• २०८१ बैशाख २५ मंगलबार

यातायात विभागले फेरी जारी गर्यो टुटल र पठाओलाई कारवाही गर्ने सूचना

kharibot

काठमाडौं । यातायात व्यवस्था विभागले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न सूचना जारी गरेको छ । 

विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग घेराउ गरेपछि बिभागले साँझ एक सूचना प्रकाशित गर्दै कारवाही गर्ने भनेको थियो ।

विभागको सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको बताएको छ ।

यस अघि २०७५ माघमा पनि विभागले कारवाही गर्ने भनेपछि सामाजिक संजाल र मिडियामा व्यापक विरोध हुदा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गर्दै कारवाही नगर्न निर्देशन दिएका थिए ।

त्यसपछि गत मंसिरमा विभागले फेरी सूचना निकालेर टुटल र पठाओको नाम उल्लेख नगरी जुन प्रयोजनका लागि दर्ता भएको हो सोहि प्रयोजनको काम गर्न भन्दै कारवाहीको चेतावनी दिएको थियो । सोहि सूचनाको आधारमा ट्राफिक प्रहरीले टुटल तथा पठाओका चालकलाई कारवाही शुरु गरेको थियो । यो विवाद फेरी चर्किएपछि यातायात मन्त्री बसन्त नेम्वाङले टुटल पठाओका चालकलाई कारवाही नगर्न निर्देशन दिएका थिए ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालकहरु भने टुटल र पठाओका कारण आफ्नो व्यवसाय धरापमा परेको भन्दै विरोधमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै