• २०८१ जेठ ४ शुक्रबार

उत्खननको पर्खाइमा धारापानीका तामाखानी

kharibot

फाइल तस्वीर

गलेश्वर । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीस्थित तीनवटा तामाखानी संरक्षण र उत्खननको पर्खाइमा छन् ।

धारापानी गाउँको शिरमा अवस्थित डुङडुगे, मसिनखानी, तोपाखानीमा रहेका तामाखानी वर्षौँदेखि अलपत्र अवस्थामा रहेका हुन् । खानी उत्खनन गर्ने यन्त्र उपकरणको अभाव र सम्बन्धित निकायको बेवास्ताका कारण प्रयोगविहीन अवस्थामा रहेको स्थानीयवासी तेजेन्द्र थापाले बताए ।

धारापानीबाट करिब आधा घण्टाको पैदलयात्रामा पुगिने उक्त स्थानमा पुरानो खानी जाने बाटो पुरिएको छ भने दुई खानीमा सहजै पुग्न सकिन्छ । पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुङ्गा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेको स्थानीयवासी किरण थापाले बताए । तत्कालीन अवस्थामा छिना, गल, घन, कुटो र कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन रहेको थियो ।

खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैन् । धारापानी, मच्छिम लगायत आसपासका खानीहरु लामो समयसम्म सञ्चालन भए पनि तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको स्थानीय बूढापाकाको भनाइ छ ।

खानी उत्खनन गर्न तयार गरिएको लामो सुरुङभित्र बस्ने ठाउँ छ भने बाहिरै प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेको देखिन्छ । जिल्लाको बेनी नगरपालिकासहित पाँचवटै स्थानीय तहमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिएका छन् ।

खानी सञ्चालनमा स्थानीय सरकारसँग समेत कुनै योजना छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै