, जो प्रकृतिवत् अझै पितवर्णका छन् । यसरी पृथक चर्मका काला र पितवर्णका द्रविड र किँरात दुबैलाई कृष्ण योनि (कालो सन्तान) र कृष्ण त्वक् (कालो छाला भएका) भन्दै सबैलाई असुर भनियो । यसै आधारमा किरातभूमि (किन्नर) का शम्बर र जलन्धर दुवै पितवर्णका भए पनि असुर भनिए ।

ऋग्वेदमा वर्णित इन्द्रको मूलस्थान

सम्भवतः आर्यनबीजोबाट निकालिएका घुमन्ते, पशुपालक जाती वरुण असुरको नियन्त्रित त्रिविष्टप राज्यमा आइपुगेका थिए । असुर राज्यमा देवहरूको सम्बन्ध यक्ष र राक्षस जातीसँग बढ्न गयो भने पहाडि मूल हुँदै आएकाले नाग जातीकाहरू पनि देव जातीकासँग सुसम्बन्धमा थिए । इन्द्रको जन्मको कथा अनुसार यिनि त्रिविष्टप यानी तिब्बत या आसपासको राक्षस बाहुल्य भएको स्थानमा जन्मिएको अनुमान लगाउन सकिन्छ । ऋग्वेदको चौथो मण्डलको अठारौं सूक्तमा इन्द्रको जन्मको बारेमा जान्न सकिन्छ । जस अनुसार इन्द्रको माता अदिति थिइन् । इन्द्र आफ्नो माताको गर्भमा अधिकमास रहेकालो अदितिलाई निक्कै कष्ठ भएको थियो तथापि अधिक समय गर्भमा रहेकाले नै इन्द्र अत्यन्त्यै बलशाली र पराक्रमी भएका थिए । इन्द्रले प्रसवघरमै कुषवा नामक राक्षस्नीले उनलाई खान खोजेकोले मारेको कुरा छ । एक बालकले कसैलाई मार्नु भनेको सम्भव कुरा त हैन, तर यसले राक्षस जातीसँग वेमल रहेको भने स्पष्ट पार्दछ । या त यो अतिशयोक्तिपूर्ण कथन हो या सम्भवतः इन्द्रका बाबु पनि नाइके भएका हुनाले उनैले राक्षसीलाई मारेको हुनु सम्भव छ । त्यतिबेला काँस्य हतियार प्रयोगमा भए पनि इन्द्रको हतियार भने अस्थि अर्थात् कुनै मृत जनावरको हड्डिबाट बनेको कठोर बज्र समान थियो भन्ने अनुमान लगाउन सकिन्छ । 

शतपथ ब्राम्हण ७.४.२.४० मा उल्लेख भए अनुसार देव सूर्यको, मनुस्य सोमको तथा असुर अग्निको ( जरथ्रुष्टी धर्ममा अग्नि, जल, वायु र भूमिलाई प्राकृतिक तत्त्वहरूके रूपमा पवित्र मानिन्छ । यसलाई अपवित्र गर्नुलाई पाप सम्झिइन्छ र लासलाई न त अग्निदाह गरिन्छ, न त पानीमै प्रवाहित गरिन्छ, यसको बदलामा गाड्नु नै उचित मान्छन्) उपासक थिए । शतपथ ब्राम्हणको यो वाक्यले धेरै कुराहरू तिर शंकेत गर्छ । पहिलो कुरा सूर्य उपासक देवहरू नै आर्य हुन् भन्नेतिर शंकेत गर्छ । सूर्य आदिम कालदेखि नै हरेक सभ्यतामा पूजित भएता पनि हिमाच्छादित स्थानमा बस्नेहरूको लागि सूर्य विशेष र पूजनिय हुनु स्वाभाविक हो । योरोपियहरूलाई गृष्मकाल अति प्रिय लाग्छ । पं. बाल गङ्गाधर तिलकले आर्यहरूको आदिस्थान उत्तरी ध्रुव मानेका छन् । ऋग्वेदको एक सूक्तमा दीर्घकालीन उषाको स्तुति छ । दीर्घकालीन उषा उत्तरी ध्रुबमा नै देखिन्छ । सुमेरु पर्वत क्षेत्रमा छ महिना लामो दिन र रात हुने कुरा महाभारतमा लेखिएकोले यसले पनि उत्तरी ध्रुबतिर नै शंकेत गर्दछ । तिलकको बिचारमा “ऋग्वेदका ऋचाहरू सप्तसिन्धुमा आएर लेखेता पनि आफ्नो मूलको बारेमा श्रुतीबाट सुन्दै आएको ऋषिहरूले त्यतातिर शंकेत गरेका हुन्“ भन्ने कुरा सत्य देखिन्छ । इन्द्र र अग्निको स्वरूप र वर्णको जुन वर्णन ऋग्वेदमा छ त्यस अनुसार आर्यहरू त्यतैबाट आएका हुन सक्छन् । उत्तरी ध्रुबबाट आर्यानाब्रजसम्म आइपुग्दा आर्यहरूमा रक्त समिश्रण पनि हुँदै आयो, ता पनि यी श्वेत वर्णकै रहे । ऋग्वेदमा उल्लेख भए अनुसार इन्द्र “निलो आँखा, गोरो वर्ण, अग्लो शरीर र सुनौला कपाल” भएका थिए । यस आधारमा इन्द्रलाई युरोपिय मूलको मान्न सकिन्छ । इन्द्र श्वेतमूलका भए पनि यिनको जन्मको कथा अनुसार “जन्मेपछि इन्द्रले एक राक्षसीलाई मारे“ भनिएको हुँदा यिनि त्रिविष्टप (तिब्बत) क्षेत्र आसपासको कुनै राक्षस बाहुल्य भएको स्थानमा जन्मिएकाे देखिन्छ । अथवा, राक्षस जातीसँग संघर्षरत समयमा इन्द्र जन्मिएका हुन सक्छन् । इन्द्र सोम रसका अत्यधिक शौखिन थिए । सोम अर्थात् भाँग पहाडी स्थानमा नै पाइने हुँदा इन्द्र त्रिविष्टप क्षेत्रमै हुर्किएको अनुमान लगाउन सकिन्छ । देव जातीमा युरोपिय मात्र नभइ मंगोल जातीको पनि समिश्रण भएको थियो जसको नेतृत्व यिनै अस्थि हतियार धारी इन्द्र थिए । 

लद्दाख लगायत पश्चिमी तिब्बत तथा पाकिस्तानको उत्तरी भेगमा “दरद“ भाषा परिवारका विभिन्न भाषिकाहरू बोलिने गरिन्छ । यो भाषाको रूप(रचना र ध्वनि(तन्त्र प्राचीन इरानी भाषा तथा वैदिक आर्य भाषाको नजिक छ । वेद पूर्वका आर्य–इरानी जातीहरूले हिन्दु कुश पर्वत पार गरेर “बुरुश्की“ भाषीहरू बसोबासित यस क्षेत्रमा आएर घुलमिल हुँदा दरद भाषा परिवारको जन्म भएको मानिन्छ । यसैले दरद भाषाका भाषिकाहरू वैदिक संस्कृतभन्दा प्राचीन इरानी भाषासँग धेरै नै नजिक छ । कर्णाली प्रदेशका खस भाषिकाहरूका थुप्रै शब्दहरूको ध्वन्यात्मक उच्चारण र अर्थ दरद भाषिकासँग मिल्दछ । अर्थात् प्राचीन खस भाषीहरू यतैबाट पूर्व लागेका हुन् भन्न सकिन्छ । यही दरद भाषा परिवार अन्तरगतको “शिना“ भाषा बोल्ने “ब्रोकपा“ जाती आफूलाई शुद्ध आर्य जातीको मान्दछ । यी ब्रोकपाहरू लद्दाखबाट ३० कि.मि. टाढा कलसी, दाहनु, बिमा गारकोन, दारचिक, शारचे, चुलिदान आदि गाउँका छरिएर रहेका छन् । ऋग्वेदमा वर्णित आर्यहरूको पहिचान “निलो आँखा, गोरो वर्ण, अग्लो शरीर र सुनौला कपाल” सँग यिनीहरूको शारीरिक पहिचान मिल्दछ । प्रागआर्यहरूलेझै सूर्यको पूजा गर्ने, बलि चढाउने, लास जलाउने र देवी देवताको पूजा गर्ने यी ब्रोकपा जाती (शिना भाषामा ब्रोकपाको अर्थ “घुमन्तु“ हुन्छ) प्राचीन घुमन्ते आर्य(इरानी जातीका निष्क्रमित हाँगा हुन्, जसको एक हाँगा खस जातीको रूपमा कर्णाली प्रदेशसम्म आइपुग्यो । क्यास्पियन सागरको मैदानी भागबाट निष्क्रमित घुमन्ते आर्योत्तर जातीका यी ब्रोकपा जाती आर्याना हुँदै यहाँ आइपुगेका हुन् । आफूलाई आर्य मान्ने यी ब्रोकपा जातीले पनि इन्द्रतिरै शंकेत गर्दछ ।

ऋग्वेदका २५० सूक्तहरूमा इन्द्रको वर्णन पाइन्छ भने ५० सूक्तहरूमा अन्य देवहरूको साथै इन्द्रको पनि वर्णन छ । इन्द्र शब्दको व्युत्पत्ति र अर्थ स्पष्ट छैन । धेरैजसो विद्वानहरू इन्द्रलाई चट्याङको देवता मान्दछन् । कतै यिनलाई वर्षको देवता, कतै बादल र कतै सूर्य पनि मानिएको छ । वादल, वर्षा, चट्याङ या सूर्य यी चारै तत्त्वहरू समतल क्षेत्रभन्दा माथी रहन्छन्, पर्वततिर शंकेत गर्दछन् । यी नामाकरणका आधारमा पनि इन्द्र पर्वतिय क्षेत्रका भएको अनुमान लगाउन सहज हुन्छ । एक ऋचामा इन्द्रलाई समतलभूमिका वासिहरूको अगाडि मेघको बिचबाट प्रकट भएर आएको दैविक शक्तिको रूपमा पनि देखाइएको छ । अर्थात् मेघभन्दा माथि पर्वतबाट आएका शक्तिका रूपमा इन्दलाई लिएकोले सम्भवतः इन्द्रको वास पर्वतिय क्षेत्र नै भएको अनुमान लगाउन सकिन्छ ।  

एसिया माइनरको अनातोलिया नजिकको प्राचीन हिट्टाइट राज्यको राजधानी बोगजकोईमा सन् १९०७ मा केही अभिलेखहरू फेला परेका थिए । हिन्द–युरोपीय भाषामा लेखिएको यस प्राचीनतम लिखित सामग्रीलाई कार्वन डेटिङ गर्दा ई.पू.१४०० को मानिएको छ । यस अभिलेखमा वैदिक देवताहरू मित्र, वरुण, नासत्यस र इन्द्रको नाम उल्लेख छ । यी देवहरूलाई हित्ती र मितान्नी राजाहरू बीचको सन्धीमा साक्षीको रूपमा राखिएको छ, तर अग्निलाई भने राखिएको छैन । साक्षमा ती देव राखिनुले मित्र, वरुण, नासत्य र इन्द्र त्यतिवेला सशरीरका थिए भन्ने अनुमान लगाउन सकिन्छ । इन्द्र त्यतिबेला प्रतापी भइसकेका र असुराजकी पुत्री विवाह गरेकाले पनि उनलाई साक्षीमा राखिएको हुन सक्दछ । अग्नि अवेस्तावादीको देवता भएकोले साक्षीमा राखिएन । बोगजकोईको अभिलेखमा मित्र, वरुण आदिका अतिरिक्त दशरथ र आर्ततम जस्ता आर्य नामहरू पनि उल्लेख भएको छ । रामायणमा इन्द्रले रामलाई धनुषबाँड सहितको रथ पठाएको उल्लेख छ, जसलाई पछि रामले मातलिद्वारा फिर्ता गरे । रामायणमा दशरथ इन्द्रको मित्र भएकोले यसरी सहयोग गरेको उल्लेख छ । सम्भवतः बोगाजकोई अभिलेखमा उल्लेख भएका दशरथ यिनै हुन सक्छन् । यसरी साक्षी बस्ने इन्द्र पक्कै पनि त्यहीँका बासिन्दा थिएनन्, कतै अन्यत्रकै थिए भन्ने अनुमान लगाउँदा पनि उनको मूल स्थानको बारेमा तर्क गर्ने प्रशस्त ठाउँ छ । 

दशराज्ञ युद्धमा एकातिर त्रित्सु जन र सुदास थिए भने अर्काेतिर तुर्वश, मत्स्य,भृगु, द्रुह्यु, पक्थ, भलान, अलिन, विषाण र शिव, राक्षस र किर (किरात) गरेर दश जनहरू सम्मिलित थिए जो विश्वामित्रको ऋचाका अनुसार यज्ञादी कर्म गर्दैनन् थिए । यस युद्धमा ६६ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको उल्लेख छ ।

ऋग्वेदमा एक श्लोक छ,
युवां हवन्त उभयास आजिष्विजणन्द्रं च वस्वो वरुणं च सातये
"यत्र राजभिर्दशभिर्निबाधितं प्र सुदासमावतं तुत्सुभिःसह ।"

धनको इच्छा गर्दै दुवै पक्षले इन्द्र र वरूणलाई सहायताको लागि बोलाए तर दस राजाहरूबाट तिमीले संकटग्रस्त सुदासको रक्षा गर्याै । यी श्लोकले इन्द्र तथा वरूणलाई वेतनभोगी योद्धा (मर्सिनरी) हो कि भन्ने भान गराउँछ । या इन्द्र र वरुण कुनै अन्य जन या जनका सेनापति पनि हुनसक्ने सम्भावना छ ।

दाशराज्ञ युद्धमा सुदासको विरोधमा बाँकी आर्यजन एक भएका भए पनि उक्त युद्धमा सुदासको विजय भएको थियो । द्रुह्यु जातीको विस्तार सम्भवत् वितस्ता नदिको किनारसम्म थियो । सातौँ मण्डलको एक ऋचामा सुदासका पुरोहित वशिष्ठ भन्छन, "शंबरसँग दिवोदासको लामो युद्ध पश्चात् इन्द्रले दिवोदासको लागि दस्यू राजा शंबरको ९९ दूर्गहरू नष्ट गर्नुका साथै शंबरको पनि हत्या गरेका थिए ।" दिवोदासको लागि इन्द्रले शंबरको दूर्गहरू नष्ट गरेर हत्या समेत गरि दिनु अलि अनौठो लाग्दछ । शंवरको हत्या गर्ने इन्द्र या त दिवोदासको सेनापति हुनुपर्छ, या हैन भने वेतनभोगी योद्धाका नाइके (मर्सिनरी सोल्जर्स) पनि हुन सक्दछन् । ऋग्वेद चौथो मण्डलको एक ऋचामा (४.२६.३) इन्द्रले प्रथम पुरुष भएर अहं पुरो मन्दसानां व्यैरँ नव साकन्नवतीः शंबरस्यः भनेको आधारमा पनि इन्द्र बेतनभोगी योद्धा भएको छनक मिल्दछ । स्विजरल्याण्डका एक जाती पछिल्ला कालसम्म यसै गरी पैसा लिएर जो कोहीको पक्षबाट युद्धमा शरीक हुन्थे । तथापि ऋग्वेदमा वर्णित हरेक युद्धको श्रेय प्राय इन्द्रलाई नै दिइएको हुनाले र इन्द्र प्रथम पूज्य देवता पनि भएको हुनाले युद्ध अगाडि उनैको आराधना गरेर विजय पश्चात् विजयको श्रेय इन्द्रलाई नै समर्पित गरिएको पनि हुनसक्छ । या इन्द्र र वरुण कुनै अन्य जन या जनका सेनापति पनि हुनसक्ने सम्भावना छ । यस आधारमा पनि इन्द्र इरान या सप्त सिन्धुका नभएका र कतै अन्तैबाट आएका प्रष्ट हुन्छ ।

ऋग्वेदमा पहिलो मण्डलमा शशरीर भएका इन्द सातौँ मण्डलसम्म आइपुग्दा भने शशरीर नभएर देव तुल्य भएका छन् । ऋग्वेद ७.१८.१३ मा वशिष्ठ ऋषि इन्द्रलाई पुरुहरूलाई  जित्न सकौँ भनेर प्रार्थना गर्छन् । यी वशिष्ठ एक व्यक्ति होइनन्, पद हो, यिनि बिभिन्न पाँच जनका पुरोहित भएको देखिन्छन् । तर यि पाँच जन मध्यै कतिपय जनहरूको मुखिया पद भने इन्द्र नै भएको देखिन्छ भने कतै इन्द्र पद सेनापति समान पनि देखिन्छ (ऋ.६.२१.११) । किन भने ऋग्वेदकै कतिपय ऋचाहरूमा यिनै इन्द्रका पराक्रमको वर्णन गरिएकोले ती शशरीर भएका देखिन्छन् । तथापी यि पाँचै जन अग्नि उपासक भने थिए । ऋग्वेदमै उल्लेखित सूक्तहरूमा चर्चित इन्द्रका अन्य कार्यहरू भने केवल एक इन्द्रबाट भएको मान्न सकिन्न । यस अर्थमा इन्द्र पहिला शशरीका थिए र पछि गएर इन्द्र एक पद या पद्धति हुन गएको सहजै अनुमान लगाउन सकिन्छ ।

नाग जातीहरू भने पहाडी जाती थिए । यिनिहरूको मूल कास्मिरतिर मानिए पनि सम्भवतः यी जातीको मूल पनि त्रिविष्टप क्षेत्र नै हुनुपर्छ । शिउ या स्यु, जो प्रकृति पूजकका देव थिए, ती देवका पूजक र नाग जाती बीच पनि अगाध मित्रता भएको देखिन्छ । त्यसैको प्रतीक पछि शिवको गलामा नागलाई रुद्रगहना बनाइयो । वृत्रलाई छलपूर्वक इन्द्रले मार्दा यी नागजातीले इन्द्रलाई सहयोग गरेबाट त्रिविष्टप क्षेत्रमा आर्यहरू रहँदा दुवै जाती बीच मेल रहेको देखिन्छ । अर्को सम्भावना के पनि देखिन्छ भने यि दुबै जाती मध्ये आर्यमूल उत्तरबाट र नागमूल मङ्गोलियातिरबाट तिब्बतसम्म आइपुग्दा बीचमा कतै मेल भएको पनि हुन सम्छ । काजकिस्तान आदि क्षेत्रका मानिसहरूको बनावट युरोपिय र मङ्गोल दुबै जातीको रक्त मिश्रित देखिन्छ । यिनै श्वेतवर्ण, पित केश र निर रङ्गका आँखा भएका जातीलाई शतपथ ब्राम्हणमा देव जाती भनिएको छ ।

