• २०८१ जेठ ४ शुक्रबार

लकडाउनमा वन्यजन्तु शिकारी र काठ तस्करी बढे

kharibot

फाइल तस्वीर

नानीमैया कटवाल
सप्तरी । लकडाउनको मौका छोपेर सप्तरीमा वन्यजन्तु शिकारी र काठ तस्करी बढेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा लकडाउन जारी गरेका बेला सप्तरीको सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तु शिकारी र काठको चोरी तस्करी बढेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले लकडाउनको समयमा वन क्षेत्रमा काठ तस्करी र वन्यजन्तु शिकारमा वृद्धि हुँदै गएकाले नियन्त्रण प्रयास बढाइएको बताए । झाका अनुसार लकडाउनको मौका छोप्दै अवैधरूपमा काठ कटानी तथा तस्करी बढेपछि वन गस्तीमा तीव्रता दिइएको छ । चुरेडाँडामा रहेको पानीढलो क्षेत्रसम्म गस्ती पुगेर वन्यजन्तु शिकारी गर्ने दुई जनालाई पक्राउ गरिएको र विभिन्न स्थानबाट ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको काठ बरामद गरिएको झाले बताए ।

गोली प्रहार गरी रतुवा मृग मारेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका–१ मैन्हाका अशोक राई र मिश्रीलाल चौधरी सप्तरीको महुली सवडिभिजन अन्तर्गतको वन क्षेत्रबाट पक्राउ परेका छन् । जङ्गलमै रतुवा मृगको छाला निकाल्न पानी तताइरहेका बेला दुई पक्राउ परे पनि मृग मार्ने कार्यमा संलग्न अन्य व्यक्ति फरार भएको सहायक वन अधिकृत धनराज मण्डलले बताए ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ महुली र अमसोत खोलामा वन गस्ती टोली र काठ ओसारिरहेका तस्करहरूबीच भीडन्त भएको छ । वन गस्तीले लखेटेपछि चिरान काठ छाडी भागेकाहरू पछि ठूलो सङ्ख्यामा भेला भइ वन गस्तीलाई नै घेरा हाली आक्रमण गर्ने र काठ लुट्ने प्रयास गरेपछि भिडन्त भएको डिभिजन वन कार्यालयले जनाएको छ । आत्मरक्षाका लागि वन गस्तीले दुई राउण्ड हवाईफायर गरेपछि तस्कर भागेको र उनीहरूबाट बरामद ६.०५ क्यूफिटको छ थान चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख झाले जानकारी दिए । 

अन्य समयमा पनि चोरी तस्करी हुने गरेकामा यो अवधिमा भने झनै बढेको देखिएपछि वन क्षेत्र संरक्षणमा सक्रियताका साथ लागेको रेञ्जर लक्ष्मण साफीले दाबी गरे । “लकडाउनको समयमा चोरी तस्करी नहोला भन्ने सोचेका थियौँ”, साफीले भने, “वन कर्मचारीसँगै स्थानीयवासीको पनि आवातजावत रोकिएपछि कतिपय स्थानबाट काठ तस्करी भइरहेको सूचना पाएपछि नियमित  रूपमा निगरानीसँगै गस्ती गरिरहेका छौँ ।” गरिबी र अशिक्षाका साथै लकडाउनले बेरोजगारी बनाएर मानिस फुर्सदिला भएकाले वन तस्करी मौलाएको उनले बताए ।

वन गस्तीले विभिन्न ठाउँबाट तस्करी हुन लागेको १११.६० क्यूफिट बराबरको ५३ थान साल गोलिया बल्लाबल्ली र २९.३५ क्यूफिटको ३९ थान सालको चिरान काठ पनि बरामद गरेको जिल्ला वन अधिकृत झाले बताउनुभयो । झाले दिनुभएको जानकारी अनुसार कञ्चनरूप बलार्दह सामुदायिक वनभित्र सालको रुख काटी लुकाइछिपाइ राखेको साल गोलिया १८ थान १९.३३ क्यू फिट र सल्ला चिरान पाँच थान ०.९३ क्यूफिट बरामद भएको छ । रूपनी गाउँपालिका–६ त्रिशक्ति सामुदायिक वनभित्र लुकाइ राखेको सालको चिरान ११ थानको ८.०२ क्यूफिट बरामद भएको छ ।

त्रिशक्ति र शनिदेव सामुदायिक वनको सिमानामा पर्ने दुधैलाखोलाबाट काटेर ल्याइरहेको २० भारी दाउरा, शम्भुनाथ नगरपालिका–७ स्थित सामुदाायिक वनबाट काटी ल्याइरहेको अवस्थामा बल्लाबल्ली थान ९ को ५.०१ क्यूफिट बरामद भएको छ ।

यो अवधिमा विभिन्न वनहरूका साथै घर बरिपरी लुकाइ राखिएको काठ पनि बरामद भएको छ । कञ्चनरूप नगरपालिका–१२ स्थित जितबहादुर श्रेष्ठको घर पछाडि ९.०९ क्यूफिटको गोलिया सालको काठ छ थान, सुरुङ्गा नगरपालिका–३ मा लुकाइछिपाइ राखेको साल ११ थान २०.२३ क्यूफिट र एक हजार ५०० किलो दाउरा, शम्भुनाथ नगरपालिका–७ भगवतपुरका लम्बु सरदारको घरबाट साल चिरान थान दुईको २.३३ क्यूफिटसमेत बरामद भएको छ ।

यसैगरी शम्भुनाथ नगरपालिका–७ भङ्गहास्थित वन क्षेत्रबाट ११ क्यूफिट सालको काठ बरामद भएको छ । सहायक वन अधिकृत रामअशिष यादवका अनुसार चिरान गरिएको उक्त १५ थान काठ बरामद गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ । 

अहिले वन क्षेत्रमा हुनसक्ने चोरी शिकारीलाई दृष्टिगत गर्दै गस्ती टोलीसमेत परिचालन गरिएको डिभिजन वन कार्यालय, सप्तरीले जनाएको छ । वन्यजन्तु चोरी सिकारी र वनपैदावर तस्करी मौलाएसँगै डिभिजन वन कार्यालयले रातदिन गस्ती बढाइरहेको छ । जिल्लास्थित ६ वटै सवडिभिजन कार्यालयबाट सहायक वन अधिकृत र रेञ्जर समेतको नेतृत्वमा सात जनाको गस्ती टोलीलाई चरणबद्ध रूपमा राति तथा दिवासत्रमा खटाइ गस्ती गर्ने गरिएको डिभिजन वन कार्यालयका प्रमुख झा बताउछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै