काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले मुलुकको वर्तमान अवस्था र सुरक्षा चुनौतीका विषयमा छलफल गरेको छ ।
नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक’ सम्पन्न भए लगत्तै बसेको सुरक्षा परिषद्को बैठकले मुलुकमा देखापरेका विभिन्न चुनौतीहरू र राज्यले अपनाउनु पर्ने सुरक्षा सतर्कता तथा सजकताका विषयमा पनि छलफल भएको जनाएको छ ।
सेनाको पृतनापति समन्वयात्मक बैठक गत आइतवार २ गतेबाट शुरु भएर मंगलवार ३ गते सम्पन्न भएको थियो । सोही बैठकमा उठेका विषयका सम्वन्धमा पनि सुरक्षा परिषद्को बैठकमा छलफल र विश्लेषण भएको बताइएको छ ।
साथै बैठकमा कोरोना संक्रमण र नियन्त्रणको बारेमा समेत छलफल भएको बताइएको छ । कोरोनाको बढ्दो संक्रमण र प्रतिवन्धित समूहका गतिविधिहरू मुख्य चुनौती रुपमा देखिएको जनाइएको छ । साथै बैठकमा शान्ति सुरक्षाको अवस्था र विकसित घटनाक्रमको विश्लेषणसँगै सुरक्षा चुनौती र प्रतिकार्य योजान बारे पनि छलफल भएको छ ।
राष्ट्रिय सुरक्षा परिषद् बैठकमा परिषद् सदस्यहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, मुख्य सचिव शंकरदास बैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव सदस्य–सचिव रेश्मीराज पाण्डे सहभागी थिए ।