आर्यानाब्रजमा त्यतिबेला असुर जातीको अधिपत्य थियो । प्रारम्भिक इन्द्र पहिला शशरीर एक व्यक्ति थिए जसले इन्द्रले असुरराज पुलोमाकी पुत्री शचीसँग विवाह गरेका थिए । अर्थात आर्य र असुरहरूका बीच त्यतिबेला राम्रो सम्बन्ध थियो । तर पछि गएर इन्द्र आर्यहरूको नेतृत्व गर्ने पद हुन गयो । त्यतिबेला फलाम प्रयोगमा आइनसकेको हुँदा हतियारमा प्रयोग हुने मूख्य धातु काँस थियो । त्रिविष्टप क्षेत्रमा काँस भित्रीए पनि या काँस्य हतियार प्रयोगमा भए पनि त्रिविष्टपबाट क्षेत्रबाट आर्यानाब्रज आएका आर्यहरू मध्ये इन्द्रको हतियार भने अस्थि अर्थात् कुनै मृत जनावरको हड्डिबाट बनेको कठोर बज्रझैँ हतियार नै थियो । देव जातीमा युरोपिय मात्र नभइ मंगोल जातीको पनि रक्त समिश्रण थियो, अर्थात् त्रिविष्टप पुगेका देव जातीमा युरोपिय मात्र नभइ मंगोल जातीको पनि समिश्रण भइसकेको थियो । तथापि, मूल नाग जातीको एक जत्था कास्मिरतिर आएको पनि हुन सक्छ । देवहरूकाे सम्बन्ध यक्ष जातीसँग बढ्न गयो । जसरी इन्द्र आर्य जातीको नेतृत्वकर्ता पद थियो, त्यसरी नै वेदमा उल्लेखित मित्र पनि कुनै जातीको नेतृत्वकर्ताको पद या महान् योद्धा हुन सक्छन् । यही आधारमा बरुण पनि असुर जातीको नेतृत्वकर्ता पद नै थियो । वरुणको मृत्यु पश्चात् उनका पुत्र बल वृसयले नेतृत्व गरे तर उनको मृत्यु पश्चात् भने सायद नेतृत्वलाई लिएर इन्द्र र बल वृसयका पुत्र वृत्रको बीचमा संघर्ष सुरु भयो । यस संघर्षमा नाग जाती र यक्ष जातीको सहयोगमा देवजातीको नेतृत्व गरिरहेका इन्द्रले छलले वृत्रलाई मारे र असुरहरूलाई हराए । सुर असुर भेद हुन जानुको प्रथम कारण यही थियो । यस युद्धको असर वैरता भने पछिसम्म पनि देखिन्छ । यक्ष जातीलाई अनार्य भन्नू र नाग जातीलाई महाभारत कथा अनुसार थुप्रै पटक नष्ट गर्ने यदु र कुरुवंशीहरू असुर जातीकै उपज देखिन्छन् । 

आर्यहरू यज्ञादी गर्दथे तथापि उनिहरूमा मृतक शरीरलाई अग्निस्थ गर्ने संस्कार थियो । असुरहरूले आर्यबाट यज्ञादी संस्कार त सिके तर यी जाती अग्नि उपासक भएकोले मृतक शरीर अग्निदाह भने गर्दैनन् थिए । यही भेद पछि सुर असुर संघर्षको अर्काे कारण बन्यो । शतपथ ब्राम्हणमा उल्लेख भएको सोम (शिव) उपासक मनुष्य किरात तथा अन्य प्रकृति पूजक जाती थिए ।

स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो ब्रिहस्पतिर्दधातु

“महान कीर्तिधारी इन्द्र हाम्रो कल्याण गरुन्, विश्व को ज्ञान स्वरूप पूषादेव हाम्रो कल्याण गरुन् । अटुट हथियार भएका गरुड भगवानले हाम्रो मङ्गल गरुन्, बृहस्पतिले हाम्रो मङ्गल गरुन् ।“

इन्द्र, मित्र, वरूण र पूषा क्यास्पियन सागरतिरका थिए । यिनीहरूमा फलामको ज्ञान थिएन, विषेशतः पराक्रमी इन्द्र हड्डीको हतियार (बज्र) प्रयोग गर्दथे । मित्र र वरूण पूर्व वैदिक कालमा इरानमा मान्य थिए । इन्द्रले नै पछि असुरहरूको नेतृत्व गरे, दशराज्ञ युद्ध गरे । पछि इन्द्र पद हुन गयो । रक्त समिश्रण नहुन्जेल वैदिक कालमा स्वेतहरूकै वर्चस्वः थियो । रक्त समिश्रण पश्चात् अश्वेतहरू पनि शक्तिमा आउन थाले र विभेद बढ्दै गयो । यो विभेद पुराण कालमा आएर छताछुल्ल भयो । वेदका स्वेत देवहरूलाई नगन्य स्थान दिइयो । पुराणमा इन्द्र पतित बनाइए, पूषा विलुप्त भए, बृहस्पति केवल देवताका गुरु मात्र रहे र गरुड विष्णुको वाहनमा (दास बराबर) सीमित भए ।

