• २०८३ असोज १ बिहीबार

अभिषेक शर्माको ३० बलमै कीर्तिमानी शतक

अभिषेक शर्माको ३० बलमै कीर्तिमानी शतक

काठमाडौं । भारतीय ब्याट्सम्यान अभिषेक शर्माले अफगानिस्तानविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० बलमै शतक प्रहार गर्दै पूर्ण सदस्य राष्ट्रका ब्याट्सम्यानमध्ये सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गरेका छन् ।

दिल्लीमा विहिबार राति भएको खेलमा अभिषेकले ३० बलमा शतक पूरा गर्दै जिम्बाब्वेका सिकन्दर रजा र न्युजिल्यान्डका फिन एलेनको ३३ बलको कीर्तिमान तोडेका हुन् । एलेनले सन् २०२६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध तथा रजाले सन् २०२४ मा गाम्बियाविरुद्ध ३३ बलमा शतक बनाएका थिए ।

अभिषेकले १६ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि थप १४ बलमा शतक पूरा गरेका उनले अन्ततः ३४ बलमा १०८ रन बनाएर आउट भएका थिए । उनले नौ चौका र ११ छक्का प्रहार गरेका थिए । 

यो अभिषेकको टी–२० अन्तर्राष्ट्रिय खेलमा तेस्रो शतक हो । भारतीय ब्याट्सम्यानमध्ये रोहित शर्माले पाँच तथा सूर्यकुमार यादवले चार शतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतकको कीर्तिमान भने एस्टोनियाका साहिल चौहानको नाममा छ, जसले सन् २०२४ मा साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै