काठमाडौँ । महिनौको गतिरोधलाई तोड्दै बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले इयूसँग ऐतिहासिक सम्झौता भएको घोषणा गरेका छन् ।
प्रधानमन्त्री जोनसनले पुरै युरोपका लागि यो सम्झौता 'राम्रो डिल' भएको बताएका छन् । यसको साथै डिसेम्बर ३१ देखि बेलायत युरोपियन युनियनको व्यापार नियमबाट बाहिर आउने छ ।
बेलायत एक बर्ष अघि २०१९ डिसेम्बर ३१ देखि २७ सदस्य रहेको युरोपियन युनियनबाट आधिकारिक रुपमा बाहिरिएको थियो ।
सम्झौतापछि दुवै पक्ष बेलायत र युरोपियन युनियनले खुशी व्यक्त गरेका छन् । दुवै पक्षले सम्झौता नभएको भए दुवै पक्ष एक अर्कालाई ठुलो मात्रामा कर लगाउने र व्यापार अस्तव्यस्त हुने अवस्था आउनसक्ने बताएका थिए ।
यो सम्झौतापछि उद्योग र व्यापार क्षेत्रमा कैयौं परिवर्तन हुने भएको छ । यो सम्झौतापछि बेलायतका ब्यापारीहरुले आयातमा ठुलो करलाग्ने डरबाट मुक्त भएका छन् ।
सम्झौतापछि युरोपियन कमिशनकी प्रमुख उर्सुला भोन डेर लेयनले यो एक लामो र मुश्किल बाटो हुदै राम्रो सम्झौतामा पुगिएको प्रतिक्रिया दिएकी छन् । उनले सम्झौता निष्पक्ष र सन्तुलित भएको बताएकी छन् ।
प्रधानमन्त्री जोनसनले हरेक बर्षको ६६८ बिलियन पाउण्डको यो सम्झौता भएको भन्दै यसले यो सम्झौताले पुरै देशमा नोकरी बचाएको बताएका छन् । उनले बेलायतको समान इयूको बजारमा बिना कुनै कर या निश्चित कोटाको आधारमा जाने सुनिस्चित भएको बताएका छन् ।
सम्झौता भएपछि अब लागु हुन बेलायत र इयूको संसदबाट पारित हुनुपर्दछ । बेलायतको संसदमा यो सम्झौता डिसेम्बर ३० मा पेश हुदै छ ।
बेलायतमा विपक्षी लेबर पार्टीले सम्झौताको समर्थन गर्दै सम्झौताको पक्षमा मतदान गर्ने घोषणा गरेको छ ।
एक हजार पन्नाको यो सम्झौता बारेको विवरण भने अझै सार्बजनिक भइसकेको छैन । तर अहिलेसम्म बाहिर आएको विषयमा बेलायत र इयूको सीमाबाट हुने व्यापारमा एक अर्काको उत्पादनलाई कुनै किसिमको कर लगाउने छैनन् भने दुवै पक्षको व्यापारमा कुनै कोटा तोकिएको छैन ।