ऋग्वेदमा उल्लेखित दाशराज्ञ युद्ध लामो समय चलेको युद्ध थियो । सुरुमा एक भएर आएका आर्यहरू बीच यसबेला फुट भएको देखिन्छ । आर्यहरूमा फुट हुनुको मुख्य कारण मिलित जन नै थिए । दिवोदासले सम्बर युद्धमा सबै आर्यजनलाई एक गरेका थिए तर दिवोदासका पुत्र सुदास राजा भएपछि सायद त्यो एकता कायम हुन सकेन, यसैले सुदास एक्लिन पुगे । आर्य जन बीच क्षेत्र या लुटिएको धनलाई लिएर मनोमालिन्य भएको या सुदासका अतिरिक्त अन्य आर्य जन पूर्ववत् स्वतन्त्र पशु चरणमा नै मग्न हुन चाहन्थे । आर्य मध्ये पनि यज्ञादि गर्ने देव जनहरू र यज्ञादिमा विश्वास नगर्ने तर तन्त्रमन्त्रमा विश्वास गर्ने असुरहरू जो अग्निलाई पवित्र मान्दथे र अग्निमा मृतक देहको दाहसंस्कार कार्यलाई अपवित्र कार्य मान्दथे । देव जातीमा मृतकलाई गाड्ने प्रचलन पनि थियो, तर दक्षिणतिर आएपछि दाउराको सुविधाका कारण गाड्ने प्रचलन नगण्य हुन गयो । देव र असुर जाती बीच मतभेदको कारणमध्ये अग्निको प्रयोग पनि एक कारण थियो । 

ताके बोस्तानको शिलामा सासानी सम्राट शापुरलाई राज्यभार ग्रहण गर्दै गरेको शिलाचित्र कुदिएको छ जसमा बायाँ मित्र, दायाँ अहुर मज्द र बीचमा ससानी सम्राट छन् । ऋग्वेदमा वरुणलाई असुर महत् (अहुरमज्द अवेस्तामा) उल्लेख भएको भने मित्र लाई मित्रावरुण, र मित्रावरुणलाई पनि देवौअसुरौ भनिएको छ । असुर शब्द मुख्यतः वरुणको लागि प्रयोग गरिएको छ । जेन्दअवेस्तामा उल्लेख भएको अहुरमज्द नै वेदमा गएर असुर महत् हुन पुगेका छन् भने मिथ्र मित्र देवका रूपमा उल्लेख छन् । पूर्व बैदिक कालमा सुर असुर दुवै एकेश्वरवादी नै थिए र जेन्द अवेस्तामा उल्लिखित अहुरमज्द (परमदेव) दुवैका मान्य थिए । एकै थलोमा बसोबास गर्ने यी आर्यहरू पछि मतभेद उत्पन्न हुनाले छुट्टिन पुगेको देखिन्छ । वेद तथा जेन्दअवेस्तालाई दाँजेर यसका भाषाकै आधारमा पनि मूल थलोबाट प्रव्रजन (देशान्तर) भएको स्पष्ट देखिन्छ । यसरी मूल थलोबाट देशान्तर हुनाको कारण थुप्रै हुन सक्छन् । वंशबृद्धिका कारण भूमि र अनाजमा कमी, देशान्तर गर्ने अभिप्राय, राजनीति, आपसी द्वेष, युद्ध, भिन्न बिचार र धार्मिक आस्थामा मत भिन्नता आदि थुप्रै कारणले मूल भाषीहरूले देशान्तर गरेका हुन सक्छन् । जेन्द अवेस्ता र वेदलाई समानान्तर राखेर अध्ययन गर्ने हो भने राजनीति, युद्ध र धार्मिक आस्थामा मतभेद प्रष्ट देखिन्छ । वेदले इन्द्रलाई प्रधान देवता मान्दछ । राहुल सांकृतायन इन्द्र देवता नभएर मुखिया पद मान्दछन् । पद या देवता जे भए पनि इन्द्र वैदिक युगपूर्वका सत्ताधारी प्रमुख व्यक्ति भएको देखिन्छ । यिनै इन्द्रको सर्वोच्चतालाई हाँक दिने कार्य सर्वप्रथम त्वष्टाले गरेको देखिन्छ । त्वष्टाका पत्नी र पुत्र विश्वरूप पनि त्वष्टा सरह इन्द्रका विरोधी थिए । एक दिन इन्द्रले विश्वरूपको हत्या गरिदिए । विश्वरूपको बध पश्चात् वैदिक युग पूर्वका आर्यहरू बीच फाटो आएर खुल्ला सङ्घर्षको सुरुवात भएको देखिन्छ । वेदमा उल्लिखित बलशाली बृत्त असुर या बृत्तासुर (परावैदिक कालमा सुर असुर भिन्नता नभएकोले दुवैलाई असुर नै उल्लेख गरिएको पाइन्छ) त्वष्टाद्वारा पालित या चेला थिए, जो इन्द्रको विरोधी र त्वष्टाका समर्थक थिए । विश्वरूपको हत्या पश्चात् यिनै बृत्तासुरले इन्द्रलाई हायल कायल पारे । पुराणको कथा अनुसार बृत्तासुरको बध गर्न दधिचीको हाडबाट बज्रको निर्माण भयो र त्यही बज्रले बृत्तासुरको बध इन्द्रले गरे । बृत्तासुरको अन्त्य पश्चात् भने त्वष्टा समर्थकहरू मूल स्थानबाट देशान्तर हुन बाध्य भए । त्वष्टालाई वरुणले पनि समर्थन गर्ने भएकोले वेदमा पछि आएर वरुणको सम्मान नगण्य हुन पुगेका कारण पनि यही हो । यहीँबाट इन्द्र विरोधीहरू असुर कहलाइए भने उता अवेस्ताले इन्द्रलाई दुष्टको संज्ञा दिन थाल्यो । जेन्द अवेस्ताको प्रथम पुस्तक बेन्दिदादको पहिलो फर्गदमा आश्रयको खोजीमा हिँडेका त्वश्टा पुगेको सोह्र स्थानको वर्णन सहित अन्तिम स्थान रंघ नदीको किनार भनिएको छ, जुन अहिले ईरानमा पर्दछ । वेद इन्द्र समर्थक ऋषिहरूले लेखेका हुँदा वेदमा इन्द्रको स्तुति र त्वष्टाको निन्दा छ, जब कि, अवेस्तामा अहुर्मज्द (असुर महान्) भनेर वरुणको महिमा गान गर्दै इन्द्रको निन्दा गरिएको छ । असुरहरू सुरहरूलाई यतिसम्म घृणा गर्दथे कि इरानीहरूले गर्ने यज्ञोपवित जस्तै संस्कारमा इन्द्रको विरोध गर्ने शपथ लिन लगाइन्थ्यो । 

आर्य या अनार्य दुवैका लागि अग्नि पवित्र थिए । तर अग्निको पवित्रतालाई लिएर तब विवाद श्रृजना भयो जब सुरहरूले दाहसंस्कारमा मृत शरीरलाई अग्निसमाधीस्थ गर्न थाले । जब कि असुरहरू अग्निलाई पवित्र मानेर मृतक शरीरलाई जलाउनुको साटो चिल कौवालाई खुवाउँछन् या धर्तिमा गाड्छन् । यो संस्कार आज पर्यन्त दुवैमा छ । पारसीहरूले अझै प्राचीन पद्धति अनुसार नै अग्निपूजा गरेझैँ गर्दछन् । यही अग्निको प्रयोगलाई लिएर पनि सुर असुर बीच विवाद बढेको देखिन्छ । देवासुर संग्राममा उल्लेख भएको सुर र असुर बीचको सङ्घर्षको कथाहरू यिनै सङ्घर्षको कथा हो ।

इन्द्रपतन

सप्त सिन्धुमा पनि आर्यहरू एकै पटक आएका भने हैनन् । आर्यहरूले सप्त सिन्धुआफ्नो अधिनस्त गर्नु अगाडि नै थुप्रै आर्यहरू यहाँ आएर बसिसेकका थिए र स्थानिय जातीसँग रक्त समिश्रण भइसकेको थियो । यस पछि सप्त सिन्धुमा आएका आर्यहरू पनि सबै विशुद्ध एकल आर्य जातीका भने थिएनन् । अपितु यसरी आएका आर्यहरूमा हित्ति, कस, पार्थ, यक्ष, सोकोल, राक्षस, कूर्म, गुप्त मात्र हैन गोफ, सुदामो जस्ता कृष्णवर्णका जातीहरूका मानिस पनि मिसिएर आएका थिए । तथापि, सुरुमा स्वेतवर्णका आर्यहरूको प्रधानता थियो जो इन्द्रलाई मान्दथे । सप्तसिन्धव आउँदा नै इन्द्र मान्ने वैदिक आर्य र इन्द्र नमान्ने आर्यहरू छुट्टिइसकेका थिए । सप्त सिन्धुमा यिनै इन्द्र मान्ने आर्यहरूको बहुलता थियो । वेदका ऋचाहरू एक समान नहुनु र विचारमा विविधता या द्वन्द्व हुनुको कारण यही जातीय पृथक् मत हो । उदाहरणको लागि गोमांस भक्षणलाई लिन सकिन्छ । शितोष्ण प्रान्तबाट आएका आर्यहरूले वेदमा गोमांसको समर्थन गरे । हिमाच्छादित प्रदेशमा धेरै टिक्ने भएकोले अधिक मांसधारी गोरु काटिनु स्वाभाविक हो र यसैको स्वाद प्रचलनका कारण गोमांस भक्षण मान्य भयो तर यसको विपरीत उष्ण प्रदेशबाट आएका या रैथाने जातीको लागि भने यो अमान्य भयो । यसैले वेदमा गोमांसलाई लिएर पृथक् विचार वोकेका ऋषिहरूले पृथक् ऋचाहरू लेखेका छन् ।

इन्द्रलाई मान्ने र नमान्ने दुवै बिचारका ऋषिहरू वेदकाल अघिदेखि नै हुनुको पछाडि यही जातीगत कुरा थियो । फलतः अहुरमज्द मान्नेहरू र इन्द्र मान्नेहरू सर्लक्क छुट्टिए, इन्द्र मान्नेहरू सप्तसिन्धु आए । अहुरमज्द मान्नेहरू उत्तरपश्चिममै छुटे, तर दक्षिणपूर्व आएका आर्यहरूसँग फेरि माथि उल्लेख गरिएका जातीहरू पनि आए । तर जातीय कारणले गर्दा इन्द्रलाई नै प्रमुख देव मान्ने नमान्ने द्वन्द्व भने चली नै आएको देखिन्छ । वेदका ऋचाहरूमा मतैक्यता नहुनु पछाडिको कारण पनि यही जातीगत विचार नै थियो । इन्द्र मान्ने र नमान्ने आर्यहरूको बीच भेद रामायणमा अहल्याको कथाबाट देख्न सकिन्छ । अहल्या ब्रम्हाको मानसपुत्री थिइन् । गौतम ऋषिको ब्रम्हचर्यबाट प्रसन्न भएर ब्रम्हाले गौतमको सेवाको लागि अहल्या दिएका थिए । अहल्या अतिव सुन्दरी थिइन् । उनलाई आफ्नो रूपको घमण्ड थियो । एक पटक इन्द्रको (धेरैले देवराज इन्द्र मान्दछन्, बचाउमा कोही देवराज इन्द्र नभएर चन्द्रवंशी राजा कुशिकको पुत्र कौशिक इन्द्र हुन् भन्दछन् ) नजर उनमा पर्यो र कामुक भए र सहवासको लागि अनुरोध गरे । बिहान गौतम ऋषि स्नान गर्न गएको बखत उनले ऋषिको भेष धारण गरे र अहल्यासँग समागम गरे । स्नान गरेर र नगरिकनै फर्किएका ऋषि गौतमले दुवैलाई पक्रे र दुवैलाई श्राप दिए ।

विद्वानहरूले भाव दुषित माने पनि अहिल्यालाई पवित्र मान्ने आधार छैन । छलपूर्वक नै बालत्कृत भएको भए उनैले इन्द्रलाई श्राप दिनु पर्ने थियो । जब कि गौतमले दुवैलाई श्राप दिएकाले उनी पनि सहभागी थिइन् भन्ने प्रष्ट हुन्छ । अर्को कुरा सहवास पश्चात् अहल्याले “कृतार्थास्मि“ भनेकी छिन् । इन्द्रले समेत प्रशंसा गरेर सहवासको लागि याचना गरेकाले रूपमा गर्वित अहल्याले यसलाई आफ्नो पराक्रम ठानिन् र सहवासमा सरिक भइन् । अन्यथा आफू सहभागी नभइकन छलपूर्वक सतित्व नष्ट गर्नेलाई धन्यवाद भन्नुको औचित्य के ? तुलसीदासले पनि रामायणमा अहल्या र इन्द्रको सहवासको कुरा उल्लेख गरेका छन् ।

इन्द्र मान्ने र नमान्ने द्वन्द्व भने आखिरमा व्यास कालमा आएर छताछुल्ल भयो । व्यास पराशर ऋषिका पुत्र थिए जो कृष्ण वर्णकी अनार्य मत्स्यकन्याबाट जन्मिएका थिए । मातृसत्तात्मक त्यो युगमा इन्द्र मान्ने आर्य जातीलाई आखिरमा रैथाने अनार्य कृष्ण जातीका व्यासले पराजित गरिदिए । गोवर्धन पर्वत उठाएको कथाद्वारा व्यासले एकातिर इन्द्रको पतन गराए भने अर्काेतिर आफ्नै जातीको कृष्णलाई देवता मात्र मनाएनन्, विष्णुको पूर्ण मानव अवतार समेत प्रमाणित गरिदिए । महाभारतका कथाहरू (प्रक्षिप्त) व्यास पक्षकै कृष्ण जातीको लेखनी हो जहाँ कृष्णलाई अवतार मानिएको छ । गीताले त कृष्ण नै सम्पूर्ण भनिदिएको छ । आर्य र कृष्ण जातीको द्वन्दकै कारण पछि पुराणका कथाहरूमा इन्द्रलाई कामी, लोभी, छली आदि देखाएर चरित्रहत्या गर्दै उछित्तो काढिएको छ । यसरी कृष्णको स्थापना र इन्द्रको पतन पछाडिको कारण यही जातीय द्वन्द्व हो । अन्यथा इन्द्र मान्दै आएका आर्यले नै बिस्तारै वरुण, मित्र, अग्नि (अग्निलाई त महादेवको वीर्य समेत निल्न लगाइएको छ) हुँदै प्रमुखदेव इन्द्र कै समेत पतन गराउने कुनै कारण छैन । सप्त ऋषिका पत्नीहरू महादेवको लिङ्ग देखेर, “तप गर्दै बसेका हाम्रा कमजोर पतिहरूले कामसुख दिन सक्दैनन्,” भन्दै लोभिएर पछि लाग्नुले एकातिर यो कथा लेख्ने ऋषिले जातीय चरित्र उजागर गरेको छ भने अर्कोतिर महादेव पृथक् जातीको देवता थिए भन्ने प्रस्ट देखिन्छ । अन्यथा आफ्नै जातीका ब्राह्मणलाई यसरी हियाइन्न थियो । पुराणादीमा भएका यस्ता विभिन्न कथाहरूले आर्यहरू भित्र पनि अन्य जाती थिए भन्ने स्पष्ट हुन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